IMG-LOGO

समय नहुँदै प्रसव हुने समस्या

 मंगल, सावन २, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

       दोश्रो पटक गर्भवती भएकी सलिना (नाम फेरिएकी) को गर्भ ८ महिनाको चलिरहँदा विभिन्न खालको औषधिको बावजुद उनको उच्च रक्तचाप नियन्त्रणमै आएन । गर्भावस्थामा अनियन्त्रित उच्च रक्तचापको कारण गर्भेशिशुको वृद्धिमा कमी आउने तथा शिशु वरिपरिको पानीको मात्रामा कमी आउने जस्ता जटिलता आउन सक्छ । यस्तो परिस्थितिमा उपचारमा सँलग्न प्रसुती रोग विशेषज्ञ, परिवारजन सबै अनिर्णयको बन्दीमा परियो । डेलिभरी गराउँ समय नपुगेका कारण नवजात शिशुमा अनेक समस्या आइलाग्ने र बाँच्ने नबाँच्ने पनि निश्चितता हुँदैन । डेलिभरी नगराउँ शिशु वरिपरिको पानीको कमी एवं कम तौलका कारण कुनैपनि बेला गर्भमै शिशुको मृत्यु हुनसक्छ । समस्या यति मात्र नभई सलिनाको पहिलो सुत्केरी सिजेरियन मार्पmत् भएको थियो । यसकारण सिजेरियन दोहो¥याउनुको विकल्प थिएन, तर शिशु बाँच्ला नबाँच्ला ठेगान थिएन । किनकि पहिले सिजेरियन गरिएकी गर्भवती महिलामा व्यथा लगाउने औषधि राख्न सकिँदैन, किनकि पाठेघर फुट्न सक्छ । जे त होला भनि सिजेरियन दोहो¥याउन करै लाग्यो, गरियो । धन्न त्यस्तो अप्रत्याशित नतिजा केही पनि भएन । भलै शिशुको तौल १८०० ग्राम मात्र भएपनि नवजात शिशुलाई सघन कक्ष (एनआईसियु) मा राख्न परेन । तर सबैजनाको परिणाम सलिनाको जस्तो नहुन सक्छ ।        गर्भावस्थाको ४० हप्ता वा २८० दिन वरिपरि सुत्केरी हुनुपर्नेमा गर्भावस्थाको २८ हप्तापछि तर ३७ हप्ता अगावै सुत्केरी हुने अवस्थालाई समय नपुग्दै प्रसव भएको मानिन्छ । गर्भवती महिलाहरु मध्ये करीब १५ प्रतिशतसम्ममा हुने समय नपुग्दै प्रसव हुने समस्या आईपर्न सक्छ । यसैका कारण नवजात शिशुको मृत्यु तथा रोगी हुने दर अत्याधिक हुन्छ । समय नपुग्दै प्रसव हुने समस्या विभिन्न कारणहरुको सम्मिश्रणले गर्दा हुन्छ । समय नपुग्दै प्रसव हुने कारण        यस अघि पटक पटक गर्भ तुहिएको, यस अघि पनि समय नपुग्दै प्रसव भएको, गर्भावस्थामा पटक पटक मुत्र नली संक्रमण भएको, धुम्रपान गर्ने गरेको, आर्थिक स्थिति कमजोर भएको, गर्भावस्थामा पोषण स्थिति कमजोर भएको खण्डमा समय नपुग्दै प्रसव हुने समस्या हुन सक्छ । यसको अलावा यस पटकको गर्भावस्थामा उच्च रक्तचाप हुनु, प्रसव अगावै रक्तश्राव हुनु, गर्भे शिशु वरिपरि पानीको मात्रा बढी हुनु, पानीको थैलो फुट्नु, पाठेघरको मुख खुकुलो हुनु, जुम्ल्याहा बच्चा हुनु, पाठेघरमा जन्मजात खराबी हुनु, गर्भे शिशुमा जन्मजात शारीरिक खराबी हुनु, साल गलत ठाउँमा बस्नु, प्रसव अगावै साल छुट्टिनु, सालमा रगतको आपूर्ति कम हुनु, पेट भित्रै शिशुको मृत्यु हुनु, गर्भावस्थामा उच्च ज्वरो आउनु, मृर्गौलाको संक्रमण हुनु अन्य कारक तत्वहरु हुन् । त्यसैगरि कतिपय जिवाणुहरु (ब्याक्टेरियल भजाइनोसिस, स्ट्रेप्टोकोकस, ब्याक्टेरोइड्स, क्लामाइडिया तथा माइकोप्लाज्मा) का कारणले स्त्री जननेन्द्रीय सम्बन्धी संक्रमण हुँदा पनि समय अगावै प्रसव हुने समस्या हुन सक्छ ।        