IMG-LOGO

गर्भावस्थामा रक्तअल्पताको समस्या

 मंगल, असार २२, २०७८  -प्रा.डा. सुमनराज ताम्राकार

    आधा आकाश मानिने महिलाहरुमध्ये प्रजनन् उमेर समूहका नेपाली महिलाहरुमा रक्तअल्पताको समस्या उल्लेख्य छ । त्यसमाथि गर्भवती अवस्थामा रक्तअल्पताको समस्या झनै बल्झिन्छ । रक्तअल्पताको समस्याले गर्भावस्थाका सबै चरणमा नकारात्मक असर पुुर्‍याउँदछ । पछिल्लो समय नेपालमा महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्य निकायबाट गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गर्न थालिएबाट रक्तअल्पताकै कारणले हुने मातृमृत्युदरमा सुधार आएको छ ।     त्यसो त वयस्क मानिसहरुमा रगत बन्ने क्रिया हाड भित्रको रक्तमासीमा हुन्छ । यसका लागि आइरन (लौह तत्व), कपर, कोबाल्ट, ‘भिटामिन बी १२’, फोलिक एसिड, ‘भिटामिन सी’ चाहिन्छ । यी लवण, भिटामिन एवं फोलिक एसिडको अभावले रगत बन्ने प्रक्रियालाई असर पुर्‍याई रक्तअल्पताको समस्या उत्पन्न हुन्छ ।      महिलाको शरीर (रगत) मा हेमोग्लोबिनको मात्रा ११ ग्राम प्रतिशत वा सो भन्दा कम भयो भने रक्तअल्पता भएको मानिन्छ । गर्भवती बेलामा त्यसैपनि रगत पातलिन्छ । रगत पातलिने प्रक्रिया गर्भावस्थाको ३२ हप्तातिर बढी देखिन्छ । सामान्यतया गर्भावस्थाको १२ हप्ता भन्दा अगाडि जति हेमोग्लोबिन थियो, त्यसमा २ ग्राम प्रतिशतले कमी आउँछ । त्यसैले गर्भावस्थामा हेमोग्लोबिनको मात्रा १० ग्राम प्रतिशत भन्दा कम भयो भने सजग हुनु पर्दछ । हेमोग्लोबिन ७ भन्दा कम भएमा गम्भीर तवरले लिनु पर्दछ ।    रक्तअल्पता किन बढ्छ ?     विकासशील मुलुकमा मातृ मृत्युको २० प्रतिशत कारक तत्व रक्तअल्पता नै हो । रक्तअल्पताको अलावा गर्भवतीमा हुन सक्ने अन्य रक्तसमस्याहरुमा दम्पत्ति बीच रगत समुह नमिल्नु र गर्भवती महिलाको रगत जम्ने प्रक्रियामा गडबडी हुनु पनि हो । गर्भवती महिलामा रक्तअल्पता हुनुको प्रमुख कारण रगत बन्ने तत्वहरु आइरन (लौह तत्व), फोलिक एसिड, भिटामिन ’बी १२’ र प्रोटिन नपुगेर नै हो । यसको अलावा एक्कासी गर्भ तुहिएर, व्यथा नलाग्दै साल छुट्टिएर, अंकुशे जुकाको संक्रमणका कारण रगत खेर जानाले रक्तअल्पता हुनसक्छ । गर्भवती महिलामा वंशाणुगत रुपमा थालासेमिया जस्तो रक्तसमस्या हुँदा, रेडियो विकिरण तथा औषधिका कारण हड्डी भित्रको रक्तमासीको क्षय हुँदा, औलो, क्षयरोग संक्रमण तथा मिर्गौलाको ट्युमर हुँदा पनि रक्तअल्पता हुनसक्छ ।     यसको अलावा कुपोषण, गलत खालको खाने तौरतरिका तथा खाद्यनलीको जीणर् प्रकारका संक्रमणको कारणले नेपाली महिलाहरुमा गर्भपूर्व अवस्थामै रक्तअल्पताको समस्या अलि बढी छ । त्यस माथि गर्भावस्थामा आइरनको माग बढी भएपनि खाना कम खाने, कमजोर आर्थिक अवस्था, खानाकै कमी, खाना अरुची, वाकवाकी एवं उल्टी आउने समस्याले रगत बन्ने प्रक्रिया घटाएर समस्या झन जटिल बनाउँछ । जुम्ल्याहा गर्भ, कम जन्मान्तर र कम उमेरमा गर्भधारण गर्नाले रक्तअल्पताको समस्या झन् बढ्छ ।     गर्भावस्थाको ४, ५ महिनादेखि आइरनको आवश्यकता बढ्दै जान्छ । गर्भवती महिलाले खाने नियमित खानाले आइरनको थप माग पूर्ति गर्न गाह्रो हुन्छ, त्यसैले स्वभाविक रुपमा शरीरमा आइरनको कमी हुन्छ । परिणामतः गर्भवती महिलाको हेमोग्लोबिन घट्ने मात्र होइन आन्द्राबाट आइरन सोस्ने दरमा पनि कमी आउने हुनाले रगत बन्नका लागि आवश्यक कच्चा पदार्थको भण्डारणमा कमी आउँछ । त्यसैले गर्भावस्थाको ३ महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरनको थप मात्रा चाहिन्छ । रक्तअल्पताका कारण आलस्य लाग्ने, खान मन नलाग्ने, मुटुको ढुकढुक हुने, सास फेर्न गाह्रो, चक्कर लाग्ने, खुट्टा सुन्निने हुन्छ । आँखा पनि पहेँलो वा सेतो र मुटुको चाल पनि फरक हुन्छ । रक्तपरीक्षणको क्रममा रातो रक्तकणको आकार प्रकारबाट रक्तअल्पताको कारण खुट्याउन सकिन्छ ।  