सवा दुई वर्षपछि कठघरामा गएर एउटा अपराधीले आंशिक अपराध कबुल गरेको छ । काभ्रे पनौती माइती भएकी ममता काफ्ले अमेरिकाको भर्जिनियाबाट हराएको यत्रो समयपछि उनकै अधर्मी (नाताले पति पर्ने) नरेश भट्टले उनको आत्महत्याबाट मृत्यु भएको बताएको छ भने मृत शरिर चाहिँ आफूले गायब पारेको स्वीकारेको छ ।
अदालतमा सरकारी वकिल र ममता पक्षका साक्षीहरूले पेश गरेका प्रमाणहरूका खात देखेपछि अब आफ्नो उम्किने बाटो नदेखेको उसले शव आफूले गायव गरे पनि मृत्यु चाहिँ ममता आफैँले रोजेको भनेर सजाय कम गराउने चर्तुयाइँ युक्त बयान दिएको छ । नेपालमा गाउँको साधारण सरकारी विद्यालयमा पढेकोले अंग्रेजी समेत अमेरिका पुगेर ‘स्क्याम कल’मा कुरा गरेकै भरमा सिकेको भन्ने नरेशले शुरूमा दोभासेको समेत सहायता अस्वीकार गर्दै वकिलका अंग्रेजी सिधा प्रश्नका स–प्रसंग व्याख्यामा जवाफ दिँदा पटक पटक चिप्लिएको छ । पटक पटक झुठ उद्घाटित भएको छ । घरी घरी उसकै बोली उसैलाई भारी परेको छ ।
भर्जिनियाको प्रिन्स विलियम्स काउण्टी ज्यूडिसियल सेन्टर अदालतमा मुद्दा सुनुवाइको सत्रौँ दिन आफूमाथि लागेका आरोपको बचाउमा पहिलो साक्षीका रूपमा आफैँ बयानमा उत्रिएको नरेशले शुरूमा आफ्नो पृष्ठभूमि बताउँदा देखि नै केहि बनि बनाउ नाटकीय कुराहरू व्यक्त गरेको सहज अनुमान लगाउन सकिन्छ । खैर, अनुमानले त त्यत्रो मुद्दा पार लाग्दैन । उस माथिका आरोपहरू धेरैहद सत्य ठहरिने बाटोतिर मुद्दा अघि बढेको प्रशस्त छनक देखिन्छ । हेर्दै जाउँ ..
नरेश भन्छ–‘ममताले बिष खाएर आत्महत्या गरिन् । आफूले आत्महत्या दुरूत्साहन गरेको दोष पाउने डरले प्रहरी र अरू कसैलाई थाहपत्तो नदिई शवको निर्मम व्यवस्थापन चाहिँ गरेको हुँ ।’ अथवा, लगाइएका तीन मध्ये आधाभन्दा बढी आरोप स्वीकारेर पहिलो श्रेणीको योजनावद्ध हत्या गरेको आरोप उसले अस्वीकार गरेको छ । तर, ममताले आत्महत्या गरिन् भनेर पत्याउन यो मन पटक्कै तयार छैन । र, त्यसका केही आधारहरू छन् मसँग ।
१. दोष लाग्ने डरले होइन हत्याको प्रमाण फेला पर्ने डरले चाहिँ उसले सबै काम एक्लै गुपचुप गरेर भ्यायो भन्नेमा म अडिक छु । यद्यपि उसले गुपचुप गरेँ भन्ठानेका अनगिन्ती कर्तुतहरू विभिन्न सिसिटिभी क्यामरा र ट्र्याकिङ् पद्धतिले उदाङ्गो पारिदिएका छन् ।
२. अघिल्ला पटक हिंसामा पर्दाका तस्वीरहरू दाजु (महेश काफ्ले)लाई पठाउने गरेकी ममताले आत्महत्याको अन्तिम निर्णयमा पुगेकै भए कमसेकम उनै दाजुलाई, नभए पनि कोही न कोहीलाई केही न केही सन्देश अवश्य पठाउने थिइन् । दुधे बालख छोरीको हेरचाहको याचना सहित कसै न कसैलाई सम्बोधन गरेर अन्तिम नोट लेख्ने थिइन् । त्यही छोरीको अनुहार हेरेर बाँचेकी आमा राति सुटुक्क सबै निदाएका बेला लुसुक्क बिष पिएर भोलिपल्ट बिहानसम्म सँगै सुतेकाले पनि थाह नपाउने गरी लड्ने थिइनन् ।
३. ब्लु स्टार प्रविधिले शयनकक्षको कार्पेट लफ्रक्कै भिजेर मुन्तिरको भुइँसम्म भिज्ने गरी रगतको आहाल परेको र त्यो सफा गरेको देखाएको छ । बिष पिएर आत्महत्या गर्नेको त्यत्रो रगत कहाँबाट आउँछ ? सोही प्रविधिले शयनकक्ष हुँदै शौचालयसम्म लतारेर लगेको जस्तो देखिने रगतको घेरो भेट्टाएको छ, त्यो रगत विष पिएर अचेत मान्छेको कहाँबाट किन बग्छ ?