माथि उल्लेखित कुनै पनि कारण (संक्रमण, पाठेघरको आकार ठूलो, पाठेघर, आमा तथा गर्भे शिशुमा केही खराबी) ले गर्दा पाठेघरको मांसपेशी खुम्च्याउने, गर्भे शिशु वरिपरि पानीको थैलो फुट्ने तथा समय अगावै प्रसव शुरु गराउने समस्या हुन्छ । सम्भव भए सम्म समय अगावै प्रसव हुने समस्या आउनै नदिने, थप जटिलता नभए प्रसवको रोकथाम गर्ने, प्रसव रोक्नै नसकिने भए उचित तवरले उपचार गर्ने र आवश्यकता अनुसार नवजात शिशुको स्याहार सघन रुपमा गर्नुपर्दछ । समय अगावै जन्मेका शिशुमा देखिन सक्ने जटिलताहरु        समय अगावै प्रसवबाट जन्मेका नजजात शिशुहरुमा प्रसवको क्रममा शिशु निस्सासिन सक्ने, नवजात शिशुले आफ्नो शारीरिक तापक्रम नियन्त्रणमा राख्न नसक्ने, श्वास प्रश्वास प्रणालीमा विभिन्न समस्या देखा पर्ने, टाउको भित्र रक्तश्राव हुने, बेहोश हुने, मुटु फेल खाने, पिसाब कम हुने वा फिटिक्कै नहुने, अनेकथरि संक्रमण (ब्रोङ्कोनिमोनिया, मेनिन्जाइटिस, आन्द्रा सुन्निने) को जोखिम बढ्ने, बढ्ता पहेंलोपन (जण्डिस) देखा पर्ने, रक्तअल्पता हुने तथा आँखाको पर्दा तथा नानीमा समस्या आई अन्धोपन हुने जस्ता जटिलताहरु हुनसक्छ ।        यसरी समय अगावै जन्मेका नवजात शिशुको तौल १५०० ग्राम भन्दा माथि भए बाँच्ने सम्भावना ९५ प्रतिशत हुन्छ । भरपर्दो सघन उपचार दिन सकेको खण्डमा ७५० देखि १५०० ग्राम तौल हुने शिशु बाँच्ने सम्भावना ८० प्रतिशत सम्म हुन्छ । तर गर्भेशिशु २४ हप्ता अगाडिको वा तौल ७०० ग्राम भन्दा कम हुँदा मृत्यु हुने सम्भावना ९७ प्रतिशत भन्दा बढी हुन्छ । माथि उल्लेखित जोखिम तत्वहरु तथा जन्मजात शारीरिक समस्या (विकलाङ्ग) का कारणले करीब दुई तिहाई नवजात शिशु जन्मेको ४८ घण्टा भित्रै मृत्यु हुने गर्दछ । यदि बाँचिहालेमा पनि सुस्त मनस्थितिका, कान कम सुन्ने, बानीव्यहोराको समस्या, जीर्ण प्रकारको फोक्सोको समस्या, शारीरिक वृद्धि विकासमा समस्या हुने एवं पछि मुटुको रोगी हुन सक्छ । रोकथाम        ल्याब जाँचको क्रममा समय अगावै प्रसव हुन लागेकी गर्भवती महिलाको रगत जाँच, पिसाबको सामान्य तथा कल्चर जाँच, योनीश्रावको कल्चर एवं योनीश्रावमा फाइब्रोनेक्टिनको उपलब्धताका साथै अल्ट्रासाउण्डबाट बच्चाको स्वस्थता, पाठेघरको मुखको लम्बाई एवं सालको स्थितिका साथै सम्भावित कारण थाहा पाउन सकिन्छ । तर कतिपय महिलामा सय अगावै प्रसव हुनुको कारण स्पष्ट नभएपनि यसका कतिपय कारक तत्वहरु (जस्तै पिसाबको तथा स्त्री जननेन्द्रियको संक्रमण) को समयमै उपचार गरेमा, नियमित गर्भवती जाँच गराएको खण्डमा, गर्भवती महिलाको पाठेघर तथा गर्भे शिशुका खराबी अनुसार उचित उपचार गरेमा, समय अगावै प्रसव हुन लागेको शंका लाग्ने बित्तिकै पाठेघरलाई शान्त बनाउने औषधि चलाएमा प्रसव रोक्न सकिन्छ । तर प्रसव व्यथा बढ्दै गएमा सघन उपचारको सुविधायुक्त अस्पतालमा रेफर गर्नु पर्दछ ।        गर्भवती महिला तथा गर्भे शिशुको स्वास्थ्य समग्रमा ठिक छ भने पूर्ण आराम, यथेष्ट सलाइन पानीका साथै आवश्यकता अनुसारको एन्टिबायोटिक औषधि, प्रसव रोक्ने औषधि, गर्भे शिशुको फोक्सो परिपक्व हुने औषधि दिएर गर्भावस्था लम्ब्याउन सकिन्छ । यदि पानीको थैलो फुटिसकेको, गर्भे शिशु वरिपरिको झिल्लीको संक्रमण भइसकेको, गर्भवती महिलामा मधुमेह, रक्तचाप, मुटुको एवं थाइरोइडको स्वास्थ्य समस्या भएको तथा गर्भे शिशुको मुटुको धड्कन असामान्य भएको, गर्भ भित्र शिशुको मृत्यु भैसकेको, गर्भे शिशु ३४ हप्ता भन्दा बढी भैसकेको एवं प्रसव व्यथा सक्रिय अवस्थामा पुगिसकेको भए प्रसव व्यथा रोक्नतर्फ लाग्नु हुँदैन । यस्तो परिस्थितिमा नवजात शिशुको लागि सघन कक्ष भएको अस्पतालमा नै प्रसव गराउनु पर्दछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्