मरेर पनि न्याय पाँउदिनन् अरे
नियम र कानुन बिकेको छ रे
पाँउदिन म छोरी......
पाँउदिन म छोरी.....!!
सुनिता बुढा क्षेत्रीको स्वरमा बजारमा आएको यो तीजको गीत काभ्रेको महाभारत गाउँपालिका वडा –२ हाल पनौती बजार बसोबास गर्ने ममता काफ्लेकी आमा गीताकुमारी काफ्लेको जीवनसँग ठ्याक्कै मिल्दोजुल्दो छ । ममता काफ्ले तिनै काभ्रेली चेली हुन् जस्लाई अमेरिकामा तीन साता अघि उनकै श्रीमान् नरेश भट्टले हत्या गरेर लास समेत टुक्राटुक्रा पारी बेपत्ता बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकाको भर्जिनिया जेल चलान गरिएका नरेश भट्ट निवृत्त अमेरिकी सेना हुन् । जानकारहरुका अनुसार नरेश सेनामा र ममता नर्स पढिरहेका बेला फेसबुकको माध्यमबाट चिनजान हुँदै मायाप्रेममा परेका थिए ।
ममता र नरेशको बिबाह २०७७ मङ्सिर २५ गते भएको थियो । ममता २०७८ साउन १० गते अमेरिका पुगेकी थिइन् । ममता काफ्लेकी आमा गीताकुमारी भन्छिन् – एक वर्ष हाम्री छोरीलाई फकाएर देउ भन्यो , हामीले पनि पढेकी छोरीले बुझेकी होली भनेर बिहे गरिदियौं, अहिले छोरीको सास पनि छैन लास पनि छैन । छोरी हराएको कुरा उसकी साथीले भनेपछि हामीले ज्वाइँलाई पटकपटक फोन गर्यौं तर फोन उठेन ।
ममताकी आमाले भनिन् – छोरीको साथी मार्फत फोन गर्दा ज्वाइँले यताको र उताको समय नमिल्दा कुरा हुन नसकेको बताएका थिए । ज्वाइँले ममताकी आमालाई छोडेको भोइस म्यासेजमा भनिएको छ – तपाईंको टाइम मिल्दा मेरो मिलिरहेको छैन । मेरो मिल्दा हजुरको नमिलि रहेको रैछ । मैले धेरै ट्राइ गरेको हजुरलाई फोन गर्न, फोन लागिरहेको छैन । ममता घर नआएको २÷३ दिन भैसक्यो। खै कता ...? जहाँ पहिला बस्थी....जहाँ एकचोटि बस्थी नि.... जहाँबाट लेराथिम नि.‘.. त्यहाँ गा छ कि ?अर्को ठाउँमा बस्थी.... त्यहाँ गा छ कि ? उसले आफ्नो सामानहरु सबै लगिसक्या छ । बेसिक सामानहरु सबै लग्या छ, खै कस्कोमा बसिराछे ? कहाँ गैराछे ? सम्पर्कमा आ छैन । हाम्रो पनि सम्पर्कमा आ छैन ममता ।
नरेशले आफ्नै स्वास्नीको हत्या गरेर सफेद झुठको सहाराले आफन्त, पत्रकार र प्रहरीलाई गुमराहमा पारेको देखिन्छ । नरेशले योजनाबद्ध रुपले ममताको हत्या गरेको आशंका अमेरिकी प्रहरीको छ । जुलाई ३० तारीखअघि नरेशले वालमार्ट सुपरमार्केटबाट तीनवटा धारिला चक्कु किनेको र भोलिपल्टै भुइँ सफा गर्ने केमिकल खरिद गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । स्थानीय नेपाली समुदायप्रति अनुदार नरेशले झुठको सहारा लिएर सबैतीर चोखो हुन खोजेको देखिन्छ । सासुको पटकपटकको फोनलाई बेवास्ता गर्दै झुठो कुरालाई सत्य बनाउन खोजेको कुरा अहिले स्पष्ट भएको छ ।
त्यसो त सच्ची मैनालीले ममता काफ्लेबारे सोधिएका प्रश्नलाई अपराधीले कतिसम्म झुठो बोल्दो रहेछ भन्ने कुरा अहिले नरेशले गरेको कुराकानी हेरेर विश्वभरका सबै नेपालीले थाहा पाएका छन् ।
ममता बेपत्ता घटनाले अमेरिकी ग्रीनकार्ड र अस्ट्रेलिया÷युरोपको पिआर छ भन्दैमा केटाको चालचलन नबुझी आफ्ना छोरीचेलीलाई विवाह गर्न हुँदैन भन्ने कुरा सबैले एकपटक सोच्नुपर्ने भएको छ । विशेषत केटाको बाल्यकाल, किशोर अवस्था, शिक्षा, उमेर सम्पूर्ण आनीबानी बुझेर जानेर मात्र छोरीचेली दिनुपर्छ । अमेरिका, युरोप भन्नासाथ खुशी भएर छोरीहरूलाई सुम्पंदा नरेश भट्ट जस्ता अपराधीहरुको पासोमा पर्न सक्छन् ।
अपराधी जस्तोसुकै सम्पन्न देश पुगेपनि अपराध गर्न पछि पर्दैनन् । बिएससी नर्सिङ गरेकी ममताको कंचनपुरका नरेश भट्ट (ममता भन्दा १० वर्ष जेठो) सँग विवाह भएको थियो । छोरी जन्मिएपछि ममताको स्याहार गर्न आएकी सासु र लोग्नेले कुटपिट गरेको कुरा माइती पक्षले बाहिर ल्याएको छ ।
नरेशले ममतालाई ३० जुलाई राति हत्या गरेको २२ दिनपछि प्रहरीले सत्यतथ्य पत्ता लगाएर नरेशलाई जेल पठाएको छ । अझै ममता काफ्लेको लासबारे प्रहरीले केही सार्वजनिक गरेको छैन । यो घटनाले सबै सचेत र जागरुक भएका पनि भएका छन् । भर्जिनियाका नेपाली समुदाय र पत्रकार सच्चीको साथले त्यो अपराध पत्ता लगाउन प्रहरीलाई ठूलो बल पुगेको हुनुपर्छ । आउँदा दिनमा प्रहरीले सत्यतथ्य बाहिर ल्याउला नै । ममता काफ्लेको न्यायको लागि अहोरात्र खटेर यावत सूचनाहरुलाई बाहिर ल्याउने सच्ची मैनाली र गुणराज लुइँटेलको योगदान महत्वपूर्ण छ ।
कस्को विश्वास गर्नु र खै
पलभरमा मारिदिन्छन्,
जीवनभरको कल्पना देखाइ
बीच बाटोमा छोडीदिन्छन्
दःुखीको मुटु रोएर ........
