अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्ती मनाउने सन्दर्भमा विश्वव्यापी नेपाली कविता प्रतियोगिता सम्पन्न गरेको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न एक भव्य समारोहमा वाचनका निम्ति छनोट गरिएका ३१ वटा कविता वाचन गरिए ।
मूर्धन्य साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ नाटककार अशेष मल्ल, जापानी भाषाका प्राज्ञ एवं साहित्यकार हारुहितो नोजु तथा प्रा. डा. व्रतराज आचार्यलाई सम्मानपूर्वक विशिष्ट श्रोताका रूपमा आमन्त्रण गरिएको उक्त कार्यक्रम निरन्तर तीन घण्टासम्म अविच्छिन्न रूपमा प्रवाहित रह्यो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, कवि तथा समालोचक डा. नेत्र एटमले राष्ट्रकवि घिमिरेको बहुआयामिक साहित्यिक व्यक्तित्वका विविध पाटाबारे प्रकाश पार्दै माधव घिमिरेले दीर्घ जीवनको साहित्य साधनाबाट नेपाली लोकजीवन, लोकसंस्कृति र प्रकृतिको आलम्वनद्वारा मानवतावाद र राष्ट्रियताको शंखनाद गरेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रकविकी सुपुत्री ज्योति पौडेलले अत्यन्त भावुक मुद्रामा ‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो कविता वाचन गर्नुभयो ।
अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्माले राष्ट्रकविको सम्झनामा अनेसासले हरेक वर्ष विश्वव्यापी कविता प्रतियोगिता आयोजना गरी साहित्यको श्रीवृद्धि गरिरहेको धारणा व्यक्त गर्नुभयो । स्मरणीय छ –झन्डै दुई दशक अनेसासको नेतृत्व तहमा रहनुभएका विश्वकर्माको पहिलो प्रस्ताव बमोजिम राष्ट्रकविको जन्मजयन्तीमा अनेसासद्वारा नेपाली कविता प्रतियोगिता आयोजना गर्ने परम्परा बसालिएको हो ।
अनेसास बीओटीकी पूर्वसभापति तथा वर्तमान सल्लाहकार गीता खत्रीले साहित्य साधकहरूलाई जीवित अवस्थामै सम्मानित तथा पुरस्कृत गर्नुपर्ने धारणा अभिव्यक्त गर्नुभयो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसास राजनीति तथा मुनाफानिरपेक्ष संस्था भएकाले यसमा गुट–उपगुटको कुनै अर्थ नरहने धारणा राख्नुभयो । न्यूजर्सी निवासी कवि राजेन्द्र श्रेष्ठले शार्दूलविक्रीडित छन्दमा विरचित ‘राष्ट्रकवि माधव घिमिरे’ शीर्षकको कविता हुबहु वाचन गर्नुभयो । अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले लगातार र अटुट रूपमा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा लगभग सात दर्जन कवि, सर्जक तथा भावकहरूको समेत अटुट रुपमै तीन घण्टासम्म अविच्छिन्न उपस्थिति रह्यो ।
अनेसास केन्द्रीय कार्यसमितिले जनाए अनुसार प्रतियोगिताका लागि १७५ वटा कविता प्राप्त भएका थिए भने त्यसबाट ३१ वटा कविता वाचनका लागि छनोट गरिएका थिए । वाचनका लागि छनोट गरिएका ३१ वटा कविता मूल्याङ्कनका सर्वमान्य आधारहरूसहित नाम, ठेगाना र चिनारी लुकाई कोडिङ गरेर तीन जना निर्णायकलाई छुट्टाछुट्टै पठाइएको थियो । एक जना निर्णायकलाई अरू निर्णायक को(को थिए भन्ने जानकारी नदिई प्राप्त अङ्कहरू जोडेर औसत निकालिएको थियो । ती मध्ये सर्वाधिक अङ्क प्राप्त गर्ने पाँच वटा कविता पुरस्कारका लागि छनोट भएका हुन् ।
डा.नेत्र एटम, डा. गीता त्रिपाठी तथा कवि चन्द्र गुरुङद्वारा गरिएको मूल्याङ्कनअनुसार निम्नलिखित कविहरू प्रथम, द्वितीय तथा तृतीय पुरस्कारका लागि चयन हुनुभएको छ ः
प्रथम – जीवन ‘आरोही’ राई –के म नेपाली होइन र ?
द्वितीय – ईन्दु भट्टराई – चाँदनी
तृतीय – ईश्वरीप्रसाद रिजाल ‘उल्कापातु’ – राष्ट्रकविका बैकिनी र मेरो बगावत
तृतीय – हिरा भट्ट ‘बदमास नम्बर दुईु’ – अक्षर रोदन
तृतीय – प्रताप चौलागाई – जब उर्लन्छ खोला
कार्यक्रमको सुरुवातदेखि समापनसम्म कविता श्रवण गर्नुभएका जापानी नागरिक तथा प्रसिद्ध साहित्यकार हारुहितो नोजुले अनेसासले प्रवासमा नेपाली भाषा तथा साहित्यको सम्वर्धनका लागि गरेका हरेक गतिविधि प्रशंसनीय रहेको अभिप्राय राख्नुभयो । कार्यक्रमको समापन गर्दै अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीले अनेसासले आयोजना गरेका प्रतियोगिताहरूमा विजयी कविताहरूको सङ्ग्रह अङ्ग्रेजीमा समेत अनुवाद गरी प्रकाशित गरिने र त्यसलाई निकट भविष्यमै विश्वबजारमा लगिने जानकारी गराउनुभयो ।
स्मरणीय छ (प्रथम, द्वितीय, तृतीय पुस्कारका लागि रोहिणी शर्मा, दिनेशराज ज्ञवाली, मीरा कोइराला, शकुन ज्ञवाली, पदम विश्वकर्मा, लालगोपाल सुवेदी, महेश्वर पन्त, डा. प्रकाश पौडेल, राज श्रेष्ठ, पवन लामिछाने र हरिमाया अधिकारीको आर्थिक योगदानबाट पुरस्कार रकमको व्यवस्था गरिएको थियो भने रमेश मधेशी गुरुङको सौजन्यमा पुरस्कृत कविताहरू अंग्रेजी अनुवाद समेत गरी निकट भविष्यमै कृति प्रकाशन गर्ने र विश्वका विभिन्न मुलुकमा प¥ुयाउने लक्ष्य राखिएको कुरा समेत सुवेदीले बताउनुभयो ।
