IMG-LOGO

के हो मंकीपक्स ?

 मंगल, पौष १६, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

       यो एक प्रकारको भाइरल संक्रमण हो,यसको भाइरसले गर्दा मानवजाति तथा केही अरु प्राणीमा लाग्ने गर्दछ । सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस देखिएको थियो । हाल यो भाइरसको नाम परिवर्तन गरेर ‘एमपक्स’ राखिएको छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा यो भाइरस मानिसमा देखिएको थियो । यो भाइरसलाई क्लाड–१ र २ गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । अफ्रिकी देशहरुमा ‘एमपक्स’ अहिले पनि नयाँ नयाँ उपप्रजातिमा म्युटेसन हुँदै र देखिँदै जाने क्रम जारी छ ।      यो बिफर गराउने भाइरससँग मिल्दोजुल्दो हुन्छ । सन् १९८० मा बिफर उन्मूलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा विस्तारै मंकीपक्स देखा पर्न थालेको थियो । अफ्रिकाका साना स्तनधारी जनावर जस्तै बाँदर, मुसा, लोखर्केमा यो भाइरस भेटिएको छ । सन् २००३ मा अमेरिकामा निर्यात गरिएका जंगली जनावरहरुबाट पनि संक्रमण फैलिएको थियो । त्यसयता बर्सेनि प्रजातान्त्रिक गणतन्त्र कंगोमा कैयौं संक्रमण भेटिने गरेको छ ।      सन् २०२२ को मेमा युरोपबाट शुरु भएको यसको महामारी अमेरिका तथा अन्य विभिन्न मुलुकमा फैलिएको थियो । त्यो बेला यसको कारक भाइरस प्रजाति क्लेड–टु थियो । त्यस्तै सुडानमा शरणार्थीहरुमा देखिएको संक्रमण भने क्लेड–वान थियो । त्यसो त क्लाड–२ लाई क्लाड–१ भन्दा कम घातक मानिन्छ । क्लाड–१ को मृत्युदर पहिले १० प्रतिशत सम्म देखिने गरेकोमा क्लाड–२ को प्रकोपमा भने मृत्युदर१ देखि ३ प्रतिशतसम्ममा सीमित भएको देखिन्छ । सन् २०२३ को जून÷जुलाईतिर यो संक्रमण ११० भन्दा बढी देशमा देखिँदा करिब ८७ हजार भन्दा बढी संक्रमित भएका र सयौंको मृत्यु भएको थियो । सर्ने तरिका      ‘एमपक्स’को संक्रमणले शरीरमा आउने घाउ–खटिराका श्रावमा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ । स्पर्श गर्ने, चुम्बन तथा यौन सम्पर्कका बेला संक्रमण सर्दछ । त्यस्तै श्वास–प्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ । संक्रमितले प्रयोग गरेको सामान तथा कपडाको प्रयोग गर्दा पनि यसको संक्रमण हुने सम्भावना रहन्छ । संक्रमित जनावरहरुको मासु खाँदा, शिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । लक्षण चिन्ह      संक्रमण भएको एकदेखि २१ दिनसम्ममा ‘एमपक्स’का लक्षण देखा पर्ने गर्छ । शुरुको अवस्थामा भने लक्षणहरु अन्य भाइरल संक्रामक रोगसँग मिल्दोजुल्दो नै हुन्छ । डाबर आउने, ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्िरन्थ सुन्निने आदि हुन्छ । यी लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार, मुख, घाँटी हातखुट्टा तथा तिघ्राको भित्री भागमा डाबरहरु देखिन थाल्छ, जुन पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै र झर्ने गर्छन् ।