अघिल्लो वर्ष गरिएको क्षयरोग सम्बन्धी सर्वेक्षण (२०१८÷१९) अनुसार प्रत्येक दिन करिब १५ नेपालीको मृत्यु क्षयरोगको कारण हुने गरेको पाईयो भने एकैदिन करिब १९० जनालाई क्षयरोग लाग्ने गरेको पाइयो । यो नयाँ केसको संख्या अघिल्लो वर्ष भन्दा डेढ भन्दा बढी गुणा थियो । उक्त सर्वेक्षण अनुसार करिब ११७,००० नेपालीहरु क्षयरोगबाट आक्रान्त छन् । झन् गत वर्षदेखिको कोरोना त्रासदीले क्षयरोगले के कस्तो बित्यास पारिरहेको छ, आँकलन नै गर्न सकिएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको हरेक तेस्रो व्यक्तिमा क्षयरोग उत्पन्न गराउने जीवाणु छ । तर उक्त रोगसँग लड्न सक्ने क्षमता कम भएकामा मात्र क्षयरोगका लक्षण चिन्हहरु देखा पर्दछ । त्यसैले पनि होला सन् २०१८ मा ६९००० नेपालीलाई क्षयरोग लागेको भएपनि करिब साँढे बत्तीस हजार मात्र रिपोर्टिङमा आएका थिए । अर्थात् नेपाली समाजमा आधाजसो शंकास्पद क्षयरोगीहरु जचाउन आउने गरेको छैन । यसैले पनि विश्वका विकासोन्मुख देशहरुमा व्याप्त रहेको क्षयरोग नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनले बर्सेनी मार्च २४ का दिन (भोली) जनचेतना जगाउने हेतुले विश्व क्षयरोग दिवस मनाउँदैछ । यो पटक ‘समय घर्किंदैछ’ नाराका साथ उक्त दिवस मनाईंदैछ । तर कोभिड १९ ले अन्य संक्रामक रोगहरुलाई जस्तै क्षयरोग जनचेतनालाई पनि ओझेलमा पारिरहेको छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुको कारणले लाग्ने एक प्रकारको संक्रामक रोग हो । पmोक्सोमा लाग्ने क्षयरोग नै मुलुकको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । यसका साथै घाँटीको गिर्खा (ग्लेन्ड), पेट, मस्तिष्कको झिल्ली, ढाडको हड्डी, गर्भाशय, शुक्रवाहिनी नली एवं मुटुको झिल्लीमा पनि यो रोग लाग्न सक्छ । रोगीको खकार संक्रामक वस्तु हो । रोगीले खुल्ला रुपमा खोक्दा, हाच्छ्युँ गर्दा, थुक्दा तथा नजिकै बसेर कुरा गर्दा श्वासप्रश्वासको माध्यमबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । त्यसपछि विस्तारै क्षयरोगका चिन्हहरु देखा पर्दै जान्छन् । कुपोषण, निम्नस्तरको जीवनस्तर तथा बासस्थान, अत्याधिक घुँइचो वातावरण तथा अशिक्षा क्षयरोग बढाउने सामाजिक तत्वहरू हुन् । क्षयरोग लाग्दा साँझपख मन्द ज्वरो आउने, पसिना आउने, खान मन नलाग्ने एवं दुब्लाउँदै जाने हुन्छ । त्यसैगरी क्षयरोगले असर पारेको शारीरिक अङ्ग अनुसार थप लक्षण देखा पर्न सक्छ । फोक्सोमा क्षयरोग लाग्दा लामो समयदेखि खोकी लाग्ने, खकारमा रगत देखा पर्ने, छाती दुख्ने हुन्छ । घाँटीको ग्लेन्डमा क्षयरोग लाग्दा गिर्खाहरु सुनिन्छन्, एक आपसमा टाँसिन्छन् तर पीडा हुँदैन । लामो समयसम्म संक्रमण रहिरह्यो भने फुटेर पीप बग्न सक्छ । त्यसैगरी मस्तिष्कको झिल्लीमा क्षयरोग लाग्दा टाउको दुख्ने, गर्दन कडा हुने, बच्चा ज्वरोले निस्लोट भई कम्पन छुट्ने स्थितिमा पुग्नसक्छ । बालबालिकाहरुमा चाहिँ पेटको क्षयरोग तुलनात्मकरुपमा बढ्ता पाइएको छ । पेटको क्षयरोग लाग्दा पेट दुख्ने, दिसा सधंैभरि एकनासको नहुने, पेटमा पानी जम्मा हुने, पेट फुल्ने, पेटमा पिठो मुछिएको जस्तो डल्लो भेटिने हुन्छ । खकार, रगत, छालाको जाँच तथा छातीको एक्सरेबाट छातीको क्षयरोग पत्ता लगाउन सकिन्छ । ढाड, पेटबाट पानी निकालेर वा ग्लेण्डबाट सियोले थोरै मासु निकाली जाँचेका खण्डमा फोक्सो भन्दा बाहिर लागेको क्षयरोग पत्ता लाग्छ । अल्ट्रासाउन्ड र सिटी स्क्यानको जरुरत बिरलै हुन्छ । तर क्षयरोग निदानका लागि निरन्तर ३ पटक खकारको जाँच गर्नुपर्दछ । क्षयरोग उपचारका लागि डट्स कार्यक्रम अन्र्तगत बहुऔषधि न्युनतम ६ महिनासम्म खुवाउनु पर्ने हुन्छ । डट्स (डाइरेक्टली अब्जभ्र्ड ट्रिटमेन्ट सर्टकोर्स) भन्नाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीलाई ख्वाइने बहुऔषधि उपचार बुभ्mनुपर्छ । डट्स कार्यक्रम अन्तर्गत क्षयरोग विरुद्धको बहुऔषधि नजिकको उपस्वास्थ्यचौकी, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालबाट पनि निःशुल्क पाइन्छ । सरकारी अस्पताल देखि ईलाका हेल्थपोष्ट डट्स केन्द्रहरु हुन् भने सब–हेल्थपोष्टहरु चाहिँ डट्सका लागि सब सेन्टर (उप–केन्द्र) हरु हुन् । डट्स केन्द्रमा निःशुल्क खकार परीक्षण सेवा र निःशुल्क औषधि उपलब्ध हुन्छ भने उप–केन्द्रहरुमा चाहिँ डट्समा आधारित निःशुल्क औषधि उपलब्ध हुन्छ । क्षयरोगबाट बचाउन बच्चा जन्मेदेखि एक वर्षभित्र दायाँ पाखुरामा पाक्ने गरी एक मात्रा बिसिजी खोप दिनुपर्दछ । खोप लगाएको दिन हल्का ज्वरो आउने एवं सानो रातो फोका आउने हुनसक्छ । खोप लगाएको ठाउँमा माड्ने, कुनै औषधी हाल्ने गर्नुहुँदैन । तर एचआईभी संक्रमणका कारण क्षयरोगीको संख्यामा वृद्धि तथा थप जटिलता उत्पन्न हुन्छ । एचआईभी संक्रमित व्यक्तिलाई क्षयरोगको जीवाणुले संक्रमित भएपछि क्षयरोग हुने खतरा ६ गुणाले बढी हुन्छ । हालैका दिनमा बहुऔषधि प्रतिरोधी (मेडिकल भाषामा मल्टि ड्रग रेसिस्टेन्ट भनिने) क्षयरोगीको संख्यामा पनि बढोत्तरी भएको पाइन्छ । क्षयरोगीले नियमित रुपमा औषधिको सेवन गरेन भने वा निश्चित समय सम्म क्षयरोगी विरुद्धको औषधि नखाएमा बहुऔषधि विरुद्ध प्रतिरोध विकसित हुन सक्छ । यस्ता क्षयरोगको उपचारमा दिइने औषधिहरु थप जटिलतायुक्त, अत्यन्त खर्चालु भईकन पनि त्यति प्रभावकारी नहुन सक्छ । यस्तो उपचारको अवधि पनि दुई वर्ष भन्दा माथि जान सक्छ । यसकारण पनि क्षयरोगको प्रभावकारी रोकथाम तथा उपचारका लागि अभैm थुप्रै काम गर्न बाँकी छ ।
