IMG-LOGO

यो मंगलबार  माओवादी आदर्श र सपना हराएकै हो त ?

 मंगल, फागुन ६, २०८१  – नरेन्द्रजंग पिटर

यो लेखको सुरुवात दुई प्रसंगबाट गर्छु ।

१. एकता केन्द्रताका रामबहादुर थापा ‘बादल’ राप्ती अञ्चल पार्टी सचिव हुँदा इन्चार्ज वासुदेव गौतम उनलाई इमानदार उग्रवादी भन्थे । उनको नेतृत्वमा रुकुम, रोल्पामा वर्गसंर्घषले व्यावहारिक रूप लिँदै थियो । ‘सिज अभियान’ चलिसकेको थियो । तर पनि “जनयुद्ध” घोषणा नभएपछि निराश बादल पार्टी काम छाडेर ससुराली भैरहवा बस्दा उनलाई विश्वस्त बनाउँदै फर्काउनुपरेको थियो । अहिले “जनयुद्धुसम्बन्धी विश्लेषण एमाले अध्यक्ष केपी शर्मा ओली र बादलको ठ्याक्कै मिल्छ । ” जनयुद्धु को बीभत्सताबारे चर्चा गरिँदा उनी निन्याउरो अनुहारले सुनिरहन विवश हुन्छन् । 

२. अर्का कमान्डर एवं नीति–निर्मातामध्येका एक डा. बाबुराम भट्टराईले त यस पङ्क्तिकारसँग “जनयुद्ध”लाई ‘रेडिकल डेमोक्र्याटिक मुभमेन्ट’ मात्रै थियो भनेका थिए । ‘जनयुद्ध’ ३०औँ वर्षमा प्रवेश गर्दैगर्दा एउटा गम्भीर प्रश्न उठ्छ–के माओवादीले देखेका सपनाहरू अझै बाँचेका छन् ? कि तिनको अस्तित्व समाप्त भइसकेको छ ? कि फस्ट बेन्चर माओवादी नै त्यसबेला भ्रमित सपनामा थिए ? हिजो समाजवादको सपना बोकेर सशस्त्र संघर्षमा होमिएका योद्धाहरू आज कहाँ छन् ? के उनीहरू क्रान्तिको लक्ष्यमा पुगे ? वा पुग्ने रोडम्यापमै हिँडिरहेका छन् ? के त्याग गरेका थिए, के लिएर फर्किए र अहिले के बन्दै र सोच्दै होलान्  ?  

सपना केवल कल्पनामा मात्र सीमित हुँदैन, तिनलाई वास्तविकतामा फेर्न बलिदान, त्याग र निरन्तर संघर्ष आवश्यक पर्छ । सपनाबिना विपना बन्दैन तर देखेका सपनाहरू आफैँ वास्तविकतामा भने फेरिँदैनन् । सपनालाई साकार पार्न मूल्य चुकाउनुपर्छ, अनि त्यसको नेतृत्व पनि आफैँले गर्नुपर्छ । तर, अहिले प्रश्न उठ्छ –के सपनाहरू हराए ? मरे ? कि बाँचिरहेका छन् ? जब सपना देख्नेहरू नै सम्झौतावादी, सुविधाभोगी र अवसरवादी बन्दै जान्छन् , तब परिवर्तनको दिशा अन्योलमा पर्छ । यसको उत्तर स्वप्नद्रष्टाहरूको जीवनशैली र व्यवहारले निर्धारण गर्छ । मर्नु र बाँच्नुको मानक के हो ? सङ्केतहरू नै सन्देश बन्छन् । वास्तविकता स्वीकार गर्दै विचारलाई आत्मसात् गर्न, जीवनका परिभाषालाई नवीन दृष्टिकोणले हेर्न आवश्यक हुन्छ ।

क्रान्तिको वास्तविकताः सपना कि साधन ?

