IMG-LOGO

विश्वकप सेमिफाइनलमा प्रवेश

 मंगल, असार ३०, २०८३  टाइम्स रिपोटर 

    फिफा विश्वकप २०२६ अब आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलहरू सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बाँकी रहेका चार शक्तिशाली टोलीहरूले अब उपाधि उचाल्ने लक्ष्यसहित फाइनल प्रवेशका लागि कडा प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलको अन्तिम चरणसम्म आइपुग्दा साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका छन् । पछिल्लो क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलको यात्रा तय ग¥यो ।
    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरेका थिए । त्यस्तै, अर्को क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै इङ्ग्ल्यान्डले पनि सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि नै स्पेनले बेल्जियमलाई र फ्रान्सले मोरक्कोलाई पराजित गर्दै अन्तिम चारको यात्रा पक्का गरिसकेका थिए । सेमिफाइनलको समीकरण निकै रोचक बनेको छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन् । युवा प्रतिभा र उत्कृष्ट लयमा रहेको स्पेन र अनुभवी खेलाडीहरूको साथ रहेको फ्रान्सबीचको यो भिडन्त निकै उच्चस्तरीय हुने अपेक्षा गरिएको छ । त्यस्तै, अर्को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्ड एक–अर्कासँग भिड्ने छन् ।
    लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना र विश्व च्याम्पियन बन्ने दृढ लक्ष्य बोकेको इङ्ग्ल्यान्डबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल प्रशंसकहरूको ध्यान तानेको छ । विश्वकपको फाइनल खेल जुलाई १९ मा न्यु योर्क न्यु जर्सी स्टेडियममा हुनेछ । सेमिफाइनलका यी दुई खेलले नै अब विश्व फुटबलको महाकुम्भमा कसले उपाधि चुम्नेछ भन्ने स्पष्ट पार्नेछन् । अनुभव, रणनीति र खेलाडीको व्यक्तिगत प्रदर्शनले नै अबको फाइनल यात्रा तय गर्नेछ । विश्वभरका समर्थकहरू अब यी दुई बहुप्रतिक्षित सेमिफाइनल खेलहरूको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्