नेपालमा गणतन्त्र आएको १७ वर्ष पुग्न लागेको छ र संविधान जारी भएको एक दशक पुगेको छ । यो अवधिमा जेन्जी विद्रोह भयो । त्यसपछि भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइको जनमत ल्याएर बालेन सरकार गठन भएको छ । यो सरकार २०१५ सालमा नेपाली काङ्ग्रेस बीपी कोइरालाको सरकार र २०७४ मा तत्कालीन नेकपाको ओली सरकार जत्तिकै शक्तिशाली सरकार हो । त्यसैले यो सरकारले नेपालको संविधान २०७२ अनुसार काम गर्न जरुरी छ । मुलुकमा संघीयता लागु भएकोले संघले प्रदेश सरकारहरु बलियो बनाउनु पर्छ । केन्द्रीय सरकार मात्रै नीति निर्माता मात्रै हो । प्रदेश सरकारलाई अधिकार दिएर त्यहाँ स्वतन्त्रता पूर्वक काम गर्न दिनुपर्छ । स्थानीय श्रोत साधनको परिचालन परराष्ट्र र सुरक्षा बाहेक सबै अधिकार प्रदेशमा आउनुपर्छ र स्थानिय सरकारले रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारी पत्ता लगाउने र युवा पलायनता रोक्ने काम गर्नुपर्छ । नेपाल विभिन्न जातजाति र भाषा भाषी भएको मुलुक भएकोले स्थानीय स्तरमा जे जस्ता सम्भावना छन् तिनको विस्तृत अध्ययन पछि मुख्यत कृषि र पर्यटनमा जोड दिनुपर्छ तब मात्रै हामीले केन्द्रको स्थिर सरकारका कारण छिटो विकास गर्न सक्छौ । देशमा भौतिक संरचना भत्काएर होइन मर्मत गरेर अगाडि बढ्नुपर्छ ।
