IMG-LOGO

गर्भावस्थाका ल्याब परीक्षण

 मंगल, जेठ २, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

      नेपालमा केही समय अगाडिसम्म पनि कलिलै उमेरमै बिहा गर्ने, छिटो गर्भधारण गर्ने, गर्भवती बेला गर्भजाँच नगराउने, घरमै बच्चा पाउने, परिवार नियोजनका साधन नअपनाउने तथा धेरै बच्चा पाउने गरिन्थ्यो । नेपाली महिलाहरु पनि शिक्षित एवं कामकाजी हुन थालेसँगै ढिलो बच्चा पाउने एवं कम भन्दा कम बच्चा पाउने चलन आउन लागेको छ । त्यस मथि तुलनात्मक रुपमा नेपालीहरुको आर्थिक स्तरपनि बढ्न थालेसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रति सेवाग्रही चनाखो हुँदै गएको छ । गर्भावस्थामा गर्भवती महिला र गर्भेशिशुको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न ल्याब परीक्षणहरु गराउनुपर्ने हुन्छ । यस्तैमा के शिक्षित, के अशिक्षित जोकोही पनि गर्भावस्थाका बेला चेकअपका लागि जाने तथा आवश्यक ल्याब परीक्षणहरु गराउने चलन बढेको छ ।       अभैmपनि चिकित्सक वा नर्सकै सल्लाहमा गर्भ जाँच सम्बन्धी परीक्षणहरु गर्ने, गराउने भएपनि आंशिक रुपमा सेवाग्रहीहरु गुगलमा हेरे, सुनेका ल्याब परीक्षणहरुबारे जानकारी लिन आउँछन् । हुनत प्राईभेट स्वास्थ्यसंस्थाहरुमा अनावश्यक परीक्षण गराउने एवं उही ती परीक्षणहरु पटकपटक दोहा¥याउने गरिन्छ । त्यसो भएर गर्भावस्थामा के, कस्ता ल्याब परीक्षणहरु गराउनु पर्ने भन्ने जानकारी थाहा पाईराख्नु फाईदै हुन्छ ।       चालीस महिना लामो मानिसको गर्भलाई विभिन्न चरणमा बाँड्ने क्रममा गर्भावस्थाको १२ हप्तासम्मलाई प्रथम त्रैमासिक, १३ देखि २८ हप्तासम्मलाई दोश्रो त्रैमासिक र २९ देखि ४० हप्तासम्मलाई तेश्रो त्रैमासिक गरी बाँडिएको छ । र, गर्भावस्थाको सात महिनासम्म प्रत्येक महिना, ७ देखि ९ महिनासम्म प्रत्येक दुई हप्तामा तथा ९ महिना पूरा भएपछि सुत्केरी नभएसम्म प्रत्येक हप्ता गर्भ जाँच गराउन आउन परामर्श दिइन्छ ।       विवाहित महिलामा महिनावारी रोकिएसँगै गर्भ आएको, नआएको घरमै पिसाब जाँच किटबाट पत्ता लगाउन सकिन्छ । घर नजिकै अल्ट्रासाउण्ड (भिडियो एक्सरे) को सुविधा छ भने अल्ट्रासाउण्ड गराउनुका थप फाईदाहरु छन् । पहिलो त्रैमासिकमा अल्ट्रासाउण्ड परीक्षणबाट गर्भमा रहेको भ्रुणको बनावट, गर्भावस्थाको अवधि निश्चित गर्न, मुटुको धड्कन, जुम्ल्याहा वा पाठेघर बाहिर गर्भ रहेको, गर्भ बिग्रेको, मोलर खालको गर्भ रहेको थाहा पाउन थाहा पाउन सकिन्छ ।       यसरी गर्भ रहेको निक्र्यौल भएपछि पहिलो पटकको चेकअपमा गर्भवती महिलाको शरीरमा हेमोग्लोबिन (रक्तअल्पता छ, छैन हेर्न), पिसाब, यौनरोग सम्बन्धि, रक्तसमूह, हेपाटाइटिस बी र एच आइ भी सम्बन्धि जाँचहरु गराउनुपर्दछ । र, प्रत्येक तीन तीन महिनामा हेमोग्लोबिन र पिसाबको जाँच दोहो¥याउनु पर्दछ । प्रत्येक पटकको चेकअपमा गर्भवती महिलाको शारीरिक तौल लिने र रक्तचाप नाप्ने, तिनीहरुका गुनासो केही भए त्यसको निराकरण गरिन्छ ।       यसैक्रममा गर्भावस्थाको १६ हप्ता देखि २२ हप्तामा गर्भे शिशुको वृद्धि, गर्भावस्थाको अवधि, बच्चामा कुनै शारीरिक (पेट, ढाड, पेट, मुटुमा) विकलाङ्ग, सालको अवस्थिति थाहा पाउन अल्ट्रासाउण्ड गराउनु पर्दछ । र, तेश्रो त्रैमासिकमा गर्भे शिशुको वृद्धि, तिनको मोटामोटी तौल, सालको अवस्थिति     तथा शिशु वरिपरिको पानीको मात्रा थाहा पाउन भने अल्ट्रासाउण्ड गराउनु पर्दछ । यदि पाठेघर भित्रको शिशुको वृद्धिदर निकै कम छ वा गर्भवती महिलामा उच्च रक्तचाप छ भने अल्ट्रासाउण्ड सँगै डप्लरको सहायताले गर्भे शिशुमा केही नकारात्मक असर पुग्यो, पुगेन जाँचिन्छ । जनमानसमा तथा सम्बन्धित दम्पत्तिमा पटक पटक अल्ट्रासाउण्ड गर्नाले गर्भे शिशुमा नकारात्मक असर पुग्ला कि भन्ने चिन्ता व्याप्त छ । यो केवल गलत अवधारणा मात्र हो । अन्य खालको एक्सरेमा भैंm विकिरण हैन कि अल्ट्रासाउण्डमा ध्वनी तरङ्गको सहायता लिइने भएकोले खासै नराम्रो असर गर्दैन ।       