IMG-LOGO

सन्दर्भ काभ्रे सेवा समाजको स्थापना दिवस र वार्षिक साधरणसभा

 मंगल, चैत २४, २०७७  केशव थापा 


पेसा, व्यवसाय, रोजगारी वा अन्य कारणले जन्म÷बसोबासस्थल काभ्रेबाहिर रहेका र काभ्रेमा नै रहेर पनि बचेको समय र ऊर्जा मातृ÷कर्मभूमि काभ्रेको सेवामा सामूहिकरुपले समर्पित गर्न इच्छुक काभ्रेलीहरुलाई एकत्रित गर्न २०६९ साल चैत्र २६ गते स्थापना गरिएको आम काभ्रेलीहरु निसङ्कोच अटाउन सक्ने साझा चौतारी नै काभ्रे सेवा समाज, काभ्रे हो । ‘काभ्रेको लागि केही गरौं !’ भन्ने पवित्र भावना बोकेका सबै असल मनहरुलाई समाजले सदैव उचित आदर, सत्कार, सम्मान र स्वागत गर्छ । 
संघीय राजधानी काठमाण्डौको निकै निकटमा रहँदा र परेको बेला त्यसलाई दरिलो काँधदिदा पनि अवसर र सुविधाका दृष्टिकोणले काभ्रेलाई काठमाण्डौले न्याय गर्न नसकेको तीतो अनुभव हामीसँग छ । अनेक अनुकूलताका बाबजुद पनि संघीय लोकतान्त्रिक गणतन्त्रले पनि काभ्रेलाई वाग्मती प्रदेशको राजधानी बनाउने उदारता देखाउन सकेन । गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएको यसलाई पटकपटक अनुनय गर्दा पनि विश्वविद्यालय कृषिकलेज दिन मानेन । यिनै पृष्ठभूमिमा काभ्रेलीहरु नै काभ्रेका लागि केही गर्न तत्पर नभएसम्म स्थितिमा अपेक्षित सुधार नआउने तथ्यलाई बोध गरी काभ्रेलीहरुले सामूहिक रुपमा केही गर्ने र गर्नेहरुसँग उदारतापूर्वक सहकार्य गर्ने संस्थागत संरचनाको आवश्यकता परिपूर्तिको निमित्त अग्रजहरुको मार्ग अनुसरण गर्दै काभ्रे सेवा समाज, काभ्रे गठन गरिएको हो । गैरराजनीतिकता, गैरनाफामुलकता, सेवादायिता यस समाजको आधारभूत विशेषता हुन । नवौंवर्षको संघारसम्म आइपुग्दा दिनानुदिन काभ्रेलीहरुको उल्लेख्य संलग्नता र सहभागिताले समाजको स्थायित्व, अधिकाधिक सहभागितासहित सर्वस्वीकार्यताको प्रत्याभूति प्राप्त गरेको अनुभूति भएको छ । 
यस समाज काभ्रेको समग्र विकासको अभियन्ता नभएर विशेष गरेर कारणवश काभ्रेबाहिर रहन वाध्य काभ्रेलीहरुलाई उहाँहरुको सीप, अनुभव, क्षमता र ऊर्जालाई काभ्रेको पक्षमा प्रयोग गरौं भनी अनुरोध गर्ने र गर्नेहरुको यथोचित आदर सम्मान गर्ने संस्था हो । सोही अनुसार यस समाजले स्थापनाक्रमसँगै राष्ट्रकवि माधवप्रसाद घिमिेरे, संस्कृतिविद् सत्यमोहन जोशी, अमूर्त मूर्तिकलाका मुर्धन्य व्यक्तित्व ठाकुरप्रसाद मैनाली, भाषा साहित्यका उज्जवल नक्षत्र स्व.कृष्णप्रसाद पराजुली, मोहन दुवाल, जिउँदा सहिद मुकेश कायस्थ, शिक्षा शिरोमणि डा.सुरेशराज शर्मा लगायत संबैधानिक, न्यायिक, प्रशासनिक, प्राज्ञिक निकायको उच्च पद तथा सरुवा, बढुवा वा खुला परीक्षबाट नीतिनिर्माण तहमा पुग्ने व्यक्तित्व लगायत विभिन्न विधा, क्षेत्रमा कर्मरत काभ्रेको ख्याति बढाउने दर्जनौं काभ्रेली गौरवहरुलाई सम्मान गरिसकेको छ । यसबाट अनुजपुस्ताले अग्रज पुस्ताको बारे जानकारी पाउँने, प्रेरणा हासिल गर्ने र सम्मानित व्यक्तिहरुलाई प्रत्यक्ष, परोक्षरुपले काभ्रेका निमित्त अझ थप केही गर्न हौसला मिल्नेछ । 
