विश्वका धेरै देशको निर्वाचनको इतिहास हेर्दा हामी धेरै पछि छौ । हुन त नेपालमा निर्वाचनको इतिहास ७५ बर्ष भएको छ । वि.स. २००४ सालको स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्य्मशमशेरले निर्वाचन गराएका थिए । २००७ सालपछि मुलुक प्रजातान्त्रिक युगमा प्रवेश गरेको ७ बर्ष पछि २०१४ मा गएर प्रत्येक ४ वर्षमा नगरपालिकाको निर्वाचन गर्ने व्यवस्था अनुसार काठमाडौं नगरपालिकाको अर्को निर्वाचन २०१४ माघ ७ मा भएको थियो । निर्वाचनमा नगरपालिकाका १८ वडा सदस्यका लागि ४९ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचनबाट नगरपालिका सभापतिमा कांग्रेसबाट प्रयागराजसिंह सुवाल र उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ चुनिएको इतिहास छ । २०१७ सालमा पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि ०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचन गराएका थिए । गाउँसभा भित्रका वडाबाट छानिएका सदस्यबाट प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने व्यवस्था भएको थियो । गाउँसभालाई ९ वटा वडामा विभाजन गर्ने काम त्यही बेला देखि भएको हो । त्यो बेलाको स्थानीय निर्वाचन गर्न राज्यको ४ लाख रुपैयाँ खर्च भएको थियो । रोचक पक्ष के छ भने त्यतिबेला निर्वाचन आयोगको व्यवस्था थिएन । त्यतिबेला मतदान हात उठाएर गरिन्थ्यो । मतदातालाई मत दिने ठाउँको कोठामा लगेर ढोका बन्द गरी उम्मेदवारको नाम क्रमशः भन्दै हात उठाउन लगाइन्थ्यो । मत दिइसकेको मतदातालाई क्रमशः बाहिर पठाउँदै प्रत्येक उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो । २०१९ मा निर्वाचन आयोग बनेको थियो । १० हजार भन्दा बढी जनसंख्या भएको नगरमा नगर पञ्चायतको स्थापना गर्न सक्ने व्यवस्था अनुसार ०१९ मा नगर पञ्चायतको निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो ।
२०२० सालमा पुग्दा निर्वाचन चिन्हका रूपमा उम्मेदवारलाई रङ्गको ब्यब्स्था गरियो । रङ्गलाई नै मतपेटिकामा खसाल्ने इतिहास २०२० मा भएको थियो । राजा वीरेन्द्रको शासनकाल पछि पञ्चायत व्यवस्थामा अलि प्रजातान्त्रिक शुरूवात भएको थियोे । ०३२ मा गाउँ, नगर र जिल्ला पञ्चायतको छुट्टाछुट्टै निर्वाचन भएका थिए । यसपालि अप्रत्यक्ष निर्वाचन पद्धति अपनाई जनप्रतिधि छनोट गर्ने व्यवस्था गरिएको थियो । गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवार हुनका लागि गाउँ फर्क राष्ट्रिय अभियानबाट अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो । नेपालभर रहेका ४ हजार २२ गाउँ र २९ नगर पञ्चायत सहित जिल्ला पञ्चायतको निर्वाचन भएको थियो । निर्वाचन आयोगले वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते निर्वाचन गरेको थियो । प्रत्येक गाउँबाट ४७ जनाका दरले १ लाख ८९ हजार ३४ जना र २९ नगरबाट २ हजार ५ सय प्रतिनिधि छानिने व्यवस्था थियो । यो निर्वाचनमा मन्त्रिपरिषद् सदस्यलाई प्रचार प्रसारमा सरकारी गाडी प्रयोगमा रोक लगाएको थियो ।
चैत ७ र १० गते गाउँ र नगर पञ्चायतको निर्वाचन भएको थियो । गाउँ र नगरको निर्वाचनमा १ लाख ९१ हजार ६२ जना जनप्रतिनिधि छानिनुपर्ने थियो । त्यतिवेला ४ हजार १५ वटा गाउँ पञ्चायत र ३३ वटा नगर पञ्चायत थिए । उम्मेदवारलाई निर्वाचन खर्चको सीमा तोकिएको थियो । गाउँसभा र गाउँ पञ्चायत सदस्यलाई १५ सय, नगरसभा र नगर पञ्चायत सदस्यलाई ५ हजार, गाउँ पञ्चायत, प्रधानपञ्च र उपप्रधानपञ्चलाई ५ हजार, नगर पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई १५ हजार रुपैयाँ सीमा तोकिएको थियो । यो नै पञ्चायत को अन्तिम स्थानीय चुनाव थियोे । २०४६ को परिवर्तन पछि २०४९ सालमा बहुदलीय व्यवस्था अनुसार पहिलो स्थानीय चुनाव भएको थियो । ४ हजार १५ गाउँ पञ्चायतलाई परिवर्तन गरी ३ हजार ९ सय ९५ गाउँ विकास समिति बनाइएको थियो । ३३ नगरलाई नगरपालिका कायम गरिएको थियो ।
१ करोड २० लाख मतदाता थिए भने कांग्रेसले ६० जिल्ला र एमालेले ८ वटा जिल्लामा सभापति जितेका थिए । राप्रपाले ३ र संयुक्त जनमोर्चाले २ वटा जिल्लामा सभापति जितेका थिए । बहुदलीय ब्यबस्थामा दोस्रो पटक ०५४ वैशाख २० र जेठ ४ मा ३ हजार ९ सय १३ गाविस र ५८ नगरपालिकाको निर्वाचन भएको थियो । त्यतिवेला १ करोड २५ लाख ३८ हजार २ सय ७३ जना मतदाता थिए । त्यस पछि मुलुकमा माओवादीको सशस्त्र आन्दोलन शुरु भयो । २०६२ माघमा पुग्दा राजा ज्ञानेन्द्रले स्थानीय चुनाव गराउदा राजनीतिक दलले भाग लिएनन् । मुलुकमा गणतन्त्र आयो गणतन्त्र आए पनि स्थानीय चुनाव हुन झण्डै ८ बर्ष लाग्यो । गणतन्त्र आए पछिको पहिलो स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते जेठ ६ र असोज २ गरी तीन चरणमा स्थानीय चुनाव भएको थियो । तिनै जनप्रतिनिधिको कार्यकाल सकिएर अबको ३ दिन पछि २०७९ बैशाख ३० गते एक्कै चरणमा स्थानीय निर्वाचन हुन गइरहेको छ ।