ती घाउ÷डाबर सबैमा पीडादायक नहुन पनि सक्छ । घाउ, पानी फोका वा डाबर सबैभन्दा बढी गुप्ताङ्ग र गुदद्वार वरिपरि पनि हुने हुन्छ । सबै खटिरा हराउँदासम्म संक्रमित व्यक्तिले रोग अन्यमा सार्न सक्छ । विगतमा संक्रमितहरु अधिकांश पुरुष समलिङ्गी हुने गरेको भने पनि अहिले विपरीत लिङ्गीसँगको शारीरिक सम्पर्कबाट पनि यो भाइरस फैलिंदै गएको देखिन्छ । कतिपय महामारी फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका पाइएको छ ।      ‘एमपक्स’ सामान्यतयाः दुईदेखि चार हप्तामा आफैं निको हुने गर्छ । कतिपयमा भने निमोनिया, एनकेफलाइटिस, अन्धोपन जस्ता जटिलता देखिन सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखा पर्न सक्छन् । यस अवधिपछि भने रोग विस्तारै निको हुँदै जान्छ । गर्भवती महिला, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भने जटिलताहरु उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरुमा अरुसंक्रमणको सम्भावना, न्युमोनिया, इन्सेफलाइटिस, आँखाको ज्योति गुम्ने आदि हुनसक्छ । साथै, गर्भवती महिलाको बच्चा खेर जाने हुनसक्छ । परीक्षण र उपचार      ‘एमपक्स’का लक्षणहरु अरु संक्रमणहरु जस्तै ठेउला, लुतो, दादुरा आदिसँग मेलखाने भएकोले छुट्याउन गाह्रो हुन्छ । घाउ–खटिरा, फोका तथा नाक–मुख, घाँटी आदिको स्वाब लिएर पीसीआर प्रणालीबाट यो भाइरल संक्रमण पत्ता लगाइन्छ ।      लक्षण र जटिलताको आधारमा यसको उपचार गर्ने गरिन्छ । ‘एमपक्स’ विरुद्धको विशेष एन्टी–भाइरल नभएपनि पहिले बिफरमा प्रयोग हुने एन्टीभाइरल जस्तै टेकोभाइरिम्याट ‘एमपक्स’को उपचारमा प्रयोग गर्ने गरिएको छ । ‘एमपक्स’ विरुद्धको खोप भए पनि नेपालमा भने उपलब्ध छैन । यसका साथै संक्रमण भएपछि सकेसम्म घरमै आइसोलेसनमा बस्नुपर्छ । कोभिड संक्रमणमा जस्तै अन्यसँग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा अरुलाई चलाउन नदिने, मास्क लगाउने, साबुनपानीले बेलाबेला हात धुने, डाबर उठेको भाग सुख्खा र खुला छोड्ने गर्नुपर्छ ।      त्यस्तै प्रशस्त पानी पिउने, पोषिलो खाना खाने तथा दुखाइ र ज्वरोको लागि सिटामोल जस्ता औषधि खान सकिन्छ । त्यस्तै फोका फुटाउने कोटयाउने भने गर्नुहुँदैन । विशेषगरी ब्याक्टेरियल संक्रमणको जोखिमलाई निगरानी गर्दै उपचार गरिन्छ । लक्षणहरु धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ । रोकथाम      पहिले बिफरको लागि उत्पादन भएको खोप अहिले ‘एमपक्स’को रोकथाममा प्रयोगमा आएको छ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित व्यक्तिलाई दिइने गरेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ्य संगठनले सल्लाह दिएको छ ।      रोजगारको सिलसिलामा खाडी मुलुक गएर फर्केका नेपालीहरुमा ‘एमपक्स’को जोखिम उच्च छ । सन् २०२४ को अन्त्यतिर खाडी मुलुकबाट फर्केका एकाध नेपालीहरुमा पनि यो संक्रमण देखिएको थियो ।र, विशेषत ः नेपाली श्रमिकहरु खाडी मुलुकहरुमा ओहोरदोहोर गरिरहने कारण आगामी दिनमा यस संक्रमण र त्यसबाट बच्ने उपायबारेमा पनि चासो र जानकारी लिनु आवश्यक छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्