गर्भवती महिलामा मधुमेह छ कि वा गर्भवती अवस्थाका कारण मधुमेह विकसित भयो कि भनेर पत्ता लगाउन गर्भ अवधिको २४ देखि २८ हप्तामा ५० वा ७५ ग्राम ग्लुकोज ख्वाएर एक घण्टापछि रगतमा चिनीको मात्रा जाँच गराउनु पर्दछ । माथि उल्लेखित यी परीक्षणहरु गर्भावस्थामा गर्नुुपर्ने न्यूनतम ल्याब परीक्षणहरु हुन् ।       पहिलो त्रैमासिकमा गर्भवती महिलामा अपेक्षा गरेभन्दा धेरै उल्टी हुने समस्या हुँदा पिसाबमा एसिटोन भन्ने पदार्थ एवं रगतको जाँच गराउनु पर्दछ । गर्भावस्थाको पहिलो त्रैमासिकमा रगत बहनु वा हल्का रगत मिश्रित योनीश्राव हुनु भनेको गर्भ तुहिनुको पूर्व सूचना हो, त्यस्तो परिस्थितिमा अल्ट्रासाउण्डबाट निक्र्यौल गर्नुपर्दछ । यसैगरी पाठेघर बाहिर (इक्टोपिक) गर्भ रहेको वा भ्रुणको सट्टा अंगुरको दाना जस्तै हुने (मोलर) गर्भ पनि अल्ट्रासाउण्डबाटै निदान गरिन्छ ।       यसको अलावा गर्भवती महिलाको शारीरिक तौल अनपेक्षित रुपमा बढ्यो, खुट्टा सुन्नियो भने वा रक्तचाप उच्च भएको पत्ता लाग्नासाथ प्रत्येक पटकको गर्भवती जाँचमा पिसाबमा एल्बुमिन भन्ने प्रोटिन छ, छैन जाँच्नुपर्दछ । यदि गर्भवती महिलालाई साँच्चिकै उच्च रक्तचाप तथा यसका जटिलताहरु देखा परेको भए कलेजो तथा मृर्गौलाको काम सम्बन्धि, रगत बग्ने÷जम्ने क्षमता सम्बन्धि थप जाँचहरु एवं पटक पटक भिडियो एक्सरे पनि गराउनुपर्दछ । गर्भवती महिलामा मधुमेह, मृर्गौला सम्बन्धि रोग वा अन्य कुनै मेडिकल समस्या छ भने सोही बमोजिम थप ल्याब परीक्षणहरु गराउनु पर्ने हुन्छ । गर्भवती महिलाको रगत निगेटिभ समूह र उनको श्रीमानको रक्तसमूह पोजिटिभ छ भने पेटभित्रको बच्चामा कुनै नराम्रो प्रतिक्रिया भयो कि भनेर रगतको विशेष जाँच एवं अल्ट्रासाउण्ड गराउनुपर्दछ । गर्भवती महिलालाई मुटुको समस्या छ भने ईसीजी, इकोकार्डियोग्राफी (मुटुको भिडियो एक्सरे) का साथै गर्भे शिशुमा पनि कुनै मुटुको खराबी विकसित भयो कि भनेर गर्भे शिशुको इको जाँच गराउनु पर्ने हुन्छ ।       यसको अलावा गर्भवती महिला मधुमेह, मुटु एवं मृर्गौलाको रोगी, पेट भित्रको शिशु सानो शंका गरिएकी, शिशु वरिपरि पानी बढी वा घटी भएकी, जुम्ल्याहा बच्चा बोकेकी, पहिला पटक पटक दोश्रो त्रैमासिकमा गर्भपतन भएकी भए गर्भवती महिलामा प्रत्येक ३ हप्ता वा ४ हप्ताको अन्तरालमा अनुभवी चिकित्सकबाट अल्ट्रासाउण्ड गराउनुपर्दछ ।       विशेष परिस्थितीमा रगतमा क्रोमोजोम, शिशुको वरिपरिको पानी निकालेर विभिन्न जाँच एवं डप्लर अल्ट्रासाउण्ड गर्न सकिन्छ । सुत्केरी व्यथा लाग्नुपूर्व वा सुत्केरी व्यथाको क्रममा बच्चाको मुटुको धड्कन तथा पाठेघरको खुम्चिँदाको चाप नाप्ने जाँच पनि गर्न सकिन्छ । सुत्केरी पूर्व व्यथा लागेको खण्डमा, पाठेघर भित्रै शिशुको मृत्यु भएमा तथा सुत्केरी पश्चात् उच्च ज्वरो आएमा योनीश्राव, रगत, पिसाब एवं अल्ट्रासाउण्डको सहायताले कारण खुट्याउन मद्धत गर्दछ ।       पहिला पटक पटक गर्भ खेर गएकी गर्भवती महिलामा गर्भावस्थाको शुरु तिर विभिन्न संक्रमण (टोक्सोप्लाज्मा, रुबेल्ला, साइटोमेगालो, हर्पिस), मधुमेह, रक्तनली भित्रै रगत जम्ने समस्या, निगेटिभ रगत समूह छ, छैन जाँच्नुपर्दछ । त्यसैगरी गर्भावस्थामा हेपाटाइटिस ई संक्रमण खतरनाक सावित हुनसक्छ । त्यसैले जुनसुकै प्रकारको हेपाटाइटिस भएपनि ई प्रकारको हेपाटाइटिस चाहिँ छ, छैन जाँच्नुपर्दछ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्