काभ्रेको संभाव्यता, विशेषता र आवश्यकताको संबन्धमा विचारगोष्टी आयोजना गर्ने, पत्रमार्फत संबन्धित निकायहरुलाई यस सम्बन्धी जानकारी गराउने काम पनि साथसाथै गर्दै आइरहेको छ । काभ्रे विशेष हुने गरी विभिन्न विधाका काभ्रेलीहरुको लेखरचना समावेश गरी काभ्रेली गुञ्जन नामक पत्रिकाको छैठौं अङ्कसम्म प्रकाशित भैसकेकोछ । काभ्रेली विशेषतालाई समावेश गरेर दुईपटक भित्तेपात्रो प्रकाशनमा आई सकेको छ । स्थापना दिवस (चैत्र २६) देखि यस काभ्रे संबन्धित विभिन्न विषय र सामाग्रीहरुसहित समाजको आधिकारिक वेवसाइटलाई सुचारु गर्ने लक्ष्य राखिएको छ । 
स्वदेशी तथा विदेशी उदारमनका व्यक्ति तथा संस्थाहरुसँग आग्रह अनुरोध गरी यस समाजलृे वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले काभ्रेजिल्लामा पु¥याएको क्षतिमा गरिब घरपरिवारका निमित्त सबै सुविधासहितको अस्थायी आवासगृह, विद्यालयहरुको निमित्त पनि अस्थायी सिकाई केन्द्र, बालबच्चाहरुको निमित्त खाजासहितको सुरक्षित खेलघर, कतिपय विद्यालयको पक्कीभवनको लागि आर्थिक सहयोगको जोहो गर्ने प्रयत्न गरेको थियो । यसमा यस समाजलाई सहयोग गर्ने हातेमालो थाइलेण्ड, नेम्ब्रास्का–नेप्लिज सोसाइटी अमेरिका, मल्पी इन्टरनेशनल स्कूल लगायतका संस्थाहरुले अविष्मरणीय सहयोग पु¥याएका थिए ।  स्रोत व्यवस्थाका निमित्त अथक खट्ने संस्थापक अध्यक्ष प्रल्हाद के.सी. पूर्व प्रहरीमहानीरिक्षक अच्युतकृष्ण खरेल, डा.आयुष खरेलप्रति यो समाज सदा आभारी रहनेछ । 
काभ्रेको लागि केही गरौं भन्ने आदर्शका साथ अघि बढीरहेको यस समाजको पाइला कोभिड–१९ को प्रकोपको कारण करीब एक वर्षसम्म एकाएक रोकिन पुग्यो । कोरानाकहरकैैबीच पनि अन्तराष्ट्रिय पलाञ्चोक सेवा समाजसँगको सहकार्यमा यस समाजले सुरक्षा प्रयोजनका निमित्त खटिने सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल), स्वास्थकर्मी तथा सञ्चारकर्मीहरुका निमित्त पथपरहेजका आवश्यक सामाग्रीहरु वितरण गर्ने, सर्वसाधरणको जानकारी र सजगताको लागि फ्लेक्स ब्यानरहरु काभ्रेका विभिन्न स्थानमा टाँस्ने, आजीवन सदस्यता वितरणको कामलाई निरन्तरता दिने, काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई सम्मान गर्ने, काभ्रे उपयोगी लेख रचनाहरु स्थानीय पत्रिकामा प्रकाशित गर्ने आदिजस्ता कार्यलाई निरन्तरता दिदै अहिले नवौं स्थापना दिवस र आठौं वार्षिक साधरणसभाको संघारसम्म आई पुगेकोछ ।  