४. ममताले विषको चक्कीसहितको रगत मिसिएको बोमिट गरेर लडेको देखेको उसको बयान छ । उ अगाडि भन्छ–‘त्यो बोमिट गरेको मुख नाङ्गो हातले पुछपाछ गरेर मुखमा मुख जोडी कृत्रिम स्वास दिएँ । मुखभरी रगत र बोमिट मिश्रित फोहोर थियो । अझ विषको चक्की सहितको मिश्रण पनि । त्यो घिनलाग्दो बिषालु फोहोर हातले पुछेर मुख जोडेँ भन्ने उसको भनाइ म ज्यान गए पनि पत्याउँदिनँ । विष पिएर छाद्दा रगत कसरी कहाँबाट आयो भन्ने अर्को प्रश्न पनि छ । उसकै झुठको खेतीले उसलाई फसाएको ठान्छु म ।
५. भोलिपल्ट, पर्सीपल्ट प्रहरीदेखि सञ्चारमाध्यममा उसले दिएका अभिव्यक्तिहरूमा उसमा कुनै शोक, सन्देह देखिँदैन । आत्महत्या गरेको मान्छेको वास्तविकता कहिँ कसैलाई कुनै तरिकाले बताइदिन किन यतिसारो मुस्किल प¥यो ? डरले भन्छ भने डराएको मान्छेले गाडी हाँक्दै दशतिर धुइँधुइँती घुम्न कसरी सक्यो ? हामी घटना सुन्नेलाई त सुनेको दिन खुट्टा काँपेर गाडी चलाउन असहज भएको थियो भने ऊ त घटनामा भित्र थियो । हताश थिएँ पनि भन्छ, अनि खोजी खोजी ठिक ठिक समयमा जानु पर्ने ठिक्क ठिक्क ठाउँमा जान, छानी छानी चाहिएका चिजहरू किन्न, फ्याँक्नु पर्ने चिजहरू सही सही तरिकाले फ्याँकेर काम फत्ते गर्न कसरी सक्यो । मरे पनि पत्याउँदिन म ।
६. ममताले सहयोगको याचना गर्दै प्रहरीलाई फोन गर्दा (कुन्नी केको हो ? प्रमाणको लागि भन्दै भिडियो बनाउने मान्छेले आत्महत्या गरेको प्रमाणका लागि पनि भिडियो बनाउँदो हो । फोटो मात्रै भए नि खिच्दो हो । झन् त्यत्तिको धुर्त चण्डालले त त्यसो गथ्र्यो गथ्यो । फस्न सक्छु भनेर डराएको मान्छेले फसेँ भने देखाउनु पर्ने प्रमाण राख्दैनथ्यो त ? त्यो किन गरेन ?
७. बयानमा उसले आफूलाई कुनै समयको पेस्ट कन्ट्रोल स्पेसलिष्ट हुँ भने झैँ प्रस्तुत गरेको छ । अनि, फेरि भनेको छ (साङ्ला मार्न ममता आफैँले नेपालदेखि पेस्टिसाइड विषादी मगाएर ल्याइन् र त्यही खाइन् । घरमा त्यस्तो स्पेसलिष्ट हुँदाहुँदै ममताले नेपालदेखि साङ्ला मार्ने विषादी किन ल्याउन प¥यो । यो नाङ्गो झूठ हो । विषादी सेवन गरेकै भए पनि जागा अवस्थामा रहेको मान्छेलाई पछार्न सजिलो हुँदैन, पछारे पनि हारगुहार हल्लाखल्ला हुन्छ भनेर बुझेको उसले नै जवरजस्ती वा झुक्याएर खुवाई पहिला बेहोस बनायो र बाँकी काम सजिलोसँग सकायो भनेको भए म पत्याउन सक्छु । यस्ता प्रश्न त कति छन् कति । उसको बयान सुन्दै गयो भने झन् प्रश्न थपिँदै जान्छन् ।
नरेशले स्वीकारेका अपराधहरू जघण्य छँदैछन् । स्वीकार्न नचाहेको अपराध पनि अदालतका न्यायमुर्तीहरूले प्रमाणित गरेर देखाउँदा ममताको आत्माले शान्ति पाउने छ । अपराधीलाई जन्म कैदको सजाय होस् ।
– कोपनहेगन, डेनमार्क
