IMG-LOGO

 डाडापारी क्षेत्रको ग्रामोन्नती विद्यालयको पक्की भवन बन्यो

 मंगल, मंसिर १६, २०७७  हरिनाथ न्यौपाने 

 विनाशकारी भूकम्प गएको त्यो दिन, राम बहादुर वाइबा झल्झली सम्झिदै भक्कानीए  । भर्खरै बनाएको कक्षाकोठा भत्किदा उनलाई आफ्नो घर पनि भत्केको पत्तै थिएन । जनश्रमदान बाट ६÷७ महिना अघि मात्रै माटो ढुङ्गाबाट  बनाइएको १४ कोठे विद्यालय भूकम्पले पूर्ण रुपमा क्षति भएपछि अब कदापी बनाउन सकिदैन भन्ने वाइबाको भित्री मनमा परेको थियो । तर गत मंगलबार एडिबी को आर्थिक सहयोगमा सुविधा सम्पन्न २१ कोठे पक्की भवन हस्तान्तरण कार्यक्रममा भने उनै ग्रामोन्नती माध्यमीक विद्यालयका प्रधानाध्यापक वाइबा दंग हुँदै जोसका साथ औपचारीक कार्यक्रम सञ्चालन गरिरहेका थिए । विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको श्री ग्रामोन्नती माध्यामीक विद्यालयको २१ कोठे विद्यालय भवन निर्माण सम्पन्न पश्चात् गत मंगलबार हस्तान्तरण भएको हो । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भई  नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को विपद उत्थानशिल विद्यालय परियोजना मार्फत  करिब १० करोड ३१ लाख लागतमा निर्माण गरिएको उक्त भवन डाँडापारि क्षेत्रकै अहिलेसम्मको सुविधा सम्पन्न भवन हो । सम्पन्न भएको विद्यालय भवन निर्माण कम्पनीबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) लाई हस्तान्तरण गर्दै क्रमशः गाउँपालिका र गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । विद्यालय हस्तान्तरण तथा समुद्घाटन कार्यक्रम भई रहदा कक्षा ९ कि छात्रा याङ्दोन लामा (महाभारत–४ महादेवटार घर) भने निकै खुसी थिइन् । नयाँ भवन, नयाँ कक्षा कोठामा अब फरक ढङ्गले प्रविधिमैत्रि वातावरणमा पढ्न पाउनेमा उनी आशाबादी थिइन् । अन्यत्रका विद्यार्थीहरुले नयाँपन देखेर कक्षा ६, ९ र ११ मा भर्ना गर्न समेत आउन थालेको र आफ्नै विद्यालयका विध्यार्थी समेत ९९ प्रतिशत हाजिर हुन थालेको प्र.अ वाइबाले बताउनु भयो । साइन्स ल्याब, लाइब्रेरीको तत्काल आवश्यकता रहेको उहाँको भनाई छ । डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको श्री ग्रामोन्नति माध्यमिक विद्यालय भवन हस्तान्तरण तथा समद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ । सबै तहका सरकार मिलेर शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक रहेको भन्दै उहाँले भूकम्पबाट क्षति भएका पुरातात्विक सम्पदाको पुनर्निर्माण गरिने बताउनु भयो । कार्यक्रममा बागमति प्रदेशसभा सदस्य रत्न ढकालले दुर्गम बस्तिलाई सरकारले पहिचान गरिसकेकाले अब महाभारतको विकासमा तिनै तहका सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनु भयो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निजी विद्यालय नरहेको महाभारतमा सामुदायिक विद्यालयहरुको स्तरोन्नतीका लागि सबैले सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । विद्यार्थीको चाप अत्याधिक रहेको तर  भौतिक पूर्वाधारको कमि रहेकोले सकेसम्म छिटो सुविधायुक्त विद्यालय निर्माणका लागि उहाँले पुनर्निर्माणका सिइओलाई आग्रह गर्नु भएको थियो । बालमैत्री, अपाङ्गमैत्री, प्रविधिमैत्री र वातावरणमैत्री विद्यालयको समुद्घाटन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, सहसचिव गोपाल प्रसाद अर्याल , केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) निर्देशक रामशरण सापकोटा, उपनिर्देशक डा. युवराज पौडेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार (जिमाली) काभ्रेका प्रमुख सच्युतराज उप्रेती, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा काभ्रेका प्रमुख देवकुमार बराल, परामर्श दाताका डेपुटि टिम लिडर जिवन सिबाकोटी, इन्जिनियर बाबुराम देवकोटा, महाभारत वडा नं ५ का वडाअध्यक्ष रविन मोक्तान, स्थानीय समाजसेवी सुजन स्याङ्तान,   पत्रकार महासंघ काभ्रेका  सचिव नगेन्द्र अधिकारी, सहसचिव मधुसुदन तिमल्सिना लगायत पत्रकार, अभिभावक, विद्यार्थी, शिक्षक, स्थानियको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेको कार्यक्रममा  शिक्षक विद्यानाथ मोक्तानले स्वागत मन्तव्य राख्नुभयो भने  विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम ठाडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सोहि अबसरमा ज्ञवालिले नमोबुद्ध नगरपालिकाको दाप्चामा रहेको दाप्चा माध्यमिक विद्यालयको अनुगमन समेत गर्नुभएको थियो । 


 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्