।
अहिले सत्ताधारी पार्टीको भिडन्त देश र दुनियाँलाई विना टिकटको रमिता बनेको छ । पीडा त समय, सन्दर्भ, देश र जनताको हो । बन्द कोठाका वाकयुद्ध अब पत्रयुद्धमा फेरिए । निजी प्रवक्ता मार्फत मिडियामा, सामाजिक सञ्जालमा तर्क कोरल्न थालिए । लडाईको मोर्चा दाउपेच पार्टी बन्न छोड्यो । राजनीतिमा संवाभना खेल जे पनि हुँनसक्छ । तर, लक्षण भने क्रमशः फाइट टु फिनिसतर्फ बढ्दो छ । मैमत्त विवेकहीन शक्तिले विध्वंसमा जे पनि गर्न सक्छ । निकास बिहिन बिरोध झन् खतरा । घर पोलेर आगो ताप्ने । पानीलाई निकास नदिई थुन्यो भने केही समय त थुनिएला तर पछि बाँध भने भत्केर झन ठूलो भेलबाढी बन्दै आफैलाई बगाँउछ ।
सवैका तर्क हुन्छन् ।
फ्योदोर र दोस्तोवेश्कीको ‘अपराध र संजाय’ नामक उपन्यासमा रास्किनिकोभ पात्र अपराधको औचित्य सावित गर्न अनेकौँ तर्कको सहारा लिन्छ । सत्य स्वीर्कान पछि उस्कै हृदयले आदेश दिन्छ । अझ डियल कार्नेगी– हाउ टु विन फ्रेन्ड एण्ड इन्फुलेन्स पिपुल्समा’ मनोविज्ञान संबन्धी अनेकौँ घटनाका उदाहरण सहित व्याख्या गर्दा हरेक कर्तासँग जस्तोसुकै कामलाई पनि औचित्य दिने तर्क हुन्छ, भन्छन् । जवसम्म कुनै कर्ताले गरेको कार्य सही हो भन्ने सोच्दैन् तबसम्म कुनै पनि सुकार्य त छोडौँ कुकृत्य गर्न पनि हौँसिदैन् । मान्छे मार्ने, चोरी डकैती गर्ने, व्यभिचार, बलात्कार गर्नेका पनि आफ्नै खाले तर्क हुन्छन् । कर्ताले सोचको औचित्य सावित गर्ने कोशिस गर्छ । जुनसुकै अभियोगमा जेल परेका बन्दी पनि अपराधको सजाय भुक्तान गर्दैछु भन्दैन्, परिवन्दमा परे वा फसाईयो भन्ने गर्छन् । हुँन त अपराधी बनाउने सामाजिक अवस्था नै हो, जो तत्कालीन राजनीतिले निर्देशन गरिरहेको हुन्छ । अझ कार्यलाई सैद्धान्तिकीकरण गरेपछि एउटा समूहलाई नै आवेग र आक्रोसको शक्ति दिएर सक्रिय गराउन सकिन्छ ।
आखिर किन ? किन ? हरेक बिद्रोह, क्रान्ति र युद्धले सामाजिक सोचको राजनीतिक क्रमभंग गर्छ र धकेल्छ । तर कम्युनिष्टहरू बिद्रोह र क्रान्ति त गर्न जान्ने तर आफै भित्र जन्मने आत्माघाती प्रबृति चिन्न नसक्ने, या सहिद बन्ने वा बुर्जुवामा फेरिने ! उत्पादनका साधन, श्रोत र स्वामित्व त्यही रहने, संस्कृति त्यही रहने । एउटा क्रान्तिकारी समय र संबन्धसंगै कालान्तरमा प्रतिक्रान्तिकारी बन्ने ! यसका मनोबैज्ञानिक कारण के होला ! आफ्नै इतिहास बोक्न किन नसकेका होलान ! ठिकै छ– फेरिएको अवस्था बुर्जुवा आर्दशवादी पनि बन्न नसक्ने !
