काभ्रे । बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विपी राजमार्गको वर्तमान अवस्था तथा पुनर्निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा मन्त्रीद्वयले सम्बन्धित निकायका अधिकारीसँग राजमार्गको क्षति, सञ्चालन अवस्था तथा पुनर्निर्माणको प्रगतिबारे जानकारी लिँदै पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण कार्यलाई तीव्र गतिमा कार्य अघि बढाई सकेसम्म छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । वर्षायामका कारण प्रभावित बनेको विपी राजमार्गलाई सुरक्षित र सहज रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र प्रभावकारी कार्यान्वयनमा कतिपनि ढिलाइ नगर्न निर्देशन दिइएका छन् ।
