प्रसुती रोगको बहिरङ्ग विभागमा निकैबेर सोधपुछ, शारीरिक जाँच पड्तालपछि अन्तिममा गर्भवतीको अवधि अनुसारको आवश्यक औषधिहरु लेखिदिएपछि प्रायसः गर्भवती महिला तथा तिनका अभिभावकहरुले सोध्ने गरेको प्रश्न हो – ‘के गर्भावस्थामा यो औषधि खानु हुन्छ ?’ औषधि सम्बन्धी विज्ञान नै लामो समय पढेर गर्भावस्थामा, स्तनपान गराईरहेकी महिलालाई कुन औषधि दिन मिल्छ, मिल्दैन ज्ञान सीप लिएका चिकित्सकहरुलाई यस्तो प्रश्न सोध्दै गरेका गर्भवती महिला एवं तिनका अभिभावकहरुले विभिन्न खाले जङ्क फुड, पानी पुरी खानु अघि यी खानेकुरा खानुहुन्छ कि हुँदैन ? आपूmले भान्सामा पकाउने तरकारी फलपूmल विषादी मिसिएको, माछा रसायन हालेको, मासु सडेगलेको छ, छैन हेक्का राखिदिएको भए कस्तो राम्रो हुन्थ्यो होला । जे होस् गर्भावस्थामा औषधि एवं अन्य खानेकुरा के खानुहुन्छ, के खानुहुँदैन भनेर जिज्ञासा राख्नु निकै राम्रो बानी हो । त्यसो त गर्भावस्थामा फोलिक एसिड, आईरन तथा क्याल्सियमको नियमित सेवन गर्नुपर्दछ । त्यसैगरी गर्भावस्थामा कुनै संक्रमण भएमा वा उच्च रक्तचाप, मधुमेह वा थाइरोइडको समस्या देखिएमा चिकित्सकको सल्लाहमा नियमित औषधि खानु पर्दछ । तर सम्बन्धित विशेषज्ञहरुले सुरक्षित छ भनि लेखिदिएका कतिपय आवश्यक प्रतिजैविक औषधि (एन्टिबायोटिक) तथा अन्य औषधिहरु अर्को पटकको भिजिटमा आउँदा खाएको हुँदैन । गर्भावस्थालाई बिगार गर्ला कि भनेर यी औषधि नखाएका कारणले हानी निम्ट्याउन सक्छ । जुन कहिलेकाहीँ निकै महँगो साबित हुनसक्छ । मेडिकल भाषामा गर्भावस्थालाई हानी पु¥याउने औषधिलाई टेराटोजेन भनिन्छ । टेराटोजेन भन्नाले निश्चित प्रकारको विकलाङ्ग, विरुप ल्याउन सक्ने, भ्रुण वा गर्भे शिशुको निश्चित विकासक्रममा नकारात्मक असर पु¥याउन सक्ने र मात्रा अनुसारको नकारात्मक प्रभाव देखाउन सक्ने क्षमता भएको औषधि बुझिन्छ । गर्भावस्थालाई नकारात्मक असर पुग्ने कारक तत्व (टेराटोजेन) बारे भन्नु पर्दा २५ प्रतिशत वंशाणुगत कारणले हुन्छ भने केवल २ देखि ३ प्रतिशत मात्र औषधिको नकारात्मक प्रभावका कारणले हुन्छ । बाँकी करीब ६५ प्रतिशतको भने कारण खुलेको हुँदैन । जुन वंशाणु तथा वातावरणको संयुक्त प्रभावको कारणले हुनसक्छ । किन असर पु¥याउँछ ? गर्भवती महिलाको स्वास्थ्यमा कतिपय यी औषधिले प्रत्यक्ष असर पुग्न सक्छ । जसले गर्दा शिशुको शरीरमा पनि अप्रत्यक्ष असर पुग्न जान्छ । कुनै कुनै औषधिले अक्सिजन वा अन्य पोषणयुक्त पदार्थ सालबाट छिर्न बाधा पु¥याउँछ । यसले गर्दा छिटो छिटो विकसित हुने तन्तु तथा अङ्गहरुलाई असर पु¥याउँछ । यी प्रारम्भिक तन्तुहरुबाट नै पछि निश्चित प्रकारको अङ्ग बन्ने हुनाले शारीरिक विकलाङ्ग