डिप्रेसन शव्दले अर्थशास्त्रीका लागि आर्थिक मन्दी जनाउँछ भने जलवायु विज्ञान विभागमा यसको अर्थ हुन्छ, वायुमण्डलमा चापको कमी । भूगर्भविद्ले डिप्रेसनलाई पृथ्वीको भासिएको सतहका लागि प्रयोग गर्छन तर आमजनतामा यो शव्दलाई ‘मुड अफ’, ‘बोर’ को पर्यावाची मानिन्छ । तर मानसिक रोग विशेषज्ञको नजरमा डिप्रेसनको अर्थ एक विशेष प्रकारको मानसिक रोग हो । डिप्रेसनका बहसंख्यक बिरामीहरुमा सामान्य लक्षण हुन्छन् । जो छोटो समयमात्र रहन्छन् । जसले गर्दा यिनीहरु डाक्टरको सम्पर्कमा आउन अगाडि नै निको हुन्छन् । धैरे जसो यसरी हने आन्तरिक उतारचढावलाई रोगको रुपमा भन्दा मानवीय स्वभावका रुपमा लिन्छन् । त्यसैले होला डिप्रेसनका बिरामीहरुले प्रश्न गर्छन– दिक्क या विरक्त हुने कहीँ मानसिक रोग हुन सक्छ र ? हाम्रो मन सधै एकनास रहन्न । यसलाई बाहिरी वातावरण र घटनाक्रमले निरन्तर प्रभाव परिरहन्छन् । खुसी, चिन्ता, दुःख, डर, रिस, आवेश, बेवास्ता आदि भावनाहरु मनमा देखा परिरहन्छन् । ठूलै समस्या झेलिरहेको व्यक्ति चिन्तित र दिक्दार भइरहन सक्छ । उसको चिन्ता, निराश जोकोहीले पनि बुझ्न सक्छ । दुई मित्रको भेटमा भलाकुसारी गर्दा खबर सोधियो भने ‘मुड अफ छ यार... जिन्दगी बोर भइराखेको छ’ जस्ता उत्तरहरु सुनिन्छ । यस्ता भनाइले चित्रित गर्ने मनलाई रोगबाट ग्रस्त नभनी परिस्थितिजन्य भावनाहरुबाट प्रभावित भएको मानिन्छ र केहीसमय पश्चात् स्वतः हट्दछ । तर, कहिले काहीँ मानिसको मन अनायासै लामो समयसम्म उदासीन हुन पुग्छ । लामो समय सम्म दिक्क रहने र दैनिक जीवन, व्यसाय र कार्यक्षमतामा असर गर्ने स्थितिलाई हामीले रोगको रुपमा लिन्छौँ । जीवन जिउन नै एक भार बन्न जान्छ । यस्तो अमूल्य जीवन नै अभिशाप हुन थाल्छ । क्षण–क्षण बिताउन यति कष्टकर हुन्छ कि बाँचेर यस्तो प्रताडना भोग्नु भन्दा बरु यसबाट मुक्त पाउनु नै उचित लाग्छ र यो रोगबाट पीडित व्यक्ति आत्महत्या गर्न उद्यत् हुन्छ । डिप्रेसन विविध रुपमा देखा पर्छ । अधिकांश डिप्रेसनका बिरामीहरुलाई सामान्य लक्षण देखिन्छन् । दुई÷तीन हप्ताभित्रै पूर्ण रुपले ती लक्षणहरु हराउँछन् । तर कतिपय रोगीहरुलाई डिप्रेसन महिनौँ या बषौँ रहन्छ र विभिन्न लक्षणहरु देखिन्छ । उदासीन भावना सँगसँगै डर, त्रास, रिस (चिडचिडाहट) आन्तरिक तनाव, अत्याधिक सोचाइ या विचारको रिक्तता, अरुमाथि शंका, असुरक्षाको भावनाजस्ता मनसँग सम्वन्धित खराबीहरु डिप्रेसनका मुख्य लक्षण मानिन्छन् । यीमध्ये एकै व्यक्तिमा एक दुईओटा मात्र वा केही या अधिकांश लक्षणहरु देखिन्छन् । एउटै