अहिले दैनिकजसो प्रसुतीरोग वार्डमा राउण्ड लिने क्रममा उच्च रक्तचापबाट ग्रसित गर्भवती महिलाहरु निकै भेटिन्छन् । त्यसो त गर्भवती बेलामा मेडिकल समस्याहरुबाट प्रताडित हुने महिलाहरु मध्ये उच्च रक्तचाप पनि एक हो । गर्भवती महिलाहरु मध्ये करीब ७ देखि १० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिन्छ । गर्भावस्थाको २० हप्ता पछि मा गर्भवती महिलाको रक्तचाप १४०÷९० भन्दा बढी भयो तथा पिसाबमा प्रोटिन (एल्बुमिन) देखा प¥यो भने रक्तचापको समस्या मान्नुपर्दछ । गर्भवती महिलामा देखा परेको उच्च रक्तचापलाई रक्तचाप बढेको तर पिसाबमा प्रोटिन देखा नपरेको, उच्च रक्तचापका साथै प्रोटिन पनि देखा परेको तर कम्पन नछुटेको तथा कम्पन पनि छुटेको गरी थप तीन प्रकारमा बाँड्न सकिन्छ । उच्च रक्तचापका कारक तत्व पहिलो पटकको गर्भमा, गर्भवती महिलाको उमेर कम वा बढी भएमा, परिवारमा कसैलाई वा सगोलका दिदीबहिनीलाई वा आपैंmलाई पनि पहिलेको गर्भमा रक्तचाप भएकामा, सालमा कुनै खराबी भएमा, कुनै कारणवश सालको आकार ठूलो भएमा (जुम्ल्याहा हुँदा, दम्पत्ति बीच रगतको समूह नमिल्दा, मधुमेहको समस्याले), सालमा यथेष्ट मात्रामा रगतको बहाव नपुगेमा, सग्लो गर्भ नरहेर अंगुरको दाना जस्तो हुने मोलार गर्भ भएमा, जन्मान्तर बीच केटा पार्टनर फरक भएमा, पहिले देखि रगतको नशा वा मृर्गौलाको समस्या भएकामा, रगत जम्ने समस्या भएका महिलामा उच्च रक्तचापको समस्या देखापर्ने सम्भावना बढी हुन्छ । गर्भावस्थामा रक्तचापको समस्या समयमै पत्ता लगाउन सकियो र चिकित्सकको निगरानीमा रहेर आवश्यकता अनुसारको ल्याब टेष्ट तथा सल्लाहहरु मान्यो भने उच्च रक्तचापका कारण थप कुनै खतरा हुँदैन । तर त्यसको लागि नियमित गर्भ जाँच गराउनु पर्ने हुन्छ । पटक पटकको गर्भवती जाँचको क्रममा रक्तचाप नाप्ने क्रममा रक्तचाप बढे, नबढेको पत्ता लाग्छ । रक्तचापको अलावा कहिलेकाहीँ गोडा सुन्निने, टाउको दुख्ने, निद्रा गडबड हुने, आँखा धमिलो हुने, पेटको माथिल्लो भाग पोल्ने, असामान्य तवरले तौल बढ्ने, गर्भाशयको बच्चा सानो हुने जस्ता लक्षणचिन्हहरु पनि देखा पर्न सक्छ । गर्भवती महिलामा कुनै कारणले उच्च रक्तचापको समस्या देखिए पनि रक्तनलीको भित्री तहमा खराबी आउनाले तथा रक्तनली अत्याधिक खुम्चिनाले गर्भवती महिलाको धेरै अङ्गहरु (साल, मृर्गौला, रक्तनलीहरु, कलेजो, गिदी, मुटु, फोक्सो आदि) लाई नकारात्मक प्रभाव पार्दछ । उच्च रक्तचापले ग्रसित गर्भवती महिलामा रगतमा कलेजोको काम गराई, मृर्गौलाको काम गराई तथा युरिक एसिड, हेमोग्लोबिन, प्लेटलेट्स, रगत जम्ने पदार्थको मात्रा, पिसाबको जाँच, आँखाको पर्दाको जाँच, अल्ट्रासाउण्डमा गर्भेशिशुका तौल, त्यस वरिपरि पानीको मात्रा, गिदीको तथा सालको रक्तनलीमा रगतको बहाव आदि परीक्षण गराउनु पर्दछ । गर्भवती महिलाको रक्तचाप १६०÷११० सम्म वा बढेको आधारमा रक्तचापको समस्या सामान्य वा गम्भीर खालको हो भनि छुट्याईन्छ । गम्भीर खालको रक्तचापको समस्या भएको महिलालाई अस्पतालमा भर्ना राखेरै थप जाँच पड्ताल तथा उपचार गर्नु पर्दछ । गम्भीर खालको रक्तचाप नियन्त्रणका लागि उच्च रक्तचाप विरुद्धको औषधि शुरु