इतिहास शासकले पढदैनन् । उनलाई आफ्नै गौरवशाली भूमिका पनि गह्रुङ्गो हुन्छ । आफ्नै पुराना फोटाले समेत अत्याउँछ । नयाँ तर्क नै जिन्दगी लतार्ने, घिसार्ने मनलाई बुझाउने तरिका बन्छन् । सत्य निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ । दृष्टि अनुसारका सृष्टि र सोही अनुसारका दृष्टिकोण बन्छन् । अनि सुन्दरता र कुरूपताका भिन्न–भिन्न अर्थ लाग्न सक्छन् । एउटाको सुन्दरता अरूलाई कुरूप लाग्न सक्छ । त्यस्तै सत्यता पनि अरूलाई मिथ्या लाग्न सक्ला । मान्छेलाई उत्प्रेरित गर्ने, सकृय बनाउने, सपना देखाउने, भूमिकामा उतार्ने कुन र कस्तो अदृश्य शक्ति हो ? जसले कृया र प्रतिकृयामा मान्छे सक्रिय हुन्छ । मानिसको त्यो आन्तरिक चालक शक्ति वा उर्जा के हो जस्ले आफुले गरे, भनेका कुरा सवै ठिक लाग्ने अर्काले भनेको जालझेल मात्रै ? के यो सैद्दान्तिक, आर्दश, मूल्य, राजनीतिक मार्ग चित्रको अभ्यास हो ? के गरिव देशको चिन्तन पनि यति दरिद्र नै हुन्छ त ? किन मान्छे तितो सत्यको सामना गर्न सक्दैन् ? किन सत्ताका चरित्र नै फेरेर नयाँ आदर्श समाज बनाउन तम्सने, सार्वजनिक प्रतिवद्दता लिने स्वयं नै क्रान्ति पूर्वका शासकको हैसियत समेत धान्न सक्दैनन ? मान्छे स–साना अन्याय र अत्याचारका लागि पनि सडकमा कुर्लन्थ्यो, क्रान्तिमा होमिन्थ्यो, आजकल ऊ किन मौन बस्न सक्छ ? विश्वयुद्धमा भिक्टोरियन क्रस जित्ने आफ्नै हृदयका चित्कार, मस्तिकका भाषा, सपनीका चाहाना साउती गर्न पनि किन डराउँछन् ? किन मान्छे, मान्छेभन्दा पत्रु प्रजा र रैतिभन्दा पनि तल्लो रोवट बन्न तयार छ ? किन संस्थाहरूले आफ्नै औकात र विवेक धान्न नसकेर चुत्थो हैसियत स्वीकार्दैछन् ? कोरनाजस्तो माहामारी र दैनिक दजौर्नौ मर्दा पनि मान्छे किन आफु मर्छु भन्ने सोच्दैन ? फेरी चिच्याएर भन्न मन लाग्यो– हे अवतार सिह पासः यह हादसा भी मेरा हि जमाने मै होना था ? .
के अहिलेको अवस्था एक्कासी देखिएको हो त ?
नयाँ विश्वास स्वीकार्दा किन हिजोलाई गल्ती पनि नभन्ने ठिक पनि नभन्ने ? अहिलेको अवस्थाको पुष्टि गर्न पनि नसक्ने ! चाहे ती झापाली बिद्रोही हुँन्, चाहे जनयुद्दका ‘....’ उफ !
सामन्तवाद आर्थिक अहंकारमा मात्रै हुँदैन् भिन्नै रूपमा सास्कृतिक उच्चवोधमा पनि देखिन सक्छ । आफूलाई चित्त नबुझ्ने कुनैपनि कुरालाई ध्वस्त गर्न चाहान्छ, त्यो ध्वस्तता वैचारिक मात्रै नभै समयसँगै भौतिक आक्रमणमा उत्रिन सक्छ । अहंकारले स्वयम् ध्वस्त हुँन सक्छ तर भिन्न विचारको सम्मान गर्न भने सक्दैन । सामन्तहरू आफन्तसंग हैन् महासामन्तसँग भने झुक्ने, लत्रिने, घुस्रिने, तावेदारी पनि गर्न सक्छन । लम्पटहरूको वर्गउत्थानबाट ‘ठूले’ बनेका त अझ संसार मेरै हुकुमा मात्र चल्छ, सोच्दछन् । तर हरेकखाले सामन्तवादसँग भने समाजले पौठाजोरी खेल्दैआएको छ । घायल वर्चश्वशाली तप्का आधारभूत परिवर्तन स्वीर्कादैन् । शक्ति सञ्चयका लागि केहीसमय धैर्य गरे पनि अक्करमा ठक्कर दिन चुक्दैन् । स्वयं परिर्वतनकारी पक्ष क्रमशः वर्ग सिफ्ट भएको पत्तै नपाउँदा त्यसको मूल्य भने इतिहासले तिर्न विवस हुन्छ । इतिहासमा ब्यक्तिको भूमिका प्रमुख हुँदैन्, सामाजिक चेतनाको प्रतिनिधी पात्र मात्रै ऊ बन्छ । समकालीन चेतनाको प्रवक्ता मात्रै हुन्छ, तर कहिलेकाहीँ शक्तिको धरहरामा पुगेपछि भने इतिहासको धार पनि केही समयलाई उस्ले फेरिदिन सक्छ । त्यसको पीडा समय र समाजले भोग्नु पर्छ । नेपाली राजनीतिको एउटा हिस्सा ‘समग्र आक्रमणको