नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औ स्थापना दिवसको अवसरमा फोनिज काभ्रेद्वारा दृष्टिविहीन अभिभावकका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरको नेतृत्वमा सामग्री वितरण गरिएको हो । ’समृद्धिको आधार, पूर्ण समावेशी सञ्चारझ भन्ने नाराका साथ सोमबार बनेपामा एक कार्यक्रमको आयोजना गरि बालबालिकाहरूको लागि शैक्षिक सामाग्री वितरण गरिएको थियो । फोनिज काभ्रेले तीन दृष्टिविहीन परिवारका ५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । प्रतिव्यक्ति दुई दर्जन कापी, एक थान स्कुल झोला, एक थान इङ्क पेन, एक÷एक प्याकेट सिसाकलम, इरेजर र कटर प्रदान गरेका छन् । शैक्षिक सामग्री वितरण गर्दै फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरले दृष्टिविहीन अभिभावकका बालबालिकाको शिक्षा दिक्षामा राज्यसँगै सम्पूर्ण समाजको पनि दायित्व भएकोले थोरै भएपनी सहयोग गरेको बताउनुभयो । गत बर्ष अनाथ बालबालिकाहरूको लागि शैक्षिक सामग्री वितरण गरेको जानकारी दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै अगाडी बढ्ने थापा मगरको भनाइ रहेको छ । कार्यक्रममा फोनिज बागमती प्रदेशका बिभागीय प्रमुख जगत तामाङ, पूर्व इञ्चार्ज पेमा लामा, प्रेस सेन्टर बागमती प्रदेशका सचिव रोजन तामाङ, फोनिज काभ्रेका सल्लाहकार उजाड रक्तिम लगायतको उपस्तिथि रहेको थियोे ।
