IMG-LOGO

दलहरूलाई चुनाव लाग्यो  एमाले काभ्रेमा टिकटको विवाद 

 मंगल, पौष २२, २०८२  --

       देशब्यापी चुनावी माहोल बनिरहेका बेला काभ्रेमा पनि दलहरूलाई चुनावको चटारोले छोएको छ । काभ्रेमा नयाँ र पुराना दलहरूले समानुपातिकको सिफारिसपछि प्रत्येक्षतर्फका उम्मेदवारहरुको सिफारिस धमाधम गर्न थालेका छन् । उम्मेदवारी सिफारिस कै क्रममा एमाले काभ्रेमा विवाद उत्पन्न भएको छ । क्षेत्र नम्बर दुइमा निबर्तमान सांसद गोकुल प्रसाद बाँस्कोटाको एकल सिफारिस प्रति बिमति भएको छ ।

       आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा गोकुलप्रसाद बाँस्कोटा एकल उम्मेदवार सिफारिस भएपछि एमालेभित्र विवाद उत्पन्न भएको हो । आइतबार नेकपा एमाले काभ्रे क्षेत्र नम्बर २ मा उम्मेदवार छनोटका लागि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसेको थियो । बैठकमा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको नाम भेलामा प्रस्ताव गरिएको थियो । भेलामा उपस्थित दुई तीहाई भन्दा बेसीले बाँस्कोटाकोमा सर्वसम्वत गर्नुपर्छ भनेको एक जिल्ला नेताले बताए । अशोक व्यान्जुसहित जिल्लाका नेताहरू कुमार थापा, भीम न्यौपाने हरिशरण दाहाल, विमला कुमारी चौलागाइ (शर्मा) र रजनी बैदारको नाम भने चर्चा गरिएको एक जिल्ला सदस्यले बताए । सहभागीहरूले केन्द्रले पठाएको विधिअनुसार उम्मेदवार छनोटका लागि लामो समय बहस गरे । अन्तिममा प्रतिनिधिसभा क्षेत्र नम्बर २  समन्वय कमिटीका संयोजक कृष्णप्रसाद दाहालले दुईतीहाइ बेसीले नाम लिएको हुँदा गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस भएको घोषणा गर्दै बाहिरिएको बैठकमा सहभागी एक जिल्ला सदस्यले जानकारी दिए ।

       एक नेताले भने, ‘बैठकमा उम्मेदवारमा नाम उठेका व्यक्तिहरूले विधिसम्मत नाम पठाउन माग गरेका थिए । एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न आयोजित बैठकमा संयोजक दाहाल नै निर्णयमा नपुग्दै माइन्यूट लिएर बैठक कक्षबाट हिड्न लागेपछि केहि समय होहल्ला भएको थियो ।’ बैठकमा कुनै पनि निर्णय नभएको बताउँदै उम्मेदवार भनेर प्रस्तुत गरिएको व्यक्तिहरूको विषयमा छलफल हुँदाहुँदै संयोजकले माइन्यूट बोकेर बाहिरिएको दाबी गरे । सुरुमै संयोजकले बैठकको एजेण्डा एउटा मात्र भएको र सोही विषयमा मात्रै छलफल गर्न सुझाएका थिए । बैठकमा करीव २५ जनाले आफ्नो भनाई राखेको बताइएको छ ।

       त्यसक्रममा अन्य नेता, कार्यकर्ताले पार्टीको विधिअनुसार उम्मेदवार सिफारिस गरिनुपर्ने भन्दै संयोजकलाई रोक्न खोजेका थिए । क्षेत्र नं. २ को उम्मेदवार छनोटमा के भएको भन्ने जिज्ञासा राख्दा छलफलमा सहभागी दुई तिहाइले नै यो पटकको प्रतिनिधि सभाको निर्वाचनमा गोकुलप्रसाद बाँस्कोटाको नाममा सर्वसम्वत गरी उम्मेदवारी छनौट गरी पठाउनुपर्छ भनेपछि निर्णय गरी गोकुलको नाम जिल्ला कमीटीलाई सिफारिस गरी पठाएको कुरा संयोजक कृष्णप्रसाद दाहालले जानकारी दिए । बैठकमा काभ्रे क्षेत्र नम्बर २ भित्र पर्ने जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरू, त्यस क्षेत्रका एमालेबाट निर्वाचित मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्ष, त्यस क्षेत्रका पालिका कमिटीका अध्यक्षहरू, वडा समितिका अध्यक्षहरू समेत सहभागी थिए । हिजो बसेको एमाले काभ्रेको अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा सम्पन्न बैंठकले काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ र काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ समन्वय समितिले सिफारीस गरेको नाम प्रदेश कमिटिमा पठाएको छ ।

