गर्भावस्थाको बेलामा यसको पटाक्षेप सुखद होस् भन्ने प्रत्येक दम्पत्तिको आशा हुन्छ । तर सोचेजस्तो हुन्न जीवन, समस्या आईपर्छ नै । गर्भावस्थामा आईपर्ने यस्तै खाले विभिन्न समस्याहरुमध्ये गर्भावस्थाको अवधि बढ्दै गएसँगै गर्भे शिशुको बसाई असामान्य हुने समस्या पनि एक हो । गर्भेशिशुको असामान्य बसाई किन पनि महत्वको छ भने यसको जटिलता निकै धेरै छन् । यी सबै जटिलताका कारण गर्भे शिशुको ज्यान जाने सम्भावना धेरै छ भने समयमै हेक्का राखिएन भने गर्भवती महिलाको पनि ज्यान जाने अवस्था आउन सक्छ । मानिसको ४० हप्ता लामो गर्भावस्थाको ३६ हप्तासम्म गर्भे शिशु वरिपरि पानीको मात्रा छेलोखोलो हुन्छ । यस बेलासम्म पाठेघर भित्र शिशु ओल्टोकोल्टो फेर्ने क्रम जारी रहन्छ । त्यसैले ९ महिनासम्म गर्भे शिशुको बसाई गलत भएपनि चिन्ता गर्नु पर्दैन । तर गर्भावस्थाको ३६ हप्तापछिबाट पानीको मात्रा घट्दै जाने हुनाले गर्भे शिशुको बसाई असामान्य छ भने सुल्टिने सम्भावना कम हुँदै जान्छ । किन असामान्य बस्छ ? गर्भे शिशु असामान्य बस्नुको सबैजसो कारण थाहा नभएपनि महिना नपुग्दै सुत्केरी व्यथा लाग्दा तुलनात्मक रुपमा शिशु सानो हुनु चाहिँ प्रमुख कारण हो । यसका साथै यदि गर्भे शिशु सानो छ, गर्भे शिशु वरिपरि पानी धेरै वा निकै कम छ, पुठ्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा आएर बसेको छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिएको छ, पटक पटक बच्चा पाएर गर्भवती महिलाको पेटको मासु धेरै नै खुकुलो छ, गर्भवती महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा बच्चामा जन्मजात केही शारीरिक खराबी (जस्तै गर्भे शिशुको टाउकोमा पानी भरिने हाइड्रोकेफालस समस्या) छ, गर्भे शिशुमा वंशाणुगत खराबी (ट्राइजोमी वा मांसपेशी शिथिल हुने समस्या) छ, जुम्ल्याहा शिशु छ भने पनि शिशु असामान्य बस्ने परिस्थिति उब्जिन्छ । कुनै कुनै महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा फेरि फेरि साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिने समस्या हुन्छ भने पटक पटक शिशु असामान्य बस्ने समस्या दोहोरिन्छ । गर्भवती जाँचको क्रममा गर्भे शिशुको टाउको कतातिर छ, गर्भे शिशुको मुटुको धड्कनको अवस्थितीबाट गर्भे शिशु असामान्य बसेको आशंका गरिन्छ । आजकल भने अल्ट्रासाउण्डको मद्धतले यसको निश्चितता गरिन्छ । गर्भावस्थाको शुरुतिर गर्भे शिशुको वरिपरिको पानीको मात्रा धेरै हुनुको साथै गर्भे शिशुको आकार पनि सानो हुने कारण बच्चाको स्थिति (बसाई) परिवर्तन भइरहन्छ । गर्भावस्थाको ९ महिना पूरा भएपछि एक सय गर्भवती महिलाहरुमध्ये ३ प्रतिशत महिलामा गर्भे शिशु उल्टो बस्ने, ०.५ प्रतिशत महिलामा तेर्सो हुन्छ भने ०.५ प्रतिशत महिलामा शिशु छड्के बस्दछ । गर्भे शिशुको बसाई असामान्य हुँदाको जोखिमहरु निकै छन् । के के जोखिम हुनसक्छ ? गर्भे शिशुको टाउको तल हुँदा सुत्केरी व्यथाको क्रममा पहिले चाक त्यसपछि जिउ र अन्तिममा टाउको जन्मिन्छ । यस क्रममा जिउ जन्मिए लगत्तै पाठेघरको मुख एक्कासी खुम्चिन्छ भने पाठेघरको तल्लो भागमा टाउकोले जस्तो जिउको अन्य भाग (चाक) ले निरन्तर चाप दिन सक्दैन । चाक र जिउ सहज रुपमा जन्मिएपनि टाउको निक्लिने बेला