बिहिबार देखि तीन दिन परेको वर्षाका कारण बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ७ जनाको घर गोठमा क्षति पुगेको छ । ग्राबेल सहितको लेदो माटोले ७ घर र ३ वटा जस्तापाताको टहरोमा क्षति पुगेको हो । स्थानीय शेर बहादुर तामाङको ढुंगा माटोले बनेको जस्ताको छानो भएको १ तले घर पूर्ण रुपमा पुरिएको छ । यस्तै उक्त घर नजिक रहेको हर्क बहादुर तामाङको ढुंगा माटोले बनेको जस्ताको छानो भएको ३ तले घरमा लेदो माटो सहितको पानी पस्दा जस्तापाता र काठले बनेको गोठ पूर्ण रुपमा क्षति भएको छ ।
बाढीले खहरेखोला बस्ने जगत तामाङको जस्तापाताको कटेरो र निर्माणाधिन २ कोठे घर भत्काएको छ । हर्क बहादुर तामाङको ढुंगामाटोले बनेको जस्तापाताको छानो भएको ३ तले कच्ची घर र जस्ताको कटेरो भत्किएको छ भने पोते बहादुर तामाङको ढुंगामाटोले बनेको जस्तापाताको छानो भएको ३ तले र १ तले गरी २ वटा घर पुर्ण रुपमा क्षति भएको छ । स्थानीय पुष्पा तामाङको जस्ताको टहरो र निर्माणधिन २ कोठे घर, सुमन तामाङको जस्ताको टहरो र सेते तामाङको निर्माणाधिन २ कोठे घर समेत भत्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मानवीय र पशु चौपायको भने क्षति भएको छैन ।