क्रान्तिको बाटोमा गुलाफका फूल बिछ्याइँदैनन्, काँडाको बाटोबाट गुज्रिनै पर्छ । क्रान्ति केवल सपनामा सीमित हुने कि सामाजिक परिवर्तनको साधन बन्ने ? यो गम्भीर प्रश्न हो । बाहिर देखिने दृश्यभन्दा दृश्यपछाडिका अनदेखा पक्षहरू अझ महत्वपूर्ण हुन्छन् । आरोप त धेरै लाग्यो, मनोयुद्धका ट्रेन्चमा अनेकौँ कथ्यहरू रचिए पनि । तर, समग्र समीक्षा हुनै नपाई माओवादीमा विघटन प्रक्रिया तीव्र भयो । अब त्यो बेलाको केन्द्रीय कमिटीबाट समग्र समीक्षा हुने छैन ।
क्रान्ति सामाजिक रूपान्तरणको साधन मात्रै हो । साध्यका लागि साधनको भूमिकामा पनि ध्यान दिइन्छ । क्रान्तिको बाटो कहिल्यै सहज नहुने मात्रै होइन, क्रान्तिलाई केवल सत्ताप्राप्तिको साधन मात्रै बनाइन्छ भने त्यहाँ विचलन सुरु हुन्छ । राजनीतिका मोर्चाहरूमा सम्झौता हुन्छन् तर नेतृत्व नै सम्झौतावादी बनेपछि विचारधारा निष्क्रिय हुन्छ । माओवादी आन्दोलन न आदर्शको दिशामा अडिग, न स्पष्ट गन्तव्यमा केन्द्रित देखिन्छ ।

कम्युनिस्ट आन्दोलनः बाटो भुलेको यात्रा ?

सिद्धान्तलाई अवलम्बन नगर्ने, सत्ता र सिद्धान्तलाई घुलमेल गर्ने र वर्गसंघर्षलाई सतही रूपमा मात्र बुझ्ने प्रवृत्तिले माओवादी आन्दोलन कमजोर बन्यो । माक्र्स, एङ्गेल्स, लेनिन र माओले कुनै निश्चित सूत्र नेपाली माओवादीलाई दिएनन् । तर, समाजका अन्तर्विरोधहरू पहिचान गरी समाधान खोज्नु नै आन्दोलनको मर्म हुन्थ्यो ।
कम्युनिस्ट आन्दोलन वर्गसंघर्षमा आधारित हुन्छ । अन्ततः सशस्त्र संघर्षको अवधारणा नै त्यसको केन्द्रविन्दु हो । वर्गहरू निरन्तर फेरबदल भइरहेका हुन्छन्, सत्य पनि स्थिर हुँदैन । विज्ञान र दर्शनजस्तै समाज पनि परिवर्तनशील हुन्छ । वर्गसंघर्ष निरन्तर र गतिशील रहन्छ । तर, आजको कम्युनिस्ट आन्दोलन भने दिशाहीन देखिन्छ ।

प्रसिद्ध भारतीय कम्युनिस्ट विचारक प्रो. रणधीर सिंहले नेपाली माओवादीहरूको यात्रा मूल््याङ्कन गर्दै भनेका थिए, ‘एक यात्रा अघि बढ्दै थियो, तर बीचैमा बाटो भुल्यो, गन्तव्य पनि बिर्सियो ।’

कम्युनिस्ट आन्दोलनको मौलिकता नहाँकिनु हो । समाजका अन्तर्विरोधहरूको पहिचान र समाधान खोज्नु नै आन्दोलनको मर्म हुन्थ्यो । तर, माओवादी आन्दोलनमा न सूत्रवादी सोच, न सिर्जनात्मकतालाई प्राथमिकता । अर्कोतर्फ, सिद्धान्तलाई महत्वहीन ठान्ने प्रवृत्ति त्यत्तिकै बढ्दै गयो । सिद्धान्तको आवरणमा हुने अनेकौँ खेल र झेल नै राजनीतिभित्र छुद्र दाउपेच बने । 
                                                                  
बजारवाद, स्वार्थ र आदर्शको क्षय

बजार अर्थतन्त्र हावी भएपछि समाजवादको मर्म हराउँदै जान्छ । स्वार्थ र व्यक्तिगत महत्वाकाङ्क्षाले क्रान्तिको लक्ष्यलाई पन्छाएर, सत्ता र सुविधाको खेललाई प्राथमिकता दिन्छ । बजारवादले केवल अर्थतन्त्रलाई मात्र होइन, विचारधारा, समाज र संस्कृतिलाई पनि विकृत बनाउँछ । कर्पोरेट पुँजीवादको स्वार्थी संरचनाभित्र समाजवादी लवेदा ओढ्ने प्रवृत्तिहरू मौलाउँदै जान्छन् ।
बजार अर्थतन्त्र सोचमै हावी भएपछि विचार, त्याग र सपना तपसिलमा पुगे । त्यसले समाजको सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रलाई नराम्रोसँग गिजोल्यो । समाजवादी देखिने तर पुँजीवादी सोचलाई सौन्दर्यकरण गर्ने प्रवृत्ति मौलाए । मानवीय जीवनमा पैदा गरेका समस्याले आचार, विचार र व्यवहारमा गरेको हस्तक्षेप र सामाजिक एवं सांस्कृतिक क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई नै सौन्दर्यकरण गरेर आफूलाई समाजवादी भनिरहनेहरूलाई भने सुविधा मिल्यो । भन्ने र गर्नेबीचको भिन्नता प्रस्ट देखा पर्दै गए ।

