त्यसो त रेबिज रोग शत प्रतिशत रोकथाम गर्न सकिने संक्रामक रोग हो । तर रेबिज रोग लागेपछि ठेट उपचार छैन तसर्थ रेबिजका लक्षण चिन्हहरु देखिन थालेपछि भने प्राणघातक सिद्ध हुन्छ । वर्सेनी विश्वभर ५९ हजार भन्दा बढी मानिसको अकालमा मृत्यु भैरहेको छ । बढी जसो मृत्यु त्यसमध्ये नेपाल जस्ता एशिया तथा अफ्रिकाका विकासोन्मुख राष्ट्रहरुमा हुने गरेको छ । हिजो सोमबार अर्थात् अंग्रेजी महिना सेप्टेम्बरको २८ तारिखका दिनलाई विश्वभर रेबिज रोग दिवस मनाईन्छ । कोरोना महामारीका बीच त्यति प्रभावकारी एवं प्रचारात्मक रुपमा मनाउन नसकिएपनि ‘रेबिज रोग विरुद्ध सहकार्य गरौं, खोप लगाऔं, रेबिजको अन्त्य गरौं’ भन्ने नाराका साथ उक्त दिवस मनाइयो । रेबिज रोग यो नै यस्तो एउटा रोग हो जुन संक्रामक जीवले टोकेपछि पनि रोकथामका लागि खोप लगाउन मिल्छ । भन्नुको तात्पर्य अन्य सरुवा रोगहरुको हकमा रोग लाग्नै नदिन पहिल्यै नै खोप लगाई सक्नुपर्छ । संक्रमित जीव (धेरैजसो हकमा बहुला कुकुर) को टोकेपछि ४८ घण्टाभित्र रेबिज विरुद्धको खोप लिइसक्नुपर्छ । तर यहाँ घरपालुवा वा भुस्याहा कुकुरलाई खोप दिइनुपर्ने प्रसङ्ग उठाइएको हो । सन् २०३० सम्ममा रेबिज सार्ने कुकुरको टोकाईका कारण हुने असमायिक मानविय मृत्युलाई पूर्णतः उन्मुलन गर्ने अभिप्रायले पनि जनचेतना जगाउन यो दिवस बर्षेनी मनाईंदै आएको छ । बहुला कुकुर (वा जंगली जनावर) ले टोकेपछि रेबिज रोग लाग्दछ । रेबिज गराउने भाइरस – रेब्डो भाइरस एक प्रकारको आर एन ए भाइरस हो । खास गरी संक्रमित जङ्गली जनावरहरु स्याल, फ्याउरो, ब्वाँसो, चमेरोबाट घर पालुवा जनावर कुकुर, बिरालोलाई टोकेपछि तिनीहरुलाई पनि संक्रमित बनाइ दिन्छ । संक्रमित जनावरको ¥याल नै रोग सार्ने तत्व हो । रेबिज गराउने भाइरस छालाको नरम झिल्ली हुँदै मांसपेशीमा पुग्दछ । त्यहाँ गुणात्मक वृद्धि भई स्नायु प्रणाली हुँदै मस्तिष्कमा पुग्दछ । त्यहाँबाट ¥याल ग्रन्थी, मृगौला, फोक्सो, कलेजो लगायत शरीरका अन्य भागमा पुगी रेबिजका लक्षण चिन्हहरु गराउँदछ । रेबिजका विषाणु शरीरमा छिरे देखि रोगका लक्षण चिन्हहरु निकाल्न १० दिन देखि एक वर्षसम्मको समय लाग्दछ । रेबिजका लक्षण चिन्हहरु कति चाँडो देखा पर्दछ भन्ने कुरा भाइरसको मात्रा शरीरको कुन ठाउँमा टोकेको छ एवं शरीरको प्रभावित भागमा निर्भर हुन्छ । रेबिज लाग्दा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने आदि हुन्छ । रेबिजले मस्तिष्कलाई असर गरे पछि उत्तेजित हुने, बरबराउने, बेसुरमा कराउने, बेहोश हुने, टोकेको ठाउँमा झमझमाउने, पक्षघात हुने हुन्छ । रोगको गम्भीरता बढ्दै गएपछि उज्यालो, चर्काे आवाज तथा पानीबाट बिरामी डराउने हुन्छ । ¥याल निल्न नसकेर ¥याल काढिरहने तथा श्वासप्रश्वासको प्रमुख मांसपेशीहरु एक्कासी संकुचन हुन गई सास फेर्न गाह्रो भएर बिरामीको मृत्यु हुन्छ । शंकास्पद वा बहुला कुकुरले टोक्नासाथ साबुन पानीले घाउ राम्ररी सफा गर्ने, पानीले पखाल्ने गर्नुपर्दछ । यथाशक्य चाँडो रेबिज बिरुद्धको सूई दिुनपर्दछ । पेटमा दिने वा आजकल अहिले महँगो खाले मासुमा दिने रेबिज बिरुद्धको सूई पाइन्छ । समयमै उक्त सूई दिइएको खण्डमा रेबिजबाट बच्ने सम्भावना हुन्छ । त्यसको साथै प्रतिजैविक (एन्टिबायोटिक) औषधि, ज्वरो नआउने तथा जिउ नदुख्ने औषधि दिनुपर्दछ । बिरामीलाई शान्त कोठामा राखी आवश्यक स्याहारहरु गर्नुपर्दछ । टोकेको ठाउँमा छाला कोतरिएको मात्र छ कि घाउ गहिरो छ वा शरीरका संवदेनशील अङ्गमा टोकेको छ भन्ने आधारमा रेबिज बिरुद्धको सूईको आवश्यकता छुट्याइन्छ । तर टोकेको कुकुर (जनावर) मा रेबिजका लक्षण चिन्हहरु देखा प¥यो, १० दिन भित्र कुकुर म¥यो, जंगली वा अपरिचित जनवारले टोकेको भए रेबिज बिरुद्धको सूई दिनुपर्दछ ।
