IMG-LOGO

सुतेको काङ्ग्रेस ब्युँझियो    काभ्रे लगायत ७७ जिल्लामा बिरोध प्रदर्शन 

 मंगल, मंसिर ३०, २०७७  टाइम्स टिम 

गत आम चुनावमा इतिहासकै नराम्रो पराजित भोगेको काङ्ग्रेस यत्रो बेथितिमा पनि मौन थियो । मानौं नेपाली काङ्ग्रेस नै छैन जसरी  सुतेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार नेकपा सरकारका विरुद्ध ७७ जिल्लामा सडक प्रदर्शन गर्‍यो  । तनहुँमा पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता एकाएक तातिएर सडक प्रदर्शनमा उत्रिएका हुन् । कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको  काङ्ग्रेसको बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सोमबार सरकारका विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको थियो । यत्रो भ्रष्टाचार हुँदा, जनताले पाउने स्वास्थ्यको नैसर्गिक अधिकारमा नेपाली काङ्ग्रेसले सामान्य बक्तब्य बाहेक केही दिएको थिएन । कोरोना महामारीले जनताको ज्यान लिंदा नेपाली काङ्ग्रेसले सरकारलाई हायल कायल गर्न सक्थ्यो त्यो पनि गरेन । बल्ल सुतेको  काङ्ग्रेस बिउँझेको छ ।
ढिला भए पनि नेपाली काङ्ग्रेसले हिजोको ७७ जिल्लाको बिरोधसभामा कांग्रेसले आफ्ना वरिष्ठ नेता पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वंयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धि जस्ता दर्जनौँ मुद्दामाथी विरोध गर्‍यो । कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएता पनि आक्रोशित कार्यकर्ताले सो नियम पालना नगरेको देखियो  । 
सरकारले अलोकतान्त्रिक क्रियाकलाप गरेको र लामो अन्तरालपछि गठन भएको स्थिर सरकार भए पनि जनताको अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको बेला एतिहासिक पार्टी नेपाली काङ्ग्रेसको बिरोधले जनतामा प्रतिपक्षी पार्टी छ भन्ने आभाष भएको छ । कांग्रेसले ७७ वटै जिल्लामा आफ्ना केन्द्रीय नेताहरुलाई बिरोधसभामा खटाएको थियो । जसअनुसार हिजो काभ्रेको बनेपास्थित गोदामचोकमा भएको सभामा पूुर्व उप-प्रधानमन्त्री एवं नेता गोपालमान श्रेष्ठले जनताको आास्था र विश्वास गुमाएको केपी ओली नेतृत्वको वर्तमान सरकार जनता प्रति उत्तरदायी नभएको आरोप लगाउनु भएको छ । भ्रष्टाचारमा लिप्त रहेको सरकारले कोरोनाबाट प्रताडित रहेका जनतालाई मलमपट्टि लगाउन नसकेको भन्दै उहाँले अधिनायकवाद तर्फ उन्मुख भएको सरकारलाई काङ्ग्रेसले ठेगान लगाउने दावी गर्नु भयो । काङ्ग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले जनता प्रति असंवेदनशील, गैह्र जिम्मेवार सरकारले शासन चलाउने नैतिक अधिकार गुमायो भन्ने संकेत स्वरुप देश भरी विरोध सभा गरिएको जानकारी गराउनु भयो । आफूलाई वीपी कोईरालासँग दाँजेर योग्य राजनीतिज्ञ भन्ने केपी ओलीलाई दिवा  सपना नदेख्न भन्दै उहाँले राजावादीहरु सडकमा आउनु ओली सरकारको कर्तुतका कारण रहेका उल्लेख गर्नु भयो । अर्का केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कम्युनिष्टको अधिनायकवादलाई नेपालबाट सदाका लागि विदाई गर्न तयार रहेको बताउनु भयो । गोदामचोकबाट शुरु भएको र्‍याली तिनदोबाटोमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई नेपाली काङ्ग्रेस काभ्रेका सभापति मधुप्रसाद आर्चायले सम्वोधन गर्दै सस्तो लोकप्रियताका लागि वर्तमान सरकारले काम गरिरहेको आरोप लगाउनु भयो । भ्रष्टाचार सरकारबाटै भईरहेको भन्दै उहाँले तनहँु घटनाबाट काङ्ग्रेसलाई थप उर्जाशील र सचेत बनाएको उल्लेख गर्नु भयो । काङ्ग्रेस काभ्रेका सचिव दिनेश लामाले सञ्चालन गर्नु भएको कार्यक्रममा पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादे, काङ्ग्रेस काभ्रेका उप-सभापति गोबिन्द बहादुर थापा,युवा नेताहरु तिर्थ लामा, गणेश लामा, सि.बि लामा,महेश खरेल, रमेशप्रसाद हुमागाईं,काङ्ग्रेसका भातृ एवं शुभेच्छुक संघ, संस्थाका  प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । हिजोको बिरोध सभामा वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालार्ई सम्बोधन गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्