नेतृत्वको चरित्रः आदर्शको पतनको कारण

सत्तासँग आदर्श पचाउने अचुक पाचक हुन्छ । हिजोका क्रान्तिकारीहरू आज सुविधाभोगी एकाएक बनेका होइनन्, यसको क्रम लामै छ । प्रतिस्पर्धाका रूप र चरित्र फेरिए तर नयाँ मोर्चामा लड्न सक्ने योग्यता, क्षमता र दक्षता हुन सकेन । ‘त्यागी’हरूमा सत्ताको पहिलो हिस्सेदार आफूलाई बनाउने प्रवृत्ति मौलायो । त्याग गर्नेले नै त्याग त्यागेपछि अवसरलाई टुप्पीमाथि राख्न खोज्ने सत्तामजाको स्वाद सबैभन्दा प्रिय बन्यो ।
संसदीय राजनीतिमा कार्यकर्ता आधारित पार्टी नभई ‘मास बेस्ड पार्टी’ बनाउने बाध्यताले वन साङ्लाले घर साङ्लालाई खाएको मात्रै थिएन, योद्धाहरूले नै योद्धा किन बनेका थियौँ भन्ने सोच नै बिर्सिए । नव–राजनीतिज्ञहरूको उदयसँगै आदर्शको मूल्य कर्णालीमा सलल बग्दै गयो । एकातर्फ परिवर्तनले पैदा गरेका महत्त्वाकाङ्क्षाको व्यवस्थापन हुन सकेन भने अर्कोतर्फ लालसाका रसायन ह्वात्तै बढे । राजनीति व्यवसाय बन्न पुग्यो । राजनीतिलाई व्यवसाय ठानिएपछि आदर्श र सपना स्वाहा हुन्छन् । नैतिक पुँजी खस्कँदै जान्छ । सत्ता र व्यवसायको कक्टेलले भ्रष्टता लुकाउन वा वैधता दिन अरुलाई पनि भ्रष्ट गराउनुपथ्र्यो । भ्रष्ट बन्ने, बनाउने खेल म्याराथन गतिमा चल्दै गयो ।      

इतिहासको समीक्षा आवश्यक

इतिहासले सधैँ परीक्षा लिन्छ । आत्म समीक्षा बिना सुधार सम्भव हुँदैन । राजनीति जब दर्शन र आदर्शबिना चल्छ, तब त्यो केवल सत्ताको खेल बन्न पुग्छ । विश्व कम्युनिस्ट आन्दोलनजस्तै नेपाली कम्युनिष्टहरूमा पनि अहिले आत्मसमीक्षाको खाँचो टड्कारो देखिँदै छ । हामी भू–संवेदनशील भूभागमा छौँ । विश्व राजनीति नै अति राष्ट्रवादको चपेटामा छ । शिरमा बजारशास्त्र रह्यो । पुँजी र प्रविधिको सेवा अतिवादलाई छ । प्रविधि विज्ञान र दर्शनलाई भन्दा अन्धविश्वास र अतिवाद फैलाउने साधन बन्दै छ ।
विज्ञानले आफूलाई पुनरावलोकन गर्छ । राजनीति पनि समाज विज्ञानको उच्चतम रूप भएकाले दर्शनले यसलाई निर्देशित गर्छ । जब दर्शनलाई नैतिकता र विचारधाराबाट अलग गरिन्छ, तब राजनीति केवल सत्ताप्राप्तिको खेल बन्छ । सामाजिक परिवर्तनमा कहिलेकाहीँ ठूलो गल्ती गर्दा पनि सफल हुन सकिन्छ भने  कहिलेकाहीँ उम्दा तयारी र होसियारी गर्दागर्दै पनि सामान्य गल्तीले पराजित भइन्छ । या त संग्रामबाट या सहमतिबाट नयाँ परिवेश तयार हुन्छ । योजना, लक्ष्य, तागत चाहिन्छ । दोस्रोका लागि पुनःस्विश्वास । राजनीतिलाई व्यवसाय र उद्योग सोच्ने नवराजनीतिज्ञहरूले आदर्शको मूल्य भुक्तान पनि गरिन्छ र गर्नुपर्छ भन्ने सोच्दैनन् ।

