महाभारत चन्द्रवंशीहरूको कथा हो । यसर्थमा महाभारत लहडीहरूको कथा कल्पनाको एक सीमाहीन कथा हो । यो मानस कथा हो । जहाँ जे पनि सम्भव भएको देखिन्छ र अत्यनै चाख लाग्दो पनि छ । मानव मस्तिष्कले गर्ने कल्पना कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नको उत्तर हो महाभारतकथा । महाभारतको बारेमा एउटा भनाइ छ - “संसारमा त्यस्तो कुनै मानवीय घटना भएकै छैन र हुने पनि छैन जो महाभारतमा कल्पना नगरिएको होस् ।” महाभारत कथाअनुसार अर्जुन वनवासको क्रममा थुप्रै दिव्यास्त्र प्राप्त गर्न सफल हुन्छन् । अर्जुनको तपस्याबाट खुसी भएर स्वर्गमा देवताहरूले उनलार्ई विभिन्न दिव्यास्त्र दिन्छन् र त्यसको प्रयोग विधि पनि सिकाउँछन् । यस्तैमा इन्द्रले उनलार्ई गन्धर्व चित्रसेनसँग संगीत र नृत्यको कला सिक्न पठाउँछन् । गन्धर्व चित्रसेनकहाँ उर्वशी आउँछिन् र अर्जुनलार्ई देखेर मोहित हुन्छिन् र कामवासना शान्त पार्न आग्रह गदर्छिन् । अर्जुन मान्दैनन्, उर्वशीलार्ई नाताले आमा मान्दछन् । अर्जुनले उर्वाशीलार्ई किन आमा मान्छन त् ? अर्जुनलार्ई देखेर मोहित र कामवासनामा आएकी उर्वशीलार्ई शान्त पार्न आग्रह गर्दै अर्जुनले भन्छन् - ‘हे देवी ! हाम्रो पूर्वजले तपाईसँग विवाह गरेर हाम्रो वंशको गौरव बढाएका थिए, अतः पुरु वंशकी जननी भएको नाताले तपाई हाम्रो माता तुल्य हुनुहुन्छ‘ ।’ अर्जुनको यस्तो कुरा सुनेर उर्वशीले भनिन् - ‘तिम्रो बचन नपुंसकको जस्तो छ, अतः म तिमीलार्ई श्राप दिन्छु कि तिमी पुंसत्वहीन (हिजडा) रहन्छौ‘ ।’ यसरी उर्वशीको सम्बन्धमा थुप्रै कथाहरु पुराणहरुमा पनि छन् । उर्वशी रिसाएर अर्जुनलार्ई यसरी नपुंसक हुने श्राप दिन्छिन् । तर इन्द्रले आएर उर्वशीको त्यो श्रापलार्ई कुनै एक वर्ष नपुंशक भएर भोगे पुग्ने आशीर्वाद दिन्छन् । कुरुवंशको विस्तार उर्वशीबाटै भएकाले अर्जुनले उर्वशीलार्ई नाताले आमा मान्नु अस्वाभाविक थिएन । तर यो तथ्य जान्दाजान्दै पनि उर्वशीले अर्जुनलार्ई केवल देहतृप्तिका लागि मात्र आग्रह गरेकी थिइनन्, न त यौन तृप्ति नगराएकोमा नै श्राप दिएकी थिइन् । नपुंसक अर्थात हिजडाको कुरा गर्दा मेसेडोनियामा सिविल देवीको मुख्य पुजारी हिँजडा हुने गर्दथे । यी पुजारीहरूलार्ई ‘गेलोइ’ भनिन्थ्यो, जसको अपभ्रंश अहिले ‘गे’ हुन पुगेको छ । सिविल देवीको पूजा अनुष्ठान गर्दा यी पुजारीहरू अनेक वाद्य बजाएर ठूलो स्वरमा गाउँदै नाच्दै अनुष्ठान गर्दथे र आफूलार्ई उत्तेजनाको पराकाष्ठामा लगेर आफैंले आफ्नै शरीरमा कोर्राले हान्दै रक्ताम्मे बनाउँथे र क्लान्त हुने गर्दथे । यही हिँजडा पुजारीहरूको नृत्य गान र स्वयं पीडासहितको अनुष्ठान नै अहिले पूर्वएसियाका इसाईहरूले अपनाएका छन् । मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र विशेषतः थाइल्यान्डका इसाईहरूले जिससको उपासना गर्ने क्रममा अनेक तरिकाले आफ्नो पिठ्युँमा हिर्काएर रगताम्मे बनाएर एक प्रकारको आनन्द लिन्छन् र पाप मोचन भएको ठान्छन् । कतिपयले भने यसलार्ई जिससले भोगेको दुःख आफूले पनि भोगेको रूपमा पनि लिन्छन् । सीरियाकी देवी ‘इश्तर’ को पुजारी हुन र धार्मिक कार्य गर्न योग्य हुनको लागि आफ्नो पुरुष अस्तित्व समाप्त गर्नुपर्दथ्यो र शारीरिक दृष्टिले उनीहरू अपुरुष बन्ने गर्दथे ।