IMG-LOGO

बालबालिकाले जनप्रतिनिधिसँग के के माग गरे ?

 मंगल, भदौ ३०, २०८३  -

    बनेपा/बालबालिकासँग जनप्रतिनिधि कार्यक्रममा बालबालिकाहरुले नेतृत्व, शैक्षिक विकास, भौतिक पूर्वाधार निर्माण, नागरिक सुरक्षा तथा सडक सुरक्षा समेतका माग राखेका छन् । बनेपा नगरपालिकाले ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकासँग जनप्रतिनिधि’ कार्यक्रम आयोजना गरेको छ । बनेपा नगर बाल सञ्जालकी अध्यक्ष रोजी ठाडा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बालमैत्री स्थानीय शासनको प्रगतिबारे जानकारी गराउँदै नगर प्रमुख शाक्यले बालबालिकाले उठाएका सवाललाई नगरपालिकाले प्राथमिकता र महोत्वका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बालबालिकाले शिक्षाको गुणस्तर, विद्यालयमा देखिएका समस्या, सडकमा भोग्नुपरेका कठिनाइ, विद्यार्थी लागुऔषधमा फस्ने अवस्था तथा बालबालिकामाथि हुने दुव्र्यवहार लगायतका विषय उठाएको जानकारी दिँदै उनले आवश्यक निर्णय र कानुन निर्माणका लागि शिक्षा शाखालाई जिम्मेवारी प्रदान गरिएको उल्येख गर्नुभयो । ‘बालबालिकाले शिक्षाको गुणस्तर, विद्यालयमा भएका समस्या, सडकमा भोग्नुपरेको अवस्था, विद्यार्थी लागुऔषधमा फसेको तथा दुव्र्यवहारमा परेका विषय उठाएका छन्’– नगर प्रमुख शाक्यले भन्नुभयो ः ‘यी सवालको सम्बोधनका लागि आवश्यक निर्णय र कानुन निर्माणमा नगरपालिकाले पहल गर्नेछ ।’ नगर उपप्रमुख विमला सापकोटाले बालबालिकाले उठाएका सवाल जायज रहेको बताउँदै नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने विषय तत्काल कार्यान्वयन गर्ने बताउनुभयो । विद्यालयमा छात्राका लागि आवश्यक स्यानिटरी प्याड, शौचालय, खानेपानीलगायतका सुविधाको अवस्थाबारे अनुगमन गरिने जनाउनुभयो ।
    शिक्षा शाखा प्रमुख उपसचिव देवराज निरौलाले बालबालिकाको हितका लागि नगरपालिकाले गरेका महत्वपूर्ण काम, आगामी योजना तथा शिक्षा क्षेत्रका विविध विषयबारे सहभागी बालबालिकालाई जानकारी गराएका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भगवती तामाङले नगरपालिकाले प्राथमिकतामा राखेका बालबालिकासम्बन्धी महत्वपूर्ण अभ्यास र प्रयासबारे जानकारी दिँदै बालमैत्री स्थानीय शासनका बारेमा बालबालिकाहरुलाई जानकारी गराउनुभएको थियो । बाल सञ्जालकी सचिव गोपिनी तिमल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रममा ३० जनाभन्दा बढी बालबालिकाले मौखिक रूपमा तथा दर्जनौँ विद्यार्थीले लिखित रूपमा आफ्ना जिज्ञासा जनप्रतिनिधिसमक्ष राखेका थिए । बालबालिकाले सडकपेटीको अवस्था, विद्यालयमा पुस्तकालयको आवश्यकता, बालमैत्री स्थानीय शासनअन्तर्गतका कार्यक्रम, शिक्षाको गुणस्तरलगायतका सवाल, भौतिक पूर्वाधार निर्माण, नेतृत्व र व्यक्तित्व विकासका सवालमा जनप्रतिनिधिसँग सवाल गरेका थिए ।
    कार्यक्रममा वडा अध्यक्षहरू कमल घिमिरे, रमेश दाहाल, श्याम श्रेष्ठ, बलराम अधिकारी र राम दुवालगायत कार्यपालिका सदस्य, सूचना शाखा अधिकृत सुरेश थापा, शिक्षा शाखाका शिवराज त्रिपाठी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सपना वली र सुनिता यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । बनेपा नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न कार्यक्रम तथा नीतिगत पहल गर्दै आएको जनाएको छ । नगरपालिकाले बालबालिकाको वस्तुगत विवरण प्रकाशन गर्नुका साथै बालमैत्री स्थानीय शासनको पञ्चवर्षीय लगानी योजना २०७९÷८० देखि २०८३÷८४ सम्म कार्यान्वयनमा ल्याएको छ । उक्त योजनाअन्तर्गत वडा नं. १, २, ३, ६, ७, ८, ९, १२ र १४ मा वडास्तरबाट लगानी गरिएको नगरपालिकाले जनाएको छ ।
    अन्तर्राष्ट्रिय बालश्रमविरुद्ध दिवस २०२४ को अवसरमा वडा नं. २, ३, ५, ११, १२ र १४ लाई बालश्रममुक्त वडा घोषणा गरिएको थियो । नगरपालिकाका सबै सामुदायिक विद्यालयमा १६ वटा र संस्थागततर्फ नाइटिङ्गेल माध्यमिक विद्यालयमा एक गरी १७ वटा विद्यालयमा बाल क्लब गठन भई क्रियाशील रहेका छन् । समुदायस्तरमा समेत बाल क्लब गठनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरसभा तथा कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न नीतिगत निर्णय गरिएका छन् । त्यस्तै, किशोरी समूह सञ्जाल गठन कार्यविधि, २०८२ निर्माण गरिएको छ भने बनेपा नगरपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ समेत कार्यान्वयनमा आएको छ । नगरपालिकाले वडा तहमा समेत बालबालिकासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास गरिरहेको जनाएको छ ।
उत्कृष्ट प्रश्न कर्तालाई सम्मान र पुरस्कार
    बालबालिकासँग जनप्रतिनिधि कार्यक्रममा उत्कृष्ट प्रश्नकर्तालाई बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले सम्मान सहित पुरस्कृत गर्नुभएको छ । चण्डेश्वरी सृष्टीकान्त मावि नालाकी छात्रा अर्पर्णा बस्नेत प्रथम, काभ्रे वहिरा विद्यालय बनेपाका छात्र शिवशक्ति लामा दोश्रो, सान्तोना तर्फ क्षितिज इङ्गलिस सेकेण्डरी स्कुलका छात्र रिजन तिमल्सिना, समता मावि बनेपाका कविता विसुन्के सम्मानित भएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्