परिवर्तन सित्तैँमा आएको होइन भन्ने थाहा नपाउनुलाई आश्चर्य मान्नै पर्दैन । आन्दोलनका मोर्चा फेरिए । भूमिका बदलियो । ध्येय र सुदूर आदर्शमा अन्तर आए । राजनीतिक क्षेत्रमा आदर्शले भन्दा स्वार्थपूर्ण असहिष्णुुताले ठाउँ ओगट्यो । भाष्य फेरिँदा र पुराना नेतृत्व असफल हुँदा नयाँ पुस्ताले पुरानै गल्ती दोहोर्‍यायो भने इतिहास पुनः दोहोरिन्छ ।

बिट मार्दै गर्दा

–राजनीतिक परिवर्तन केवल सत्ता हस्तान्तरण होइन, यो विचार, दृष्टिकोण र समाज रूपान्तरणको यात्रा हो । तर, जब नेतृत्व अहङ्कार, षड्यन्त्र र स्वार्थमा फस्छ, तब पार्टीहरू केवल ‘भक्तमण्डली’को भिडमा फेरिन्छन् । हरेक पार्टी भित्र बहस नहोस् र आदेशपालक बनोस् भनेर जम्बो कमिटी बनाइए । 
–माओवादी आदर्श र सपना सेलाउनु केवल व्यक्तिगत पतन होइन, समाज, समय र राजनीतिक संस्कृतिप्रति पनि आघात हो ।
–क्रान्ति केवल सपनामा सीमित रहनेछ वा वास्तवमै परिवर्तन ल्याउने साधन बन्न सक्नेछ ? सहादतको मूल्य कति हो ? विद्रोहको अन्तिम गन्तव्य के हो ?
–आन्दोलनको नेतृत्वले ओजन धान्न नसके पनि आन्दोलनका उपलब्धि, सन्देश, शिक्षा र सामाजिक हस्तक्षेपले जगाएको आशा, राजतन्त्रबाट गणतन्त्रको ऐतिहासिक संघार छिचोल्नु, त्यसका सौन्दर्यले उत्पीडित जाति, क्षेत्र र समुदायमा पलाएको आत्मविश्वास र भूमिकाले युग नै परिवर्तनको सन्देश दियो । 

–फ्रान्सेली क्रान्तिको समयमा क्रान्तिकारी विचारधारा जेकोवियन क्लबका प्रमुख नेता म्याक्सिमिलियन रोब्सपिएर थिए । क्रान्तिले आफ्नै पितालाई खाएझैँ उनले पनि गिलेटिनमा सेरिनुपर्‍योे । सामाजिक समानता, जनताका अधिकार र क्रान्तिकारी सुधारका अगुवा जेकोवियनहरूले धर्मलाई राज्यबाट पृथक गरे । संसारमै पहिलोपटक राजतन्त्रबाट गणतन्त्रमा फेरेको शिक्षा र सन्देश अहिले विश्व राजनीतिको प्रस्थान विन्दु बनेको छ ।  जेकोवियन विद्रोहको अपहरण गरिए पनि कालान्तरमा त्यो अर्कै रूपमा पुनस्र्थापित भयो ।  आधुनिक समाजलाई गहिरो प्रभाव पारेर समानता, भ्रातृत्व र प्रजातन्त्रको जग बसाल्दै विश्वभरि स्वतन्त्रताको लहर फैलायो । क्रान्ति लोकतन्त्रको आधारस्तम्भ बनेर त्यसको प्रभाव आज पनि संसारभर देखिन्छ ।

–आन्दोलन मत्थर, गति जे पनि हुन सक्छ, स्वयम् नेतृत्वले त्यसको वजन, मर्म, आदर्श थाम्न नसके पनि आन्दोलनको शिक्षा र प्रभाव भने मेटिँदैन । स्पार्टाकसका सन्तानहरू रक्तबीज भएर पुनः जन्मनेछन् –कुनै पनि समय, कुनै पनि ठाउँमा ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्