स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजीत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को सोमबार पनौती रंगशालामा समुद्घाटन गरिएको छ । पनौती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हिजोदेखि सुरु भएको खेलमा पहिलो दिन भलिबल र कबडी खेल प्रतियोगिता भएको थियो । नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको प्रतियोगितामा हाइजम्प, लङजम्प, त्रिपलजम्प, शटपुट, रिलेदौड, ज्याभलिङथ्रो लगायतका खेल हुने शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मात्र नभई अन्तराष्ट्रिय रुपमा समेत खेलकुदको स्तरीय विकासले राम्रो पहिचान सान कायम रहने बताउनुभयो । नगर प्रमुख भण्डारीले नगरपालिकाले नगर भित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास, शिक्षकहरुलई समय सापेक्ष तालिमको प्रवन्ध गरेको उल्लेख गर्नुभयो । नगर प्रमुख भण्डारीले प्राविधिक सिप सहितको शिक्षा आजको आवश्यकता भएकाले संघ र प्रदेश सरकारसँग समन्वय गरेर नगरका सामुदायिक विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न पहल पदमी गर्ने बताउनुभयो । विद्यार्थीहरुको शैक्षिक विकास स्तर वृद्धि गर्नुका साथै अतिरिक्त क्रियाकलापम खेलकुद, नृत्य, गायन जुन सुकै क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सक्षम बनाउन शिक्षक वर्ग, अभिभावक सबै मिलेर अघि बढ्नु पर्ने धारणा नगर प्रमुख भण्डारीले राख्नु भयो । कार्यक्रममा नगर उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य,जिल्ला खेलकुद विकास समिति अध्यक्ष शानविर लामा सामाजिक विकास समितिका संयोजक विपेन्द्र लामा नगरका जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र शिक्षक वर्गको कार्यक्रममा सहभागीता रहेको थियो । २५ वटा विद्यालयका १ हजार १ सय १९ जना खेलाडीको सहभागीता रहेको र पौष १ देखि ३ गते सम्म प्रतियोगिताहरुमा भाग लिने शिक्षा शाखा अधिकृत पुष्पा कुमारी शर्मा अर्यालले बताउनुभयो । विजयी खेलाडीहरुलाई शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिने अधिकृत महेश्वर जंगमले बताउनु भयो ।