चार पालिका मध्ये एक उपाध्यक्ष सहित तीन अध्यक्षको असहमति

       काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ को बैठकले निर्णय नै नगरी सर्वसम्मत भएको भन्दै बास्कोटा उम्मेदवार सिफारिस भएपछि त्यस निर्वाचन क्षेत्रका ७ पालिका मध्ये ४ पालिका मध्ये एक उपाध्यक्ष र तीन अध्यक्षले असहमति प्रकट गरेका छन् । धुलिखेल, बनेपा, बेथानचोक अध्यक्षहरु र पाँचखालको कमिटीका उपाध्यक्षले विज्ञप्ति नै जारी गरेर सर्वसम्मत रूपमा चयन नभएको भन्दै सिफारिस प्रति असहमति जनाएका छन् ।

काभ्रे १ मा एमालेबाट १० जना उम्मेदवार सिफारिस

       काभ्रे–१ बाट एमालेले आगामी प्रतिनिधिसभा चुनावका लागि १० जनालाई  उम्मेदवार सिफारिस गरेको छ । सिफारिस हुनेमा एमाले केन्द्रीय सदस्य अमित लामा सहित ९ जना पुरुष र  महिलातर्फ नवीना लामा रहेका छन् । यस्तै चन्द्र लामा, रेशम लामा, राकेश लामा, टुल्कु लामा, रामहरि सुवेदी, कुलचन्द्र अधिकारी, कान्छामान तामाङ (रक्तिम) दीपक चौलागाईं लगायतलाई उम्मेदवार सिफारिस गरेको छ ।

एमाले काभ्रेका सामुपातिक सूचिमा तीन परे

       नेकपा एमालेले पेश गरेको समानुपातिक सूचीमा काभ्रेका तीन नेता परेका छन् । ११० जनाको समानुपातिक सूचीमा तेमालका इन्द्र बहादुर तामाङ, पाँचखालकी भक्तकुमारी लामा र बनेपाबाट सुमित्रा भोछिभोया रहेका छन् । नेकपा एमाले काभ्रे जिल्ला कमिटीले समानुपातिक सूचीमा समावेश गर्नको लागि १३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तामाङ भूमी अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष हुन् । तामाङ गत निर्वाचनमा तेमाल गाउँपालिकामा अध्यक्षको उम्मेदवार समेत भएका थिए । यस्तै भक्तकुमारी लामा एमाले बागमती पदेश कमिटी उप–सचिव हुन् । यस्तै भोछिभोया अखिल नेपाल महिला संघको केन्द्रिय सदस्यको जिम्मेवारीमा छिन् ।

काभ्रेबाट कांग्रेसको समानुपातिक सूचिमा केहि परेनन्

       नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभाको समानुपातिक बन्द सूचीमा कोहि पनि परेनन् । निर्वाचन आयोगमा पार्टीले बुझाएको बन्द सूचीमा काभ्रे कांग्रेसका कुनै पनि नेता परेनन् । काभ्रे कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जनाको नाम सिफारिस गरेको थियो । हर्षजित लामा, ललिता किङरिङ, हरिबहादुर बल, मिरा नेपाली, उद्धव प्रसाद कोइराला र बाबुराम गिरीको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको थियो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट १३ जनाको समानुपातिक तर्फ नाम सिफारिस भएको थियो । प्रचण्डराज प्रधान, योगेन्द्रनाथ कर्मचार्य, श्याम लामा, दिल लामा, लिला नेपाल, तस्विर लामा, जितकृष्ण श्रेष्ठ, माइली दनुवार, मन्जु शाही ठकुरी, रिता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी र ई. निलकमल शाहीको नाम सिफारिस भएको थियो । कांग्रेस पार्टीले समानुपातिक बन्द सूचीमा एकजना पनि नपारेर काभ्रे जिल्लालाई उपेक्षा गरेकोमा जिल्लाका कांग्रेसीहरु रुस्ट भएका छन् ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्