काभ्रे, धुलिखेल /आर्थिक बर्ष २०८२/८३ को लागि काभ्रेपलाञ्चोक ‘पूर्णखोप सुनिश्चित जिल्ला’ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले हिजो धुलिखेलको प्रेम वेङक्वेटमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र सदस्य सचिव रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
प्रदेशका स्वास्थय मन्त्री किरण थापा मगरले प्रदेश सरकारले शिक्षा र स्वाथ्यको पहुँच विस्तार गरी नागरिकहरलाई निरोगी बनाउन भूमिका खेलेको बताउनुभयो । काभ्रे जिल्लाका सबै स्थानीय सरकार, सम्बन्धीत स्वास्थ्य शाखा, सञ्चालित स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यलय काभ्रे, जिल्ला समन्वय समिति काभ्रे सबैको अतुलनीय योगदानले जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा सम्पन्न भएको धारणा स्वास्थ्यमन्त्री थापा मगरले राख्नुभयो । यसको गरिमालाई जोगाइ आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा पु¥याउनु पर्ने तर्क स्वास्थ्यमन्त्री थापामगरले गर्नुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय काभ्रे, सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीहरु सबैको पवित्र कार्यले सम्पन्न भएको औलाउनु भयो । समन्वय प्रमुख गौतमले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएको खण्डमा मात्र बिकास र समृद्धि सम्भव हुने जनाउनुभयो ।
पूर्णखोप कार्यक्रमको अपेक्षित उपलब्धिहरू ः
स्थानीय श्रोत र साधनको परिचालनबाट खोप सेवाले दिगो रूप पाएको हुनेछ, पूर्ण खोपका लागि स्थानीय स्तरमा साझेदार निकायहरूको साझेदारी र सहभागितामा बृद्धि हुनेछ, खोप बाट बचाउन सकिने रोगहरूको रोगाणुदर र महामारी उल्लेख्य रूपमा कमी भई रोग शुन्य अवस्था कायम हुँदै जाने छ ।
पूर्णखोप दिगोपनका आधारहरु ः
स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा वडा तथा स्थानीय तह भित्र जन्म देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूको वर्षमा १ पटक (माघ–फाल्गुन भित्र) घरधुरी सर्वेक्षण गर्ने, खोप छुट हुनाको कारणको पहिचान र बिश्लेषण गरि भविष्यमा त्यस्ता समुदाय, वस्तीमा नियमित खोप निरन्तर उपलब्ध गराउने योजना तयार भएको हुनुपर्दछ, सर्वेक्षण बाट पहिचान भई खोप दिएका बच्चाहरूको अभिलेख तथा प्रतिवेदन अध्यावधिक हुनुपर्दछ, खोप दिई पूर्णखोप भएका बालबालिकाहरूलाई अनिवार्य पूर्णखोप कार्ड उपलब्ध गराउनुका साथै कार्डको हिफाजतको बारेमा समेत परामर्श गर्नु पर्दछ । माथिका सबै आधारहरु पुरा गरिसकेपछि मात्र काभ्रे जिल्लाका सबै पालिकाहरु पूर्णखोप सूनिश्चितता घोषणा भइ काभ्रेपलाञ्चोक जिल्ला नै पूर्णखोप सूनिश्चित घोषणा भएको हो ।
१६ देखि २३ महिना सम्मका ३ हजार १ सय ५५ जना बालबालिकाले १५ महिनाको अवधिमा पूर्णखोप पाएको सुनिश्चित भएपश्चात बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले पूर्णखोप सुनिश्चितता घोषणा गर्न अनुमति प्रदान गरेसँगै पूर्णखोप सुनिश्चितता घोषणा गरेको हो । यसअघि जिल्लाका सबै स्थानीय पालिकाहरु पूर्णखोप सुनिश्चित घोषणा भइसकेका छन् । सबैभन्दा पहिले नमोबुद्ध नगरपालिकाले २०८२ साल चैत २५ गते र अन्तिममा बनेपा नगरपालिकाले २०८३ साल असार ८ गते आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेका थिए ।
मण्डनदेउपुर नगरपालिकाले चैत २९ गते, भुम्लु गाउँपालिकाले २०८३ वैशाख १४ गते, पाँचखाल नगरपालिकाले वैशाख १७ गते, तेमाल गाउँपालिकाले वैशाख २३ गते, रोशी गाउँपालिकाले वैशाख ३१ गते पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका थिए । पनौती नगरपालिका र चौरीदेउराली गाउँपालिकाले जेठ ६ गते, महाभारत गाउँपालिकाले जेठ १३ गते, खानीखोला गाउँपालिकाले जेठ १४ गते, बेथानचोक गाउँपालिकाले जेठ २२ गते, धुलिखेल नगरपालिकाले असार २ गते र बनेपा नगरपालिकाले असार ८ गते पूर्णखोप सुनिश्चितता घोषणा गरेका थिए ।
कार्यक्रममा १३ वटा पालिकामध्येबाट मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला वाल सञ्जाल काभ्रे अध्यक्ष आयुष न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्थमणी न्यौपानेले गर्नुभएको थियो ।