रक्तअल्पताले के समस्या निम्तिन्छ ?     गर्भवती महिलामा रक्तअल्पताले रक्तचाप बढ्ने, पटक पटक संक्रमण हुन सक्ने, मुटु फेल खाने, महिना नपुग्दै व्यथा लाग्ने हुनसक्छ । सुत्केरी व्यथाका बेला व्यथा राम्रोसँग नबढ्ने, मुटु फेल खाने, बेहोश हुने हुन्छ । यस समय सबभन्दा जटिल समस्या चाहिँ अधिक मात्रामा रक्तश्राव हुनु नै हो । यथेष्ट हेमोग्लोबिन भएकीले भन्दा रक्तअल्पता भएकी सुत्केरी महिलाले सुत्केरीमा खेर जाने सामान्य मात्राको रगतको खती पनि थेग्न सक्दैन । यस समय धेरै रगत बग्ने समस्या आइ लाग्यो भने स्थिति अझ जटिल हुन्छ ।      त्यसैगरी सुत्केरी पश्चात् संक्रमण बढ्ने, पाठेघर पूर्वावस्थामा फर्किन समय लाग्ने, स्तनपानमा गडबडी, रक्तनलीमा रगत जम्ने हुन्छ । रक्तअल्पता भएकी गर्भवती महिलाको कुनैपनि बेला एक्कासी मृत्यु हुनसक्छ । गर्भावस्थाको ३० देखि ३२ हप्तामा, सुत्केरी व्यथा लाग्दा लाग्दै, शिशु पाउने बित्तिकै र शिशु पाएको एक हप्तापछि यस्तो अप्रत्याशित घटना हुने सम्भावना बढी हुन्छ । रक्तअल्पताकै कारण गर्भे शिशुको तौल कम हुने तथा गर्भ भित्रै शिशुको मृत्यु हुनसक्छ ।  समाधानका उपाय     रक्तअल्पता समयमै पत्ता लागेमा निको गर्न सजिलो हुन्छ । रक्तअल्पताको हुन नदिन बच्चा कम पाउने, कम्तिमा २ वर्षको जन्मान्तर राख्ने गरेमा सुत्केरी र स्तनपानको क्रममा रगतको खती पूर्ति गर्न सकिन्छ । त्यसैगरी गर्भावस्थाको दोश्रो त्रैमासिकमा वाकवाकी एवं उल्टी रोकिएपछि थप आइरन दिनुपर्दछ । दैनिक २०० मिलिग्राम फेरस सल्फेट र १ मिलिग्राम फोलिक एसिड दिनु पर्दछ ।      हरियो सागपात, हरियो गेडागुडी, कलेजो, मासु, अण्डामा आइरन पाइन्छ । फलामको भाँडाकुँडामा पकाएर खाने तथा चामल पखालेको पानी पनि प्रयोगमा ल्याएमा आइरन प्राप्त गर्न सकिन्छ । अंकुशे जुका, रगत मासी, औलो, पाइल्स तथा मुत्रनली संक्रमणको यथोचित उपचार समयमै गरिनु पर्दछ । पहिलो पटक गर्भजाँच गर्न आउँदा, गर्भावस्थाको ३२ हप्तामा, ३६ हप्तामा तथा सुत्केरी व्यथा अगाडि रगतमा हेमोग्लोबिनको परीक्षण गर्नु पर्दछ । हेमाग्लोबिन ७ ग्राम प्रतिशत भन्दा कम भएको खण्डमा भर्ना राखेरै उपचार थाल्नु पर्दछ ।      रक्तअल्पताको उपचारको क्रममा रक्तअल्पताको गम्भीरता, गर्भावस्थाको  अवधी तथा अन्य सम्बन्धित तत्वहरुको हेक्का राख्नु पर्दछ । धेरैजसो रक्तअल्पता भएकीलाई मुखबाट खाइने आइरन चक्कीबाट व्यवस्थापन गर्न सकिन्छ । कम्तिमा १०० दिन दिनहुँ एक चक्की आइरन खाएमा सुत्केरीपछि भण्डारण पनि मजबुत हुन्छ । आइरन सेवनले पेट पोल्ने, वाकवाकी लाग्ने, उल्टी आउने, पखाला लाग्ने, कब्जियत हुने लगायतका जटिलता हुनसक्छ । आइरन सेवन गर्न थालेको ३ हप्तामा सुधारका संकेत देखिनु पर्छ ।      मुखबाट आइरन चक्की खान सकेन, खान मानेन वा गर्भावस्थाको ८ देखि १० हप्तामै गम्भीर खालको रक्तअल्पता देखियो भने सूईबाट मासुमा वा नशामा आइरन दिन सकिन्छ । त्यसैगरी सुत्केरी लगत्तै अधिक रक्तश्राव भएमा, ३६ हप्तापछि गम्भीर खालको रक्तअल्पता देखिएमा, आइरन चक्कीबाट वा नशाबाट दिइएको आइरनबाट आशातित सुधार नभएमा, संक्रमण पनि भएमा रगत नै चढाउनु पर्ने हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्