गर्नुपर्ने हुन्छ । यदि गम्भीर खालको रक्तचाप समयमै आवश्यक उपचार गरिएन भने गर्भवती महिलामा कम्पन छुट्ने समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा आमा तथा बच्चा दुवैको ज्यान जोखिममा हुन्छ । विभिन्न उपचारका बावजूद गर्भवती महिलामा रक्तचाप नियन्त्रणमा आएन भने डेलिभरी गराउन तर्पm लाग्नु पर्दछ । गर्भावस्थाको अवधि, गर्भे शिशुको फोक्सोको परिपक्वपना र पाठेघरको मुखको स्थितिको आधारमा नर्मल डेलिभरी वा सिजेरियन अपरेशनको निक्र्यौल गरिन्छ । के हो ईक्लेम्पसिया गर्भावस्थामा उच्च रक्तचाप बेलैमा नियन्त्रणमा राखिएन भने वा उच्च रक्तचापको जटिलता बढ्दै जाँदा कम्पन छुट्ने समस्या हुनसक्छ । यसलाई मेडिकल भाषामा ईक्लेम्पसिया भनिन्छ । कम्पन छुट्ने समस्या उत्पन्न भएमा अस्पतालमै सम्बन्धित विशेषज्ञको निगरानीमा उपचार गराउनु पर्ने हुन्छ । गम्भीर खालको रक्तचापको समस्या भएको महिलालाई ईक्लेम्पसिया हुने सम्भावना निकै बढी भएपनि कसै कसैमा सामान्य मात्रामा रक्तचाप हुँदा पनि ईक्लेम्पसिया हुने गरेको छ । उच्च रक्तचापबाट ग्रसित गर्भवती महिलालाई प्रायसः अस्पतालमा ल्याई उपचार गराउन ल्याउने हुनाले अस्पतालहरुको तथ्याङ्क अनुसार सालाखाला ३० देखि ५०० जना उच्च रक्तचाप भएका महिलाहरु मध्ये एकजनालाई कम्पन छुट्ने (ईक्लेम्पसिया) जस्तो जटिलता देखापर्दछ । गर्भवती महिलामा उच्च रक्तचापको अलावा गोडा अधिक सुन्निने, टाउको दुख्ने, निद्रा गडबड हुने, पेटको माथिल्लो भाग पोल्ने, आँखा धमिलो हुने, असामान्य तवरले तौल बढ्ने जस्ता लक्षणचिन्हहरु ईक्लेम्पसिया हुन लागेको अर्थात् कम्पन आउन लागेकोको पूर्वसूचकहरु हुन् । गर्भवती महिलामा उच्च रक्तचापको कारण गिदीमा रगतको बहाव कम हुनु, गिदी सुन्निनु वा गिदीको ईलेक्ट्रिकल चालमा गडबडी हुनु कम्पन छुट्नाको कारण मानिन्छ । करीब ५० प्रतिशत गर्भवती महिलामा यस्तो कम्पन सुत्केरी व्यथा शुरु नहुँदै हुने भएपनि ३० प्रतिशतमा सुत्केरी हुँदाहुँदै र २० प्रतिशतमा बच्चा पाएको ७ दिन (प्रायःजसो ४८ घण्टा भित्र) हुन्छ । छारेरोग, हिस्टेरिया, इन्सेफलाईटिस, मेनिनजाईटिस, गिदीको रक्तनलीमा रगत जम्नु, विष सेवन, गिदीलाई असर गर्न सक्ने खालको औलो रोग गर्भवती महिलामा कम्पन छुट्न सक्ने अन्य कारण भएपनि अरु कारण नखुिटएसम्म ईक्लेम्पसियालाई कम्पन आउनाको प्रमुख कारण मान्नुपर्दछ । ईक्लेम्पसियाको कम्पन आउँदा पनि सामान्य छारेरोगमा जस्तै काम्नु पूर्व विरामीको व्यवहारमा परिवर्तन आउने, शरीर कडा हुने, कम्पन छुट्ने अनि बेहोश हुने हुन्छ । उच्च रक्तचापले जस्तै ईक्लेम्पसियाले पनि गर्भवती महिलाको मृर्गौला, रक्तनलीहरु, कलेजो, गिदी, मुटु, फोक्सो आदिलाई नकारात्मक असर पु¥याउँछ । एकपटक कम्पन आएपछि गर्भवती महिला तथा गर्भे शिशुको स्वास्थ्य यसै भन्न सकिन्न । कम्पन आएदेखि उपचार पाउन सम्म ढिलाई भयो, सुत्केरी हुन बढी समय लाग्यो, १० पटक भन्दा बढी पटक कम्पन आयो, ज्वरो धेरै (१०२ डिग्री भन्दा बढी) आयो, नाडीको चाल १२० भन्दा बढी भयो, माथिल्लो रक्तचाप २०० भन्दा बढी भयो, पिसाब कम भयो, मेडिकल उपचारले छोएन वा जण्डिस पनि देखा प¥यो भने चाहिँ स्थिति