विश्व पोलियो दिवस अर्थात् अंग्रेजी महिना अक्टोबरको २४ तारिख । यसै अवसरमा वर्सेनी भैंm रोटरी क्लब अफ पनौतीले पनौती नगरपालिकासँग सहकार्य गरी पनौती बसपार्कमा भेला भई पोलियो दिवस मनाउने कार्यक्रम गरियो । विश्वबाट पोलियो उन्मूलन गर्ने क्रममा रोटरियन भएको नाताले वर्सेनी आर्थिक सहायता दिएर सहयोग पुर्याउन पाएकोमा हामी सबै रोटरियनहरुलाई खुशी लागेको छ । पोलियो उन्मूलन अनि पोलियो खोपलाई लिएर रोटरी ईन्टरनेशल, रोटरी क्लबहरुको चाख लाग्दो सम्बन्ध छ । भलै अहिले धेरैको ध्यान कोरोना महामारी अनि डेंगु संक्रमणमा गईरहेको भएपनि पोलियो संक्रमणलाई कति पनि नजरअन्दाज गर्न मिल्दैन । सन् १९५५ मा पोलियो विरुद्धको खोप बनाउने वैज्ञानिक जोनास एडवार्ड साल्क (१९१४-१९९५) को जन्म तिथिलाई सम्मान दिई रोटरी ईन्टरनेशनलले अक्टोबर २४ को दिन विश्व पोलियो दिवस मनाउन थालेको थियो । बिफर उन्मूलन गरेर हौसिएको विश्वले विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी ईन्टरनेशनल र बिल गेट्स फाउण्डेशन (पछिल्लो समय) को अथक पहलमा सन् १९८८ मै विश्वबाट पोलियो उन्मूलन गर्ने प्रतिबद्धता सहित नियमित खोप अभियान सहित पोलियो खोप थप ख्वाउने कार्यक्रमको आयोजना गरिँदै आएको छ । त्यसो त विश्वव्यापी तवरमा ९९.९ प्रतिशत पोलियो उन्मूलन भैसकेको छ भने सन् २०२० मा १२५ वटा पोलियो केस र सन् २०२१ को मध्य अक्टोबरसम्मका केवल ६ वटा केस भेटिएका थिए । हालसम्म पाँच महादेशहरु पोलियो उन्मूलन घोषित भैसकेको भएपनि अफगानिस्तान र पाकिस्तानको कारण विश्व पोलियोमुक्त घोषित हुन ढिलो भैरहेको छ । नभन्दै सन् २०२२ को जुलाई ३१ सम्ममा पाकिस्तानमा १४ वटा पोलियोका केसहरु भेटिएको खबर छ । विगत केही वर्षदेखि नेपालका विभिन्न भाग तथा वडाका महिला स्वास्थ्य स्वयंसेविका एवं अन्य स्वयंसेवकहरुको सक्रियतामा स्वास्थ्य मन्त्रालयबाट ‘पोलियो प्लस’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । नियमित खोप तालिका अन्तर्गत तीन मात्रा पोलियो थोपा खुवाउने गरिएको भए पनि नेपाललाई पोलियो मुक्त देश बनाउन थप पोलियो थोपा खुवाउने कार्यक्रम हुँदै आएको छ । पोलियोमाइलाइटिस अर्थात्् आर एन ए खालको भाइरस (विषाणु) ले सामान्यतः मानिसको खाद्य नलीलाई असर गरे पनि थोरै प्रतिशत संक्रमित व्यक्तिको स्नायु प्रणालीलाई असर गरी विभिन्न स्तरको पक्षघात गराउनुका साथै ज्यान लिन सक्छ । पोलियो खोपको आविष्कार तथा प्रचलनपूर्व विश्वको हरेक देशमा हुने गरेको पोलियो रोग सन् १९५४ देखि व्यापक रुपमा पोलियो खुवाउन र यसको सुई लगाउन थालेपछि हाल नियन्त्रणमा आएको हो । उच्चस्तरको सामाजिक आर्थिक अवस्था र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका देशहरुमा मात्र यसको संक्रमण बाँकी छ । यसरी विकसित देशहरुमा पोलियो रोग विरलै पाइए पनि खोप नलगाउने राष्ट्रका ५ वर्षमुनिका बच्चाहरुमा ५ वर्षका उमेर सम्ममा पोलियो भाइरसको संक्रमणले यो रोग विरुद्ध लड्ने क्षमता प्राकृतिक रुपमै विकसित हुन्छ । नेपालजस्तो खोप कार्यक्रम भएको देशहरुमा खोपको भाइरसले जंगली (संक्रमण प्रकारको) भाइरसलाई विस्थापित गर्दछ । पोलियो भाइरसका ३ प्रजाति छन् । ती मध्ये पहिलो प्रकारको प्रजातिले महामारी पैmलाउँछ । पोलियो भाइरस वाँय वातावरणमा लामो समय बाँच्न सक्दछ । जस्तै चिसो पानीमा ४ महिना र दिसामा ६ महिना बाँच्न सक्दछ । वर्षात् मौसममा बढ्ता पैmलिने पोलियो संक्रमण दूषित खाना, पानीबाट सर्दछ । संक्रमित व्यक्तिको दिसा तथा मुख घाँटीको श्राव (र्याल) मा संक्रामक वस्तु हुन्छ । पोलियो संक्रमणको लक्षण चिन्ह देखा पर्नु १० दिन अगाडि देखि १० दिन पछाडि सम्म बढ्ता संक्रामक अवस्थामा हुन्छ । पोलियो संक्रमणले ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाहरुलाई बढ्ता प्रभावित गर्दछ । केटाहरुमा यस्ता संक्रमणको सम्भावना तेब्बर हुन्छ । कुनै ठाउँमा एक जना पोलियो रोगी पत्ता लाग्नुको तात्पर्य त्यो ठाउँमा थप १००० जना बालबालिकाहरु र ७५ जना वयस्क मानिसहरु पनि पोलियोबाट प्रभावित छन् भन्ने कुरा बुझ्नु पर्दछ । पोलियो संक्रमण लाग्न सक्ने व्यक्तिलाई चोट लाग्यो, कुनै शल्यक्रिया गर्यो वा आलस्य भयो भने पोलियो लाग्ने बढ्ता सम्भावना हुन्छ । गर्भवती आमाबाट प्राप्त हुने पोलियो रोग विरुद्ध लड्न सक्ने क्षमता जन्मेको ६ महिनामा हराएर जान्छ । अतः नवजात शिशु डेढ महिना पुगेदेखि ४-४ हप्ताको अन्तरालमा तीन मात्र पोलियो खोप खुवाउनु पर्दछ । यसको अलावा बेला बेलामा खुवाउने गरेको थप पोलियो मात्रा पनि खुवाउँदै जानु पर्दछ । पोलियो संक्रमण लागे जतिलाई पक्षाघात (प्यारालाइसिस) हुने चाहिँ होइन । पोलियो संक्रमण लागेका करिब ९५ प्रतिशत व्यक्तिहरुमा यसको कुनै लक्षण चिन्ह देखा पर्दैन । यस्ता खाले बिरामीहरुमा ल्याब परीक्षण गर्दा भाइरस पत्ता लाग्ने वा उक्त रोग विरुद्ध लड्न सक्ने क्षमताको वृद्धि भएको पाइन्छ । करिब ४ देखि ८ प्रतिशत संक्रमित व्यक्तिहरुमा सामान्य खालको समस्या देखा पर्दछ । जुन आपैm निको भएर जान्छ । एक प्रतिशत संक्रमित व्यक्तिहरुमा पक्षाघात (प्यारालाइसिस) नहुने खालको पोलियो संक्रमण हुने हुनाले घँँटी (गर्दन) तथा पिठ्युँ अररो हुने मात्र हुन्छ । यस्तो खाले संक्रमण मेनिन्जाइटिससँग मिल्दोजुल्दो हुन्छ । तर, एक प्रतिशतभन्दा कम संक्रमित व्यक्तिहरुमा पक्षाघात हुने खालको (गम्भीर प्रकारको) पोलियो संक्रमण हुन्छ । हातखुट्टा लुलो हुने, सुकेर जाने, सुुरुतिर ज्वरो आउने पनि हुन्छ । हात खुट्टा लुलो हुने समस्या बढ्दै जाने तथा लुलोपनासँगै काम छुट्ने, बेहोस हुने समस्या पनि छ भने पोलियो संक्रमण नभई अन्य कुनै संक्रमण हुनसक्छ । अतः यसबारे स्पष्ट हुन चिकित्सकलाई राम्ररी जाँच पड्ताल गराउनु पर्दछ । पोलियो संक्रमणको ठ्याक्कै कुनै उपचार छैन । अतः रोकथामका लागि पोलियो थोपा खुवाउनुपर्दछ । तर पोलियो संक्रमणबाट प्रभावित शरीरको भाग, मांसपेशी तथा जोर्नीलाई बढ्ता असर हुन नदिन वा अपाङ्ग हुनबाट जोगाउन समयमै फिजियोथेरापी (शारीरिक अभ्यास) एवं आवश्यक हेरचाह गर्नुपर्दछ । पोलियो संक्रमण विरुद्धको खुवाउने पोलियो थोपा सन् १९५७ मा पत्ता लागि प्रचलनमा आएको हो । मुखबाट खुवाउने खालको पोलियो थोपाले तीनै प्रजातिको पोलियो भाइरसबाट बचाउँदछ । संक्रामक रोग, गम्भीर प्रकारको ज्वरो तथा झाडापखाला, क्यान्सर लागेका तथा स्टेरोइड औषधि सेवन गरिरहेका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउनु हुँदैन ।