आम काभ्रेलीहरुले आपसी समन्वय र सहकार्य गरी मानवीय एवम् प्राकृतिक श्रोतसाधनलाई सही ढङ्गले परिचालन गर्न सकेमा परिकल्पना अनुरुपको समृद्ध, आधुनिक र विकसित काभ्रे शीघ्र निर्माण गर्न सकिने यस समाजको विश्वास रहेको छ । आफ्ना सदस्यहरु एवम् शुभेच्छुकहरुको सुखदुखको भरपर्दाे साथी बन्नु पर्ने तथ्यलाई स्मरण गर्दै विगतका राम्रा र असल परम्परालाई निरन्तरता दिदै आगामी दिनमा यस समाजले काभ्रेका ते¥हवटै स्थानीयतहहरुसँग समन्वय गरी तहाँबाट भएका दीर्घकालीन महत्वका कार्यहरुको प्रचारप्रसार गर्ने, प्रचारमा नआएका जिल्लाका पर्यटन, धर्म, संस्कृति, कृषि, व्यवसाय आदि विषयको खोज, अन्वेषण गरी धेरैभन्दा धेरै प्रचारमा ल्याउने, जिल्लाबाहिर पेसा, व्यवसाय, सेवामा रहेका काभ्रेलीहरुको विवरण सङ्कलन गरी  उहाँहरुलाई यस समाजमा आवद्धता जनाउन आग्रह गर्ने, गैरआवसीय काभ्रेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजसँग सहकार्य गर्दै काभ्रे उपयोगी विभिन्न कार्य अघि अघि बढाउने, काभ्रेको समृद्धि, सम्पन्नता र आधुनिकताका विषयमा समयसमयमा कार्यशाला, टकप्रोग्राम, नलेज सेयरिङ्ग जस्ता रचानात्मक कार्यक्रमको आयोजना गर्ने, काभ्रे उद्योग वाणिज्य संघ, पत्रकार महासंघ जिल्ला कार्य समिति काभ्रे सँगको समन्वय र सहकार्यमा पारदर्शिता, सुशासन, उद्यमशीलता, व्यावसायिकता आदि जस्ता विषयमा योगदान पुग्ने गरी प्रभावकारी आर्थिक समाचार (आर्थिक पत्रकारिता) को नियमिततालाई सुनिश्चिता दिने, काभ्रे दिनानुदिन भाषा, साहित्य, कला, शिक्षा र पर्यटनको महत्वपूर्ण केन्द्र बन्दै गएकोले तिनीहरुको प्रबद्र्धनमा थप सहयोग पुग्ने रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने वा आयोजनाको लागि सरोकारवालाहरुलाई उत्प्रेरित गर्ने, काठमाण्डौमा उपत्यकाभित्र समाजको स्थायी कार्यालय स्थापनाको आवश्यक जोहो मिलाउने, काभ्रेको बनेपामा समाजको सम्पर्क कार्यालय खडा गरी जिल्लासँगको जिवन्त संबन्ध कायम राख्ने आदि जस्ता विषयमा ध्यान जानुपर्ने देखिन्छ ।  
अन्तमा, यस समाजको कदममा साथ र हौसला दिनुहुने सबै असलमनहरुप्रति हार्दिक आभार र आगामी दिनमा त्यस्ते साथ र सहयोगको अपेक्षा गर्दै हाम्रो राम्रो प्यारो काभ्रेको सदा होस् भलो भन्ने कामनाकासाथ सन्निकटमा आइसकेको नववर्ष २०७८ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै काभ्रेलीहरुको सुख, शान्ति र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना अपर्ण गर्छु । जय काभ्रे 

(लेखक काभ्रे सेवा समाज काभ्रेका अध्यक्ष हुन । )


 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्