सिन्धुलीका रमा थापा (नाम परिवर्तन) ले दोश्रो पटक बच्चा पाएको भोलीपल्ट सास फेर्न गाह्रो भएको गुनासो गरेपछि छातीको एक्सरे र मुुटुको ईसीजी गराउने क्रममा मुटुको समस्या रहेको देखियो । उनको मुटुको समस्या जन्मजात तवरमा हुने खालको नभई बाथरोगको जटिलताले हुुने खालको थियो । बढ्दो उमेरसँगै बाथरोगको जटिलता हुने खालको मुटुको समस्या क्रमशः बल्झिँदै जानसक्ने खतरा हुन्छ । गर्भावस्थामा नै नियमित गर्भ जाँचमा पनि मुटुको समस्या पत्ता लाग्छ तर त्यस्तो स्वास्थ्यसंस्था सुविधासम्पन्न र दक्ष स्वास्थ्यकर्मी भएको हुनुपर्छ । त्यसमाथि रमाले एकाध पटक मात्रै गाउँमै गर्भवती जाँच गराएकी थिईन् । डेलिभरीको बेला ठूलो अस्पतालमा आएका कारण धन्न ज्यान जोगियो भनौं । र, कतिपय मुटुका समस्याका लक्षण र गर्भावस्थामा देखापर्ने लक्षण चिन्हहरु झुक्किने खालको हुन्छ । अलि चनाखो भई विश्लेषण गरिएन भने गर्भावस्थामा मुटुको समस्या सजिलै मिस हुन्छ । सास फेर्न गाह्रो हुने, आलस्य लाग्ने, बेहोश हुन सक्ने, नाडीको गति छिटो हुने, गोडा सुन्निने तथा रगतको बढ्ता मात्राका कारण मुटुमा थप आवाज सुनिने आदि गर्भावस्थामा मुटुको समस्यासँग झुक्किने खालका लक्षण चिन्हहरु हुन् । तर नाडीको गति अनियमित हुने, छातीमा पानी जमेको लक्षण देखिने, घाँटीको नशा फुल्ने, सास फेर्न गाह्रो हुने कार्य एक्कासी उत्पन्न हुने, छाती दुख्ने, खकारमा रगत देखा पर्ने तथा मुटुमा फरकखाले र निरन्तर घ्यारघ्यार सुनिने चाहिँ गर्भावस्थामा मुटुको समस्याका पक्का लक्षण चिन्हहरु हुन् । गर्भावस्थामा जटिलता आईलाग्ने मेडिकल समस्याहरु मध्ये मुटुको समस्या पनि एक हो । नेपालमै पनि अस्पतालमा सुत्केरी हुने महिलाहरु मध्ये करिब एक प्रतिशतमा मुटु रोगको समस्या पाईएको छ । घरमै सुत्केरी हुने एवं प्राईभेटमा डेलिभरी हुनेहरुमा यस्तो समस्याको प्रष्ट तथ्यांक छैन । बाथज्वरोका कारक किटाणु विरुद्ध गुणस्तरीय प्रतिजैविक (एन्टिबायोटिक) औषधिहरुको व्यापक प्रयोगले यस्तो खाले विरामीको संख्याको कमी आएपनि नेपालमा अभैm पनि जन्मजात रुपमा मुटुमा खराबी भएका भन्दा बाल्यावस्थामा बाथज्वरो बिग्रिएर मुटुको भल्भमा असर पुगेका मुटुरोगी गर्भवती महिलाहरुको संख्या बढी छ । न्यूयोर्क हेल्थ एशोशियनले निर्दिष्ट गरे अनुसार सामान्य काम गर्दा पनि कुनै समस्या नदेखिने देखि आराम गरिरहँदा पनि सास बढ्ने, अप्ठ्यारो महशुश हुने, थकाई लाग्ने लक्षणका आधारमा मुटुको समस्यालाई चार प्रकारमा वर्गीकरण गरिएको छ । उक्त वर्गीकरण अनुसार गाम्भीयर्ताको आधारमा पहिलो प्रकारका मुटुको समस्या भएका गर्भवतीलाई ३६ हप्तामा, दोश्रोे प्रकारका मुटुको समस्या भएकालाई २८ हप्तामा र तेश्रो तथा चौथो प्रकार अर्थात् गम्भिर प्रकारको मुटु समस्या भएकालाई पहिलो पटक जँचाउन आएदेखि नै अस्पतालमा भर्ना गरी आवश्यक