लक्षण फरक–फरक व्यक्तिमा समय समयमा फरक गहिराइमा हुन सक्छ । मनभित्र देखिने यी विकृति बाहेक डिप्रेसनका बिरामीहरुलाई शारीरिक समस्याहरु पनि प्रचार मात्रामा हुन्छन् । निन्द्रा नपर्ने, भोक नलाग्ने, शरीर दुब्लाउने, कब्जियत हुने, योनइच्छा र शक्ति कमजोर हुने, महिनावारी गोलमाल हुने (बढी रक्तस्राव) जस्ता लक्षण लगायत टाउको दुख्ने, रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, जी दुख्ने, शारीरिक शिथिलता हुने, कमजोरी अनुभव हुने आदि सबै डिप्रेसनका लक्षण हुन सक्छन् । यी शारीरिक लक्षणहरु डिप्रसन बाहेक अरु शारीरमा लाग्ने रोगहरुमा पनि भेटिन सक्ने हुनाले डिप्रेसनको किटान गर्न अगाडि उनको शारीरिक परीक्षण गरेर सबैखाले शरीरका रोगहरुको सन्देहलाई मेटाउनु पर्छ । प्रायः कडा रुपको डिप्रेसनमा पहिलो समूहमा मनसम्बन्धी लक्षणको बाहुल्य हुन्छ र यस्ता व्यक्तिहरुले आफ्नो समस्या मानसिक हो भनेर सजिलै ठम्याउन र अरुले पनि मानसिक रोग लागेको अनुमान लाउँछन् । डिप्रसनमा पागलपनको लक्षण हुँदैन तापनि विरक्ति र हीनताबोध तथा आत्मग्लानी चरम रुपमा देखियो भने ‘आफू उपचारका लागि अयोग्य भएको’, ‘उपचारले कुनै फरक नपर्ने’, ‘उपचारबाट उल्टो आफन्तलाई थप व्यय भार बोकाएको’ आदि कमजोर तर्क दिँदै उपचार गर्न सहमत नहुन सक्छन् । गम्भीर प्रकृतिको डिप्रेसनमा त्यस्तै चरम रुपको उदासीनता र अनिच्छाले गर्दा बिरामी नबोल्ने, नखाने, हिँडडुल नगर्ने र कैयौँ दिनसम्म टोलाएर, झोक्राएर बसिरहने गर्दछन् । हामीकहाँ डिप्रेसनबाट पीडित कतिपय व्यक्तिको विचलित मनलाई बोक्सी लागेको, अरुले बिगारिदिएको, मोहनी लाइदिएको, कुलदेवता, इष्ट–देवता रिसाएको आदि व्याख्या गरिन्छ । डिप्रेसन फरकफरक रुप र गाम्भीर्य भए पनि सबैमा केही समान लक्षण हुन्छन् जस्तै खुसीको अभाव र मनको विरक्ति । डिप्रेसन स्वतः स्फूर्त निस्कने र आफ्नो अवधि पूरा भएपछि आफैँ पूर्ण रुपले हट्ने रोग भए पनि यसमा उपचारको अत्यधिक महत्व हुन्छ । एक त यसका अवधि अनिश्चित हुन्छ । दोस्रो त्यस अवधिभित्र बिरामीको अवस्था नाजुक हुने, निश्चित हुने आत्महत्याको खतरा रहन्छ । कडा होस् या सामान्य, छोटो या लामो सबै डिप्रेसनका बिरामीहरु रोगबाट गुज्रेर बाहिर आइसकेपछि या उपचारबाट बीचमै निको भएपछि पूर्ण स्वस्थ हुन्छन् । रोगको कुनै असर बाँकी रहेको हुँदैन । कुनै कुनै व्यक्तिमा यो रोग दोहोरिन्छ । तर कति समयपछि दोहोरिन्छ, निश्चित हुँदैन । अर्कोपटक रोग सुरु हुनु अडाडि बषौँ बित्न सक्छ तर कहिलेकाीँ दुई–चार महिनापछि पनि हुन सक्छ । डिप्रेसनको रोगीे मदिरा पिउन थालेमा यसले एकछिन तनाव कम गर्ने हुनाले रोगबाट अस्थायी मुक्तिका लागि भए पनि निरन्तर मदिरा सेवन गर्न थाल्दछ । मदिराको नसामा आन्तरिक भावना व्यक्त गर्ने, उत्तेजित हुने जथाभावी गर्ने आदि व्यवहार प्रदर्शन गर्दछ र तर त्यसबेला उसको मुख्य रोग डिप्रेसन मदिरा सेवनले ओझेलमा पर्छ र समस्याको कारण त्यही मदिरा बन्न जान्छ । यस्तो स्थितिको बिरामीलाई ‘रक्सीबाज’, ‘जँड्याहा’ भन्न उप्रति अन्याय मात्र हैन कि ऊ सही उपचारबाटै वञ्चित हुन पुग्छ । डिप्रेसनको कारणबारे चर्चा गर्दा बाह्य तथा आन्तरिक दुवै तत्वलाई लिनुपर्दछ । डिप्रेसनका बाह्य कारणहरुमा मानिसले दैनिक जीवनमा प्राय ः भोग्न नपर्ने कडा खालको संकट, नजिकको व्यक्तिको अप्रतयाशित मृत्यु, व्यवसायमा घाटा नोकरीबाट निष्कासन आदि पर्दछन् । डिप्रेसन स्वतः स्फूर्त निस्कने र आफ्नो अवधि पूरा भएपछि आफैँ पूर्ण रुपले हट्ने रोग भए पनि यसमा उपचारको अत्याधिक महत्व हुन्छ । एक त यसका अवधि अनिश्चित हुन्छ । दोस्रो त्यस अवधिभित्र बिरामीको अवस्था नाजुक हुने, निश्चल हुने आत्महत्याको खतरा रहन्छ । तर औषधि प्रयोग गरेपछि यति प्रभावशाली हुन सक्छ कि बिरामी छोटो समयमै रोगबाट पूर्ण रुपले मुक्त हुन्छ । डिप्रेसनको उपचार लामो हुन्छ । सबै लक्षणबाट मुक्त हुन बढीमा ६ हप्तादेखि तीन महिनासम्म लाग्न सक्छ । रोगबाट पूर्ण निको भएपछि पनि उपचार चलाइरहनु पर्दछ । डिप्रेसन पटकपटक दोहोरिन थाल्यो भने अनिश्चित कालसम्म पनि उपचार चलाउनुपर्ने हुन्छ । लामो समयसम्म औषधि सेवन गर्दा खास प्रतिकुल असर कमै हुन्छ । तापनि बीचबीचमा चिकित्सकसँग सम्पर्क गर्न वेश हुन्छ । कहिलेकाहीँ लामो समयसम्म औषधि चलाउँदा पनि रोग निको हुँदैन । डिप्रेसनको विरामीप्रति अरुले गर्ने व्यवहार तथा उसको वरिपरिको वातावरणको पनि महत्व हुन्छ । राम्रो व्यवहार गर्दैमा र अनुकुल वातावरण जटाउँदैमा डिप्रेसन निको हुँदैन । तर त्यसले उपचार प्रभावकारी र छिटो हुन सक्छ । मुख्य कुरा – डिप्रेसन एक प्रकारको मानसिक रोग भए पनि यो पागलपन होइन, यसको मुख्य लक्षण हो विरक्ति, खिन्न भई खुसीको अनुभव गर्न नसक्नु । – यो रोग हाम्रो अनुमानभन्दा अत्याधिक संख्यामा पाइन्छ । डिप्रेसन आफैँ पनि निको हुन्छ तर लामो समय लाग्न सक्दछ । – केहीमा यो रोग गम्भीर रुपमा हुन्छ र आत्महत्या गर्ने खतरा हुनाले तुरुन्तै उपचार गराउन पर्छ । – कसैकसैमा यो रोग पछिपछि पनि दोहोरिन सक्छ । छिटोछिटो दोहोरिने भएमा निरन्तर उपचार चलाउनुपर्ने हुन्छ । साभार – महिला स्वास्थ्यबाट
