सामुदायिक विद्यालय भध्ये शैक्षिक ऐतिहासिक महत्व बोकेको श्री चक्रज्योति माध्यामिक विद्यालय बनेपा नगरपालिका वडा नं. १३ को पक्की प्राविधिक भवनको आइतबार उद्धघाटन भएको छ । २०३० सालमा स्थापित उक्त विद्यालय ३ वर्ष अघि बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा कक्षा ९ देखि १२ सम्मको इन्जीनियरिङ प्राविधिक भवन निर्माण सम्पन्न भएपछि वविध कारणबस उद्धघाटन हुनसकेको थिएन । आइतबार एक भव्य समारोहका बीच बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बाँनियाले प्राविधिक भवनको उद्घाटन गर्नुभएको हो । समारोहको विसिष्ट अतिथि सामाजिक बिकासमन्त्री कञ्चन चन्द्र बादे हुनुहुन्थ्यो । विद्यालयका अध्यक्ष रोशनकुमार धौगोडाको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक रामकृष्ण अधिकारीले विद्यालयको शैक्षिक अवस्था भावि शैक्षिक कार्ययोजनाको बारेमा प्रस्तुत गर्नुभएको थियो । बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं. १३ का अध्यक्ष रामलाल दुवाल लगायतको समारोहमा आतिथ्यता रहेको थियो । डिएलपियुआइ (DLPUI) बाट ७० लाख, बनेपा नगरपालिकाबाट १० लाख, सामाजिक बिकास मन्त्रालय अन्तरगत सामाजिक कार्यालय धुलिखेलबाट २० लाख र जिल्ला समन्वय समिति काभ्रेबाट १५ लाख उक्त भवन निर्माणमा आर्थिक सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