व्यवस्थापन गर्नुपर्दछ । किनकि गर्भावस्थामा रक्तसंचार प्रणालीमा व्यापक परिवर्तन आउँछ । त्यसमा पनि मुटुको बायाँ भेन्ट्रिकलबाट शरीरतर्पm फ्याँक्नुपर्ने रगतको मात्रा बढ्छ । सामान्य मुटुसँग मात्र यस्तो बढ्ता भार वहन गर्ने क्षमता हुन्छ भने रोगी मुटु फेल खाने बढ्ता सम्भावना हुन्छ । अतः जति बढी गाम्भीयर्ता, त्यति नै बढी जटिलता निम्तिने खतरा हुन्छ । मुटुको समस्या भएका गर्भवती महिलामा रक्तअल्पता, उच्चरक्तचाप, मोटोपन विकसित भयो भने तथा मुटु, श्वास प्रश्वास, मुत्र प्रणालीको लगायत अन्य कुनै संक्रमण भयो भने मुटुले फेल खान सक्छ । यसको अलावा गर्भवती महिलाको अधिक उमेर छ भने, मुटुको भित्ता बाक्लो भयो भने, पहिले पहिले पनि मुटुले फेल खाएको छ भने, जुम्ल्याहा बच्चा छ भने तथा नियमित रुपमा गर्भवती जाँच गराएन भने पनि मुटुरोगी गर्भवती महिलामा मुटु फेल खाने अवस्था आउँछ । त्यसो भएर विरामीको रक्तचाप, नाडीको चाल, श्वास प्रश्वास दर, शारीरिक तौल, पिसाबको मात्रा तथा शारीरिक तापक्रमका साथै पटक पटक पिसाब, रगत जाँचका साथै आवश्यकता अनुसार ईसीजी, इको र गर्भे शिशुको स्वास्थ्यस्थितिका लागि अल्ट्रासाउण्ड आवश्यकता अनुसार दोहो¥याउनुपर्ने हुन्छ । अलिकति हिँड्ने बित्तिकै सास बढ्ने, चाँडै थकाई लाग्ने जस्ता लक्षण चिन्ह भएका (न्यूयोर्क हेल्थ एशोशियनको वर्गीकरण अनुसार तेश्रो प्रकारको मुटुको समस्या भएका) तथा मुटुका विभिन्न भल्भहरुमा असर पुगीसकेका महिलालाई दोश्रो त्रैमासिकदेखि सुत्केरी सम्मै अस्पतालमै राखी विभिन्न विशेषज्ञहरु बीचको सामञ्जस्यता चाहिन्छ । यसका साथै खकारमा रगत देखा परेमा, लामो समय सम्म मुटु भट्याक भट्याक हानेमा, छाती दुख्नुका साथै एक्कासी सास बढेमा, बेहोश भएमा तथा मुटु रोगको जटिलता बढेमा पनि मुटुरोगी गर्भवती महिलालाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । मुटुरोगी गर्भवती महिलामा महिना नपुगी व्यथा लाग्ने समस्या हुनसक्छ । व्यथा लाग्न थालेको छनक मिल्नासाथ विशेषज्ञहरुको निगरानीमा सुत्केरी तथा सुत्केरी पश्चात्को व्यवस्थापन गर्नुपर्दछ । गर्भावस्थामा मुटुको समस्याका कारण गर्भवती महिलालाई प्रत्यक्षतः असर पुगेपनि गर्भे शिशुलाई विभिन्न खालका असर देखापर्न सक्छ । मुटुरोगका कारण महिना नपुगी सुत्केरी व्यथा लाग्ने अपरिपक्व तथा कम तौलका बच्चा जन्मिने, गर्भवती महिलाको तथा गर्भको बच्चाको मृत्यु हुने (प्रायसः मुटु फेल खानाले आमाको मृत्यु हुने भए पनि मुटु रोगका कारण फोक्सोमा पानी जम्ने, रक्तनली थुनिने, मुटुको भित्री तह पाक्ने कारणले पनि गर्भवती एवं सुत्केरी महिलाको मृत्यु हुनसक्छ ।), गर्भ तुहिने तथा नवजात शिशुमा पनि त्यस्तै मुटुको समस्या हुने (करीब १० प्रतिशतमा) आदि मुटुरोगका कारण गर्भवती महिला तथा गर्भे शिशुलाई पर्नसक्ने असरहरु हुन् ।