केन्द्र परिवर्तनका आधार, कारण र भूमिका माथी नै केन्द्रित भएर अस्तित्वको लडाई, आग्रह र प्रतिक्रियाको सक्रियता देखाँउदैछ । अर्कोतर्फ परिवर्तनलाई रुपमा त स्वीकार्ने तर गुणमा भने अस्वीकार गर्ने पक्ष निरन्तर सकृय थिए । आफ्नै उपलब्धी जोगाउने, स्वामित्व लिनेभन्दा पनि बुर्जुवा प्रबृति, विचार राजनीतिको विरोधमा नभई निश्चित व्यक्तिविरोध अभियानमा सक्रिय अर्को पक्ष । यो त्रिपक्षीय लडाँईबीच परिवेशमा हेरफेर आईरहे पनि आखिर युद्ध त अर्काको तरिकाले नभै आफनै तरिकाले लडिन्छ । शक्ति–लालसा नियाल्दा ब्यक्तिको महत्वकाँक्षा र इख नै विचार, आर्दश र मूल्यभन्दा घृणा र प्रतिकृयाको सक्रियता अत्यन्तै शक्तिशाली हुन्छ । सकारात्मक सोचको कुरा गर्ने हो भने– वर्ग सचेतता र वर्ग संर्घषमा विकास हुन्छ भने नकरात्मक सोचले बदला लिने र औकात देखाई दिने भूमिकामा समेटिदिन्छ ।
परिस्थितिको वाध्यता श्रृजनाले चित्त नबुझेको पक्ष पनि समर्थन हुन्छन्, सन्धी सम्झौता गरिन्छन् । तर निरन्तरको सत्तामा रुपमा नभै मर्म नै रक्षा गनै नसके पछि अप्रियता बढदै गएर अदृश्य शक्ति हावी हुन्छ । सत्ताधारी क्रान्तिकारी किन बन्न सक्दैन् भने मस्तिक फेर्न ज्यादै गाह्रो हुन्छ । सत्तालाई वर्चश्वशाली तप्काको हितमा यथास्थितिको रक्षा गर्नुपर्छ । परिर्वतनको स्वभाव भने विधीमा टेकेर विधी भत्काउँदै नयाँ विधी बनाउनुमै केन्द्रित हुन्छ । यस टसलमा कुन शक्ति कुनमा विलय हुँने अहंम प्रश्न बन्छन् । कहिलेकहीँ समय र समाज भने झुकिन्छ ।
ब्यक्ति र संकट
राजनीतिक संकट विचार, भावना र समयका चुनौति व्यबस्थापन गर्न नसक्दा आईपर्ने समस्या हुँन् प्राकृतिक नभै मानव निर्मित अज्ञानता कलाको कमजोरीले जन्माउने हुँन् । कयौं संकट अवसर लिएर आएका हुन्छन् पनि । संकटकै वेला डियनएमा रहिरहेका अहंकार फक्रिन पाउने अनुकुलता पनि पाँउछ । यस्तैबेला सामान्यजन र ब्यक्तित्व छुटिन्छन् । संकटमा कयौँ व्यबसाय पनि फस्टाउने गर्छ । युद्धका धेरै स्वभाव थाहा हुन्छन, तर संकटको अनुभूति सार्वभौम भने हुँदैन् । एउटै मात्र घटनाले उस्लाई असर नै नगरेको हुँदा शक्तिलाई संकट नै लाग्दैन् । सामान्य संकट भय, त्रास युनिभसर्लल पनि हुँदैन । अणुुबम अरूलाई निदाउन नदिए पनि उस्को स्वामी भने अरूलाई संकट हो भन्ने सोच्छ ।
अन्तमा
हामीमा दुईटा सामुहिक रोग छः
१)अल्जाइमर (विर्सने रोग)
२)भावनाले विचारमाथीको रजाई ।
पहिलाले ईतिहास अध्यया चेत गुमाउँदै वर्तमान मात्र वहसका विषय बन्छन् । दोस्रोले हाम्रो दिमागमाथी हृदयको रजाई गरेर आग्रह अनुसारको धारणा बनाउँछौ । दुवैको समस्या भनेको गम्भीर विषय वहसहीन बन्छन्, अन्यन्त्र मोडिएको (विषयान्तर) पत्तै पाउँदेनौं । कार्य, कारण र परिणामलाई जोडदैनौं । सामान्य जनताले यी दुवैको छुट त पाँउछ तर वौद्धिक तप्का र सत्ताधारीले यो सुविधा नपाउनु पछि उनीहरूका भूमिका भावी सन्तती र इतिहासले पीडा बन्नु हो ।
सत्ता कम्युनिष्ट टे«डर्माकमा मात्रै छ । ‘उदार लोकतन्त्रको’ पहिलो सर्त संवाद हो, सरकार त्यसबाट तर्किदैछ । ईतिहास पढने हो, वर्तमान गर्ने हो । विश्वासको दुर्घटना नै नयाँ चेतनाको आधार हो । सत्ता र उपभोक्तावाद सँगै हिजोका चेतना र आजको चेतना फरक हुँन सक्छन् । विचार र भूमिको सिफ्ट कुन विन्दुमा भयो पत्तै पाँउदैनन् । भयग्रस्त आततायी भने अझ खुंखार हुन्छ । ‘आजको दिनमा सवभन्दा ठूलो क्रान्तिकारिता सत्य बोल्न हिम्मत राख्नु हो’ भने आ–आफ्नै कान, आँखा र मस्तिक जोगाउनु हो ।