राम्रो हुँदैन भन्ने बुभ्mनुपर्दछ । ईक्लेम्पसिया भएको महिलाको मुटु फेल खाएर, फोक्सो सुन्निएर, बेहोशीमा बान्ता गर्दा सर्किएर, गिदीमा रक्तश्राव भएर, पिसाब पटक्कै नभएर, अचेत भएर वा संक्रमण भएर अकालमा मृत्यु हुनसक्छ भने महिना नपुग्दै जन्म भएकोले, बच्चा पाउनुपूर्व कम्पनको कारणले साल छुट्टिएर गर्भे शिशुलाई यथेष्ट रगत (अक्सिजन) को आपूर्ति नपुगेर, कम्पन रोक्न आमालाई दिइएको औषधिको नकारात्मक असरले तथा यस्ता खाले बच्चाको सुत्केरीका लागि अपरेशनको जरुरत पर्ने कारणले गर्भे शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ । ईक्लेम्पसिया भएका विरामीको उपचार विशेषज्ञको निगरानीमा मात्र गर्नुपर्ने हुनाले तथा शिशुलाई सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने हुनाले दुर्गमका स्वास्थ्यकर्मीहरुले पनि प्राथमिक उपचारको प्रक्रिया पु¥याएर यथाशक्य संप्रेषण (रेफर) गर्नुपर्दछ । यस क्रममा सम्बन्धित अस्पताल नपुगुन्जेल बाटोमा देब्रे कोल्टे सुताउने, चिउँडो अलिकति तान्ने, ओठ तोकिएला भनेर मुखमा कुनैपनि बाह्य बस्तु नराख्ने, श्वासप्रश्वास क्रिया सहज हुने गरी राख्ने, अक्सिजन दिने, सलाईन चलाउने, पिसाबको पाईप राखिदिने गर्नु पर्दछ । अधिकतर रुपमा कम्पन रोक्ने डाइजेपाम तथा अन्य निद्रा लाग्ने औषधि सकेसम्म दिएमा गर्भे शिशुलाई नकारात्मक असर पर्न जान्छ । त्यसो भएर पटक पटक कम्पन नआओस् भन्नका लागि म्याग्नेसियम सल्फेट नामक कम्पन रोक्ने उपयुक्त औषधि दिनुपर्ने हुन्छ । ईक्लेम्पसिया भएको अर्थात् कम्पन छुटेको १२ घण्टा भित्र सुत्केरी गराईसक्नुपर्ने हुनाले चाँडो भन्दा चाँडो अस्पताल पु¥याउनु पर्दछ । अस्पतालमा ईक्लेम्पसिया भएका महिलामा पनि रगतमा कलेजोको काम गराई, मृर्गौलाको काम गराई, प्लेटलेट्स, रगत जम्ने पदार्थको मात्रा, युरिक एसिड, पिसाब एल्बुमिन छ, छैन तथा कति बढी मात्रामा छ), आँखाको पर्दाको जाँच, अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरे लगायतका ल्याब टेस्टहरु तुरुन्त गराईन्छ । कम्पन छुटेको विरामीमा त्यतिकै पनि सुत्केरी व्यथा शुरु भईसकेको हुन्छ । त्यसैले अस्पतालमा पु¥याई सकेपछि गर्भावस्थाको अवधि र पाठेघरको मुखको प्रकृति हेरिकन उपचारमा सँलग्न विशेषज्ञ चिकित्सकले योनीद्वारबाट पाउन सकिने, नसकिने वा सिजेरियन अपरेशनको जरुरत पर्ने निक्र्यौल गरिन्छ । गर्भावस्थामा साल पाठेघरमा रहुन्जेल रक्तचाप घटाउन गाह्रो हुने र सुत्केरी पछि सालनाल पनि निस्केपछि फेरि फेरि कम्पन आउने तथा रक्तचाप पनि ठिक ठाउँमा आउने हुनाले रक्तचाप भएकी गर्भवती महिलामा ईक्लेम्पसिया लगायतका थप समस्या देखा परेको खण्डमा बच्चा (जिउँदो वा मृत) निकाल्न अनावश्यक ढिलाई गर्नुहुँदैन । यस्ता खाले विरामीमा सुत्केरी पछि पनि संक्रमण लगायतका समस्याहरु देखापर्ने र पछि पछिका गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्ने हुनाले विरामी निको भएर डिस्चार्ज हुने बेलामा राम्ररी परामर्श सल्लाह दिनुपर्दछ । साथै सुत्केरीको २ हप्ता पछि रक्तचाप चेकअप गर्न फिजिसियन कहाँ र ६ हप्तापछि सुत्केरी पश्चात्को जाँच अनिवार्य रुपमा गर्नुपर्दछ ।
