बेलर इन्टरनेशनल एकेडेमी बनेपाले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाईका साथै तथा विदाइ कार्यक्रम शनिबार धुलिखेलमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्व एवं व्यवसायी ÷समाजसेवी होमप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि घिमिरेले बेलर एकेडेमी काभ्रे जिल्लाकै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको बताउनुभयो । विद्यालयकि प्रिन्सिपल इन्दु थापाले बेलर इन्टरनेशनल एकेडेमीले हरेक विद्यार्थीभित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने वातावरण निर्माण गर्दै आएको उल्लेख गर्दै शैक्षिक उत्कृष्टतासँगै नेतृत्व विकास, सञ्चार सीप, सिर्जनशीलता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक शिक्षालाई समान महत्व दिँदै आएको बताउनुभयो । अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक, प्रविधिमैत्री वातावरण र नैतिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यका साथ निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रमको विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू तथा लामो समयदेखि निरन्तर सेवारत विभिन्न विषयका शिक्षक–शिक्षिकाहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो । साथै कक्षा ११ र १२ मा १०० प्रतिशत उपस्थिति जनाउने विद्यार्थी वीरबल पोटेका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू नम्रता तिवारी, आशिका सुवाल, बासुदेव खड्का लगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्याब्सन काभ्रेका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, क्याम्पस प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक,पत्रकार तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस वर्षको कक्षा १२ को राष्ट्रिय परीक्षामा बेलर इन्टरनेशनल एकेडेमी शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको थियो । यस वर्ष विद्यालयबाट ५६५ जना विद्यार्थीहरू उत्तीर्ण भएको प्रिन्सिपल थापाले जानकारी दिनुभयो ।