धेरै जसो समस्या उत्पन्न हुन्छ र बच्चाको ज्यान जाने गर्दछ । यस्ता खाले सुत्केरी घरमै गराउने क्रममा टाउको जन्माउन नसकी योनीद्वारमा गर्भे शिशु अड्काएर अस्पताल ल्याई पु¥याउनेहरुको संख्या उल्लेख्य छ । जिउ जन्मेपछि टाउको निक्लिन धेरै समय लाग्यो भने निस्सासिएर गर्भे शिशुको मृत्यु हुन्छ र कथंकदाचित गर्भे शिशु जिउँदो जन्मिहाल्यो भने पनि गर्भे शिशुको मस्तिष्कमा धेरैबेर अक्सिजनको अभावमा त्यस्तो शिशु पछि गएर सुस्त खालको अर्थात् वृद्धि विकास राम्रो हुँदैन । त्यसैगरी गर्भे शिशु तेर्सो वा छड्के बस्दा व्यथा लाग्ने बित्तिकै गर्भे शिशु वरिपरिको पानी थैलो चाँडै च्याटिई नाल बाहिर आई गर्भ भित्रै गर्भे शिशुको मृत्यु हुने सम्भावना बढ्छ । यी समस्या समयमै पहिचान भएपनि यस्तो प्रकारको सुत्केरीको क्रममा औजारको प्रयोग गर्नुपर्ने, जननेन्द्रियमा चोट लाग्ने, सिजेरियन (अपरेशन) को आवश्यक हुने, बेहोश पार्ने विधि (एनेस्थेसिया) को कारणले सुत्केरी आमालाई पनि जोखिम हुन्छ । योनीद्वारबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउको भित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायु (नशा) मा दखल पुग्ने, कलेजो मिर्गौला जस्ता कमलो भित्री अङ्गहरुमा चोट पुग्ने कारणले नवजात शिशुमा मृत्युदर ह्वात्तै बढ्छ । त्यसकारण पनि आधुनिक प्रसुती विज्ञानमा गर्भे शिशुको बसाई असामान्य छ भने योनीद्वारबाट सुत्केरी गराउनु भन्दा सिजेरियन अपरेशनलाई तुलनात्मक रुपमा बढी सुरक्षित मानिन्छ । नवजात शिशुमा पर्न जाने जोखिमहरु विशेषज्ञ डाक्टरको दक्षता, शिशुको तौल, उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पुट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ । असामान्य बसाइ भएको सुत्केरी योनीद्वारबाट हुने क्रममा प्रति हजार गर्भमध्ये ५ देखि ३५ जना शिशुको ज्यान जाने गर्दछ । दक्ष स्वास्थ्यकर्मी ( प्रसुती सेवा प्रदायक) को अभाव, रगत तथा यथाशिघ्र अपरेशन ( सिजेरियन)को सुविधा भएको ठाउँमा यो संख्या अझ बढ्न जान्छ । सतर्कता गर्भे शिशुको असामान्य बसाईको कतिपय कारणहरु गर्भजाँचको क्रममा पत्ता लाग्ने हुनाले तालिम प्राप्त स्वास्थ्यकर्मी कहाँ गर्भवती जाँच गराउनुपर्दछ । आजकल अल्ट्रासाउण्डको सहयोगले गर्भे शिशुको असामान्य बसाईको निक्र्योलता सजिलै गर्न सकिन्छ । अल्ट्रासाउण्डले गर्भे शिशुको गलत बसाईको निश्चितता गर्न, गर्भे शिशु वा महिलाको पाठेघरमा भएको कुनै जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति कहाँ छ थाहा पाउन, बच्चा वरिपरिको पानीको मात्रा तथा गर्भे बच्चाको तौल पत्ता लगाउन मद्धत गर्दछ । ३६ हप्ता सम्ममा धेरै गर्भवती महिलामा गर्भे शिशुको बसाईमा स्थिरता आइसक्छ । पहिलो पटकको गर्भमा त्यसबेला सम्म पनि गर्भे शिशु असामान्य बसेको कारणले स्वास्थ्यकर्मीले सिजेरियन ( अपरेशन) गरेर मात्र सुत्केरी गराउनु बुद्धिमानी हुन्छ । गर्भे शिशुको बसाई गलत हुँदा तालिम प्राप्त सुँडेनी वा स्वास्थ्यकर्मी नै भए पनि गाउँघरमै बच्चा पाउन तर्फ लाग्नु हुँदैन । नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ । यी सबै कारणले सिजेरियन गरेर मात्र बच्चा निकाल्नु पर्ने हुनाले अस्पतालमा लान ढिलाई गर्नुहुँदैन ।