तन्त्रवादमा पञ्च मकारको (मीन, मास, मद्य, मुद्रा र मैथुन) प्रयोग गरेर साधना गर्ने गरिन्छ । यसरी साधना गर्दा यन्त्र या कुण्डली कोर्ने गरिन्छ । यसरी कोरिएको यन्त्रको बीचको त्रिकोण भग या योनिको प्रतीक हो । कुण्डलिनी योगमा शरीरमा देखाइएका शत चक्र भेदका ती सबै पद्यहरू स्त्री अवस्था हुन् । पौराणिक ग्रन्थका अनुसार हिन्दु पुराणहरूमा नारी स्वरूप विष्णुले पनि लिएका छन् र शिवले पनि लिएका छन् । ब्रह्माले बनाएका सबै जीव एक निश्चित् समयपछि मर्ने र फेरि ब्रह्मालार्ई जीव बनाउनुपर्ने हुँदा शिवले प्रजननशील प्राणी बनाउन अर्धनारीश्वरको रूप लिएको मानिन्छ । शिव र उमाको समिश्रण अर्थात् पुरुष र स्त्रीको समागम र प्रजनन । प्रजनन कार्यमा पुरुष वीर्य संकल्प गर्छ, स्त्री त्यसलार्ई सिद्धि दिन्छे । पुरुष सुषुप्त हो भने स्त्री जागृत, पुरुष मस्तिष्क हो । स्त्री हृदय, पुरुष कारण मात्र हो । स्त्री कारक, पुरुष संहार हो, स्त्री सृष्टि । अर्जुनले उर्वशीको नपुंसक हुने श्राप नपाएको भएअर्जुनले कला मात्र सिक्थे । कला सिक्नु र त्यसलार्ई हृदयंगम गर्नु पृथक् कुरा हो । पुरुष जति नाच्न जाने पनि नारीमा प्रकृतिवत् निहित थुप्रै गुणहरू पुरुष अनुकरण गर्न सक्छ, तर निहित गर्न सक्दैन, अनुकरणित कुराहरू प्राकृतिक अवश्य देखिँदैन । जस्तै हामीले आज भोली पनि पुरुष नारी भएर अभिनय गरेको देखेका छौ तर काव्यका लागि संवेदना अत्यावश्यक छ र संवेदनाका लागि हृदय, जहाँ करुणा, दया, प्रेम, वात्सल्य, अनुराग र सृष्टि हुन्छ । यसैले काव्यका लागि स्त्री हृदय हुनु आवश्यक छ, कला बुझ्नको लागि या कला सृष्टिको लागि पनि एक नारी हृदय आवश्यक छ । यसका लागि पुरुष अस्तित्वलार्ई छोड्नै पर्दछ, बृहन्नला अर्थात नपुंसक ( हिजडा ) बन्नै पर्दछ । बृहन्नलाको अर्थ जस्तो रुप पनि धारण गर्ने श्रेष्ठ पुरुष हो । पाशुपत अस्त्र, दिव्यास्त्र र ब्रम्हास्त्रसमेत पाइसकेका अर्जुन कलाविहीन भएका भए श्रेष्ठ पुरुष हुन सक्दैनथे, न त विश्व विनाश बचाउन आफूले प्रयोग गरिसकेको ब्रम्हास्त्र फिर्ता लिन सक्थे । ब्रम्हास्त्र फिर्ता लिनु विश्व बचाउनुको प्रतीक थियो र विश्व बचाउनु भनेको एक प्रकारले सृष्टि गर्नु नै हो, जुन केवल स्त्रीले मात्र गर्न सक्दछे । साह्रा विश्व ध्वस्त गर्न सक्ने क्षमता भएका अर्जुनलार्ई उर्वशीले दिएको श्राप वास्तवमा अर्जुनसँग भएका अस्त्रहरूमाथि लगाइएको एक अंकुश थियो, जुन अंकुशको अर्थ अर्जुनले केवल स्त्री भएपछि मात्र बुझ्न सक्दथे र बुझे पनि । यसैले उर्वशीको त्यो श्राप श्राप थिएन, अर्जुनलार्ई नपुंसक (हिजडा) बनाएर सृष्टि बोध गराउने वरदान थियो ।