उत्पन्न पनि हुन जान्छ । कुन औषधि कति मात्रामा प्रोटिनमा टाँसिन तथा चिल्लो (लिपिड) मा घुल्न सक्छ एवं उक्त औषधिको अणुको आकार र साल वा गर्भे शिशुले यसलाई टुक्राउन सक्ने क्षमताका आधारमा यसको घातकपनाको लेखाजोखा हुन्छ । यसको अलावा औषधिको आप्mनै रासायानिक अवगुण, साल नाघ्न सक्ने क्षमता र यसको गति, गर्भे शिशुमा पुग्ने औषधिको मात्रा, गर्भे शिशुलाई औषधिको प्रभाव भएको अवधी, साल र गर्भे शिशुको विकासक्रमको अवस्था अर्थात् गर्भे शिशु विकसित भईरहँदा औषधिको उपस्थितिले पनि उक्त औषधिको नकारात्मक मापन गरिन्छ । एफ डी ए वर्गीकरण मानव जीवनमा प्रयोग हुने औषधिहरुले पु¥याउन सक्ने नकारात्मक असरलाई मध्यनजर राखी कुनैपनि औषधि कतिको सुरक्षित भनि हेर्न अमेरिकी सरकारले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन भनेर एउटा निकाय खडा गरिराखेको छ । यहि निकायले नै विश्वका प्रायः औषधिहरुको सुरक्षा जाँच्ने गरेको छ । यहि एफ डी ए वर्गीकरण अनुसार मानिसहरुले सेवन गर्ने अधिकतर औषधिहरुलाई वर्ग ए देखि डी सम्म र वर्ग एक्स मा राखिएको छ । उदाहरणको लागि वर्ग ए का औषधिले गर्भे शिशुलाई कुनै नकारात्मक असर पु¥याउँदैन भने वर्ग एक्स का औषधि औषधिले गर्भे शिशुलाई निश्चित रुपमा खराब गर्दछ । गर्भ तुहाउन प्रयोग गर्ने औषधि, रक्सी, विकिरणयुक्त औषधि तथा पदार्थका साथै उच्च रक्तचापका, थाइरोइडका, मानसिक रोगका तथा क्यान्सरका कतिपय औषधिहरु यहि वर्गमा पर्दछन् । बर्जित औषधिको असर तीन चरणमा पहिलो चरण (डिम्ब निषेचत भएदेखि १७ दिन सम्म) यो अवधिको असर पूर्ण रुपमा घातक हुने वा नहुने प्रकारको हुन्छ । यो अवधिमा औषधिले डिम्ब निषेचित हुन वा निषेचित भैसकेको डिम्ब गर्भाशयको भित्री तहमा बस्न दिँदैन । त्यसैले यस अवधिमा प्रायसः गर्भ तुहिन्छ तर थाहा नहुन पनि सक्छ । किनकि यो अवधिमा अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरे नगरेसम्म गर्भ बसेको छ, छैन छुट्याउन गाह्रो हुन्छ । र, यस्तो महिलाले महिनावारी अलि टाढिएर बढी मात्रा रगत बगेको शिकायत गर्दछ । दोश्रो चरण (अङ्ग प्रत्यङग बन्ने बेलामा अर्थात् १८ दिन देखि ५५ दिन सम्मको अवधिमा) यो अवधि निकै महत्वपूर्ण छ । बर्जित गरिएको औषधिले निश्चित रुपमा विकलाङ्ग गराउँछ । तेश्रो चरण (५६ दिन अर्थात् ८ हप्ता पछिको अवधिमा) यो अवधिमा गर्भे शिशुको वृद्धि तथा विकासमा नकारात्मक असर पु¥याउँछ । जसले गर्दा कलेजो, फोक्सो जस्ता अङ्गहरुको पूर्ण विकास नहुने, समय भन्दा अगाडि नै मुटु भित्रका नली बन्द हुने हुन्छ । केटी शिशुमा भए जन्मजात प्रकारका पाठेघरमा खराबी देखिन्छ । रक्सी सेवन गर्ने बानी भएकी गर्भिणी महिलाको बच्चामा पनि