गत असोज ८ गतेदेखि ४ दिन सम्म परेको अविरल वर्षाको कारण् देश भरी नै ठूलो जनधनको क्षति पुगेको छ । अविरल वर्षातका कारण काभ्रेमा पनि सडक संजाल क्षतविक्षत देखि ग्रामिण क्षेत्रका घरहरु पूर्ण क्षति पुगेको छ । रोशी गाउँपालिका–९ मंगलबार स्थित विनोदप्रसाद अधिकारीको ढुङ्गामाटोले बनेको दुई तले घर भत्केर पूर्ण क्षति हुन पुगेको छ । नमोबुद्ध नगरपालिका विपि राजमार्ग चौकी डाडा नजिकै रोशी खोलाको बाढीको वेगले निर्माण गरिएको करिब २ सय मिटरको मोटर बाटो डाइभर्सन पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
विपी राजमार्ग चौकीडाडा डाइभर्सन निर्माणको प्रारम्भ
पहिरो तथा कटानको कारणले अवरुद्ध विपी राजमार्गको चौकीडाडा, घुमाउने, डालवेसी, माम्ती, गिम्दीवेसी, पिप्ले लगायतका स्थानमा जेसीवी, र स्काभेटरको प्रयोगबाट पहिरो पन्छाइ डाइभर्सन निर्माण कार्य प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलले जनाएको छ । यात्रा गर्ने यात्रुहरुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ः १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न भनेको छ ।
विपी राजमार्ग चौकीडाडा सडक खण्ड यातायात सुचारु हुन दुई दिन थप लाग्ने जनाएको छ । त्यस्तैगरी काभ्रे भन्ज्याङमा पनि सडक भासिएको छ । त्यस्तै पनौती नगरपालिका वडा नं. १० पार्टीखर्कबाट बेथानचोक–४ खहरेखोलाम सडक खण्ड ठाउँठाउँमा बाढी पहिरोले सडक अवरोध भएको छ । सडक सुचारुका लागि डोजर प्रयोग गरी बाटो पन्छाउने कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्ड ३३ किमी जीपलाइन नजिकै पहिरो जाँदा ४ घण्टा सम्म सडक अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रे प्रमुख गोपालप्रसाद अधिकारी र ट्राफिक, प्रहरीको टोलिको पहलमा डोजरले पहिरो पन्छाइ अवरुद्ध सडक सूचारु गरेको थियो ।
ठूलीटारका विष्णुलाई खोलाले बगाउँदा निधन
गत असोज ८ देखि ४ दिन सम्म परेको अविरल वर्षातका कारण आएको बाढीमा परेर एकजनाले ज्यान गुमाएको छ । धुलिखेल नगरपालिका वडा नं. ९ ठूलीटार निवासी विष्णुप्रसाद गौतमको डाफे खोलाले बगाएर निधन भएको छ ।
