प्रमुख प्रशासकीय अधिकृत, बेथानचोक गाउँपालिका
धनकुटा जिल्ला पाख्रीवास नगरपालिकाका वडा नं. ५ मा जन्मनु भएका राजेन्द्र भण्डारी विगत १० वर्ष देखि प्रशासकीय क्षेत्रमा सरकारी कर्मचारी सेवा सुरु गर्नुभयो । २०७४ मा शाखा अधिकृत हुँदै यस अघि सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई कार्य गर्नुभयो । हाल बेथानचोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्नु भएका राजेन्द्र भण्डारी नयाँ संघीय संरचना अनुरुप गाँउगाँउमा पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको गति बढ्दै गएको तर्क गर्नुहुन्छ । ग्रामीण भेगमा भौगोलीक विकटता पर्याप्त आर्थिक श्रोतको अभावको कारण विकास निर्माणले तिव्रता दिन नसकेको भनाई राख्नु हुन्छ । जनप्रतिनिधि र कर्मचारी वर्ग दुवै जनताका सेवक भएकाले नीति विधि र पद्धती अनुरुप कार्य गरिदा विकास निर्माणले तिब्रता पाउने धारणा राख्नुहुन्छ । प्रमुख प्रशासकीय भण्डारीसँग रेडियो एवीसी एफ.एम.मा समग्र बेथानचोक गाँउपालिकाको विकासको अवस्था र कोभिड-१९ प्रकोपमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन कर्मचारीको उचित प्रवन्ध गरी विकास निर्माण प्रक्रियालाई गतिशिल ढङ्गबाट अघि बढाउन के के गर्न सकिएको छ भन्ने सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
कोभिड-१९ दोश्रो लहर प्रकोप नियन्त्रण तथा रोकथामको लागि कर्मचारी वर्गको प्रवन्ध कसरी मिलाउनु भयो ?
कोभिड-१९ प्रकोपले विश्वलाई नराम्ररी प्रभावित पारेको छ । पछिल्लो समय नेपालमा कोभिड-१९ ले निक्कै तहस नहस नै बनायो । यो विषम परिस्थितिमा मानव जीवनको प्रमुख रक्षा गर्नु पहिलो प्राथमिकता हो । त्यही अनुरुप हाम्रो कर्मचारी वर्ग सरकारले निर्धारण गरेको परिधि भित्र रहेर आ-आफ्नो जिम्मेवारी पुरा गर्नुभयो । स्वास्थ्य क्षेत्रमा अग्रह भागमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीहरु वडा-वडामा रहेका स्वास्थ्य संस्थामा गई कोभिड-१९ को सचेतना फैलाउने कार्य भयो । विपन्न तथा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा घरघरमा पुर्याउनका लागि परियो । निःशुल्क औषधी वितरण कार्य गरियो । रेयुकाइसँग समन्वय गरेर जेष्ठ नागरिकहरुको आँखाको सल्यक्रिया निःशुल्क औषधी वितरण गरियो । विदेशबाट स्वदेश फर्केका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरियो । अग्रभागमा दैनिक खटेका स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहन भत्ताको प्रवन्ध गरेको छ । स्वास्थ्य क्षेत्रका सबै कर्मचारीले जनसेवामा जुटेको जानकारी गराउन चाहन्छु ।
९ औँ गाउँसभाका विकास प्रथमिकता के के छन् ?
विकास भन्ने वित्तिकै निरन्तर चल्ने प्रक्रिया हो । सबै क्षेत्रको दिगो विकास लक्ष्य प्राप्त हुने गरी कार्य गरिनु पर्छ । हाम्रो बेथानचोक गाँउपालिकाले पनि अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढेको छ । ५२ करोड ३६ लाखको अनुमानीत आगामी बर्षको वजेट प्रस्तुत भएको छ । आन्तरिक आय स्रोतबाट ११ करोड राजश्व संकलन गर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य क्षेत्रको गुणस्तर विकास पहुँच विस्तारका लागि १ करोड २० लाख, शिक्षा क्षेत्रको लागि १ करोड २० लाख कृषि क्षेत्रको समग्र विकास गरी उत्पादनमा आत्म निर्भरता प्रदान गर्न उद्यमशिलताको विकास गरी किसानको जीवनमा हाँसो र खुसी ल्याउन कृषिमा यान्त्रिकीकरण बैज्ञानिक खेति प्रणालीलाई अवलम्बन गर्ने नीति लिएको छ । त्यस्तै पर्यटन क्षेत्रको विकास आन्तरिक तथा बाह््य पर्यटन भित्र्याउन पर्यटन क्षेत्रको पूर्वाधार विकसामा प्राथमिकता दिइएको छ । पूर्वाधार तर्फ सडक सञ्जाल विस्तार भइसकेका छन ्। तिनिहरुको स्तर उन्नती ढल विकास र सडक कालो पत्रे गर्ने र गाँउपालिकाका वडा भवनहरु निर्माण सम्पन्न गर्ने योजना बनाएको छ ।
विकास निर्माणका प्रमुख चुनौतीहरु चाहीँ के के हुन ?
विकास निर्माणका आर्थिक श्रोतको अभाव छ । जनतामा विकासका असिमित चाहना र आवश्यकता छन् भने अर्को तर्पm भौगोलिक अवस्था उच्च खालका डाँडाँपाखा पहराका कारण वित्तिय श्रोतको संकलनमा जटिलता छ । गाँउपालिकाहरुमा आफ्नै आय श्रोत कम हुनु संघ र प्रदेशमा निर्भर रहनु अर्को चुनौती हो । त्यस्तै विकास प्रति मानिसहरुको हेर्ने दृष्टीकोणमा भिन्नता छ । सामाजिक तुलनामा अहिले विकास भएका छन् । विकास भएको छ कि छैन हिजो र आज के परिवर्तन भए जनताका जीवन स्तरमा के परिवर्तन आए आर्थिक सामाजिक रुपान्तरणको परिसूचकको अवस्था मापन गर्न सक्नुपर्छ अनि मात्र सत्य तथ्य आउनसक्छ ।
व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन कर्मचारीहरु पुरानै ढर्रामा चले जन सेवामा खासै परिवर्तन आएन भनिन्छ ? यसमा तपाई के भन्नु हुन्छ ?
कर्मचारीहरु भनेका ऐन नियम कानुन, नीति नियम कार्यान्वयनमा ल्याउने हो । त्यसमै रहेर देशको समग्र विकास र समृद्धिमा सहयोग पुर्याउने हो । जनप्रतिनिधिहरु कानुनमा भन्दा व्यवहारमा बढि जोडबल गर्ने, प्रगति बेसी कसरी हाँसील गर्ने भन्ने हुन्छ । कर्मचारीहरु नीति विधि पद्धती भित्र रहेर कार्य गर्नु पर्छ । यसो भन्दै गर्दा व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनमा जनप्रतिनिधि र कर्मचारी वर्ग नङ्ग र मासुको सम्बन्ध हुनुपर्छ । दुबैको उद्देश्य जनताहरुलाई छिटो छरितो सेवा प्रवाह गर्ने, सामाजिक आर्थिक रुपान्तरण गर्ने देशमा सुशासन पारदर्शीता र जवाफदेहीता कायम गरी देशलाई समृद्धि बनाउने हो । यसमा सबैलाग्नु पर्छ भन्न चाहन्छु । पर्याप्त वित्तीय श्रोतको प्रवन्ध भयो भने विकासको गति छिटो हुन्छ ।