रक्सीको प्रभावका विभिन्न लक्षण तथा चिन्हहरु देखा पर्दछ । बर्जित औषधिका असरहरुको नालीबेली कुनै समय गर्भवती महिलामा हल्का निद्रा लाग्ने थेलिडोमाईड नामक औषधिको सेवनले नवजात शिशुमा जन्मजात हातखुट्टा नहुने अर्थात् नबन्ने समस्या देखाप¥यो । यसले आधुनिक प्रसुती चिकित्सा क्षेत्रमा यति तहल्का मच्चाइदियो कि गर्भावस्थामा जथाभावी औषधि लेख्न जो कोही हच्कियो । त्यसैगरी गर्भावस्थामा ईस्ट्रोजेनयुक्त औषधिको प्रभावले कतिपय महिलामा पछि गएर अन्य औषधिले योनीद्वारको क्यान्सर गराएको तथा त्यस्तो महिला गर्भवती बन्न गाह्रो भएको देखियो । सिसा (धातु), धुम्रपान, बढी मात्रामा कफी, बेहोश पार्ने औषधिहरुले गर्भ तुहाउन सक्छ, जन्मजात विकलाङ्ग वा गर्भे शिशुको तौल कम गराउन सक्छ । जसले गर्दा नवजात शिशुको मृत्यु दर बढ्छ । धुम्रपानले आफ से आफ गर्भ तुहाउने वा साललाई समय अगावै पाठेघरको भित्ताबाट छुट्याउन सक्छ । यसैले गर्दा पाठेघर भित्रै गर्भे शिशुको मृत्यु हुन्छ । महिना नपुग्दै सुत्केरी बेथा शुरु हुन्छ । गर्भे शिशु वरिपरिको पानीको थैलो फुटाएर सानो सुतक हुन सक्दछ । यस्तै कुराबाट शिक्षा पाई ग्यास्ट्राइटिस भएकी गर्भवती महिलामा जथाभावी औषधि चलाउनु भन्दा गर्भावस्थाको पहिलो त्रैमासिकमा खासगरी जीवनचर्यामा परिवर्तन ल्याई, दोश्रो त्रैमासिकमा ग्यास्ट्राइटिसको लागि आवश्यक पर्ने झोल औषधि मात्र तथा तेश्रो त्रैमासिक देखि ग्यास्ट्राइटिसको चक्की तथा क्याप्सुल औषधि दिन थाल्यो । सन् २००८ क्यानाडामा गरिएको एक अध्ययन अनुसार करीब २० प्रतिशत गर्भिणी महिलामा एफडीए वर्गीकरण अनुसार बाट पनि बर्जित सी डी एक्स वर्गका औषधिहरु गर्भावस्था भरिमा एक न एक पटक प्रयोग गरेको पाइयो । र, कतिपय औषधिले अधिग्रो जाने तथा गर्भे शिशुको मृत्यु हुने गरेको पाइयो । पुरुष पार्टनर र स्तनपान गराईरहेकी महिलाको दायित्व कहिलेकाहीँ पुरुष पार्टनरको सेवन गरेको औषधिको कारण पनि गर्भ तुहिने सम्भावना हुन्छ । यी औषधिले वीर्यको उत्पादन तथा यसको गुणस्तरमा असर गरेर भ्रुण नै बन्न गाह्रो हुने तथा गर्भ बसिहाले पनि राम्रो नहुने भयो । मद्यपान सेवनकर्ता बाबुको बच्चामा मुटुको समस्या देखापर्न सक्छ । स्तनपान गराउने महिलामा प्रयुक्त औषधि आयोन बन्ने, नबन्ने खालको तथा त्यसको अणुको तौल कम भएको वा चिल्लो (लिपिड) मा सजिलै घुल्ने हो, होईनको आधारमा कतिपय औषधि सजिलै आमाको दुधबाट बच्चाको शरीरमा गई नकारात्मक असर पु¥याउन सक्छ । टेट्रासाइक्लिन, डाइजेपाम, मादक पदार्थ केही उदाहरण मात्र हुन् । त्यसैले जुनसुकै पनि औषधि दुध ख्वाएको ३० देखि ६० मिनेट पछि वा दुध ख्वाउनु अगाडि ३ देखि ४ घण्टा अगाडि खानु उपयुक्त हुन्छ ।
