हिन्दु धर्ममा श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतार मानिन्छ । कन्हैया, श्याम, गोपाल, केशव, द्वारकेश वा द्वारिकाधीश, वासुदेव जस्ता १०८ नामबाट चिनिने कृष्ण एक निःस्वार्थ कर्म योगी, एक आदर्श दार्शनिक, अग्लो बुद्धिले भरिपूणर् मानिस र ईश्वरीय धनको साथ सम्पन्न महान व्यक्तिका रुपमा लिईन्छ । उनी द्वापार युगमा जन्मेका थिए । उनलाई यस युगको सर्वश्रेष्ठ पुरुष युगपुरुष वा युगावातारको रूपमा दर्जा दिइयो । कृष्णको चरित्र कृष्णको समकालीन महर्षि वेदव्यास द्वारा रचित श्रीमद्भागवत र महाभारतमा विस्तृत रूपमा लेखिएको छ । भगवद्गीता कृष्ण र अर्जुनबीचको संवाद हो जुन अहिले पनि विश्वभरी लोकप्रिय र खोजी छ । कृष्णलाई यस कामका लागि जगतगुरुको सम्मान पनि दिईन्छ । कृष्ण वासुदेव र देवकीका आठौं सन्तान थिए । मथुराको जेलमा जन्मिएका र गोकुलमा हुर्केका हुन् । यशोदा र नन्द उनका पालनपोषण गर्ने अभिभावक थिए । उनको बाल्यावस्था गोकुलमा बित्यो । बाल्यकालमा, उनले ठूला कामहरू गरे जुन कुनै साधारण व्यक्तिलाई सम्भव थिएन । मथुरामा मामा कसंलाई उनैले बध गरेका थिए । पाण्डवहरूलाई मद्दतगर्ने र विभिन्न आपत्तिहरूमा बचाउने उनी श्रीकृष्ण हुन् । महाभारतको युद्धमा उनले अर्जुनको सारथिको भूमिका खेले र भगवद्गीताको ज्ञान दिए जुन उनको जीवनको सब भन्दा राम्रो काम मानिन्छ । उनी एक शताब्दी बाँचेर आफ्नो लीला समाप्त गरे । यस अघिका अंकमा मैले श्री कृष्णको कमजोरी बाहेकका चर्चा गरे आज कृष्णका कमजोरी बारेमा लेख्दै छु । १. “यूयं विवस्रा यदपोधृतव्रता व्यगाहृृतैतत्तदुदेवहेलनम् । बद्धाञ्जलिमूध्न्र्यपनुत्तर्येहसः कत्वा नमोधोवसनं प्रगृह्याताम् ।“ “हे गोपिनीहरु तिमीहरुले नांगै भएर जल भित्र नुहाएर अनुचित गर्यौ र बरुणको अपमान भयो । अतः दुवै हात शिर माथि जोडेर र सोही अनुसार झुकेर प्रणाम गर ।” यो भन्दा घृणित कुरा अरू के होला र ! गोपिनीहरुलाई प्रणाम गर्न लगाउँदाको दृश्यको कल्पना सहजै गर्न सकिन्छ । के कृष्ण गोपिनीहरुका प्रतेक गोप्य अंगहरु हेर्न लालायित भएकोले यस्तो आदेश दिएका हुन र ! अर्को कुरा महिलाहरू नुहाउँदै गरेको पोखरीमा कुनै सभ्य पुरुष जाँदैन र यदि बाटो परेको खण्डमा बाटो बदल्छ । कतै यो कृष्णलाई बदनाम गर्ने असुर तुष हैन र ? २. “कुकुभ्दि कन्या वक्तान्तर्वास लब्धादिवासया मुखामोदं मदिरया कृतानुव्याधमुव्दमन् ।“ यहाँ पनि स्थिति त्यस्तै छ । श्रीकृष्णका दाजु बलरामले राजा कुकुभ्दिको छोरी रेवतीको मुखबाट निस्केको रक्सीको कूल्ला आनन्दसँग पिए । के यस्तो सम्भव छ ? यहाँ त आफूले प्रत्यक्ष देखेझैँ गरेर वणर्न गरिएको छ । माथिका यी उदाहरणले के प्रस्ट पार्दछ भने ऋषिहरुले स्वार्थ सिद्धिको लागि या उनीहरूको लेखनिमा कुनै अंकुश नभएको हुँदा नै यस्ता कुराहरू लेखे, जसको कुनै महत्व र तुक छैन । यो अरू केही नभएर ऋषिहरुको विकृत मानसिकताको उपज मात्र हो । यस्ता कुराहरूलाई मान्नु भनेको आफैलाई मूर्ख घोषित गर्नु र अन्धविश्वासी बन्नु बाहेक अरू केही हैन । अर्को कमजोरी के देखिएको छ भने आफ्ना अध्यात्म र दर्शन प्रतिकूलका मान्यतालाई तटस्थ रहन दिन पनि नसक्ने र स्वीकार्न पनि नसक्ने अवस्थामा त्यसलाई एकाधार या एक अङ्गको रूपमा आफैभित्र बलजफ्ति समाहित गर्ने कोशिश गरिएको छ । ब्राह्मणवादको अन्त्यका लागि प्रयत्नशील, कर्मकाण्डका विरोधी महामानव बुद्धलाई गरुड पुराणमा दशम् अवतार घोषित गरेर बुद्धलाई सनातनी र दर्शनलाई हाँगाको रूपमा दर्शाउने कोशिश पनि हाँस्यास्पद देखिन्छ । तर यो पहिलो पटक भएको भने होइन । श्रीकृष्णको ज्ञान, चरित्र, र आभामण्डल यति विस्तृत थियो कि जसरी वेदमा असुर र अनार्यको व्याख्या गर्दागर्दै तेजोमय कीर्तिधारी श्रीकृष्णलाई उपनिषददेखि यता अवतारका रूपमा स्वीकारिएको छ । गीतामा ब्राह्मणवादलाई बलियो बनाउन र कृष्णले भनेको भनेर जे कुराहरू राखिएको छ ती सत्यभन्दा परका कुरा हुन् । कालो, अवणर् असुर दानव आदि नामले वेदमा उल्लेख गरिएका कृष्ण वणर् व्यवस्थाका समर्थक हुनै सक्दैनन् । हरेक आत्मालाई ईश्वरांश मान्ने कृष्णले वणर् व्यवस्थालाई मानेर ब्राम्हणलाई उच्च र शुद्रलाई नीच या पाप योनी भने होलान् भनेर विश्वास त के कल्पना समेत गर्न सकिँदैन ।
