IMG-LOGO

ओरालो लागेको एमाले

 मंगल, जेठ ४, २०७८  नरेन्द्रजंग पिटर

    वैदिक महाकाव्य महाभारत नियालौँ- अहंकारले शक्तिलार्ई कहाँ पुर्‍याउँछ ! यता किशोर अभिमन्युको चिता जलिरहेको थियो, उता बाबु, बाजे, काका, मामा सबै सत्ताका छिनाझप्टी गरिरहेका थिए  । पाँच गाउँ पनि दिन्न भन्दा राज्य ध्वस्त भयो, कूल संघार भयो, मतिले काम नगर्दा सत्य र असत्यमा मनिषीहरू आआफैँ अर्थ लगाउँदै बाँडिए  । आखिर यदुवंशी पनि आपसमा मारामार गर्दै सकिए  । हाम्रो राजनीति पनि अहिले त्यस्तै निर्दयी कुरु क्षेत्र जस्तो भएको छ  । त्यसले अरूलार्ई त सक्छ नै, आफूलार्ई पनि व्यवस्थासँगै सक्दै जान्छ  ।
संकट विश्वासको
    आफैँले विघटन गरेको सदनसँग विश्वास गर भनेर प्रधानमन्त्रीले सदनमा ठट्टा गरे  । विश्वासका लागि आधार हुन्छन्, अहंकारसँग लम्पसार हुँदैन  । विश्वासको संकट कोरोना भन्दा पनि महासंकट बन्यो  । कसले, कसलार्ई विश्वास गर्ने ? आफ्नै अंग र आफन्तलार्ई विश्वास गर्न नसकेर अविश्वासको रजाइँ भएका बेला अझ राजनीतिक व्यवसायमा अविश्वास फैलिने भयो नै  । विश्वासै नभएको विश्वासको जगेर्ना विरोधी वा प्रतिस्पर्धीलार्ई असुरक्षा र डर फैलाएर आतंकित बनाउँदै समर्थन हासिल गर्नु हुन जान्छ  । जब शक्तिलार्ई अंशमा सकिने कि समग्रमा भन्ने त्रास हुन्छ तब उधारोमा सम्झौता गरिन्छन्  । संकट टर्नेबित्तिकै सम्झौतापत्र ट्वाइलेट पेपर बनाउँदै पुरानै चरित्रमा फर्किन्छ  । एकीकृत प्रतिरोध तोड्न नैतिकताका हरेक बन्धन तोडिन्छन्  । शक्तिमा रहन, टिक्न, हत्याउन जे/जसो गरे पनि जायज ठानिन्छन्  । शक्ति चञ्चल हुने हुँदा को, कता, कुन समयमा लहसिन्छ त्यसकै मालिकले संकेतसमेत पाउँदैन्  ।  
    षडयन्त्र सिद्धान्तमा भ्रम, हल्ला, मनोवैज्ञानिक त्रास, तोडफोड, भय, लोभ धारिला हतियार बन्छन्  । विश्वासलार्ई ध्वस्त बनाएर मातहति—विश्वास लिइन्छ  । सत्यका परिभाषा पनि अनुकूलताअनुसार फेरिएर तर्क कोरलिन्छन्  । संभावना रहुन्जेल विश्वास पनि किनबेच हुन थाल्छ  । कमजोर पक्ष भने तमसुक लिएर नैतिकताको कोकोहलो गर्छ  । आदर्शको खोल ओडेर ठन्टीगाईलार्ई कसैले पनि बन्सो घाँस हालिरहँदैन्  । जहाज डुब्न लाग्दा को जहाजी, को यात्रु अर्थ रहँदैन्  । तर अहंकारले समयको संवेदनशीलता बुझ्न दिँदैन्, नक्कली दुश्मन तयार गर्दै तरबार खैँचिन्छ  । समय घर्काउन, शक्ति आर्जिन षडयन्त्रको खेलमा सधैँ रहन्छ  । समय बलवान हुन्छ, अर्कालार्ई थापेको पासोमा कहिलेकहीँ आफैँ पनि परिन सक्छ  ।  
    कणर्ालीले सिद्धान्तको राजनीति वस्त्रहीन पारेर व्यावहारिक बन्दै देशैलार्ई नयाँ सन्देश दियो  । गण्डकीले झन् सत्ता र संस्कृतिमाथि नै प्रश्न उठायो  । समयसँगै समाजमा रोल मोडल फेरिँदै जान्छन्  । मन्त्री राजीव गुरुङ नेपाली राजनीतिको पर्दा खोलेर नांगो यथार्थको ‘रोल मोडल’ बने  । सिद्धान्तको राजनीति अन्तिम चपरी चिहानमा जनमोर्चाका संसद्ले लगाए  । लुम्बिनीमा त झन जात्रै भो  । अझ संघीय सदनमा विश्वास मत विभाजनमा छरपष्ट देखियो  ।
    समय र परिस्थिति आदेशबाट हाँकिदैन  । दश्मको दश्मै सबभन्दा भरसिलो सहयोगी शक्ति बनेर प्रतिक्रियाको शक्ति झन सशक्त हुन्छ  । प्रधानमन्त्रीले विरोधीलार्ई एउटै मोर्चामा उभिने मौका दिए, आफ्नैलार्ई भने सम्हाल्न सकेनन्  । भुइँको उठाउँछु भन्दा पोल्टाकै पोखियो  । जो आफ्नैैलार्ई हुन सक्दैन् अरूलार्ई के पो हुन सक्छ ? यी घटना लोकतन्त्रमा शिर उठाउन लाईक त छैनन्, हैनन्  । तर जाग्दै गरेको अहंकार र घमण्डलार्ई भने तोडेको छ  । उकालो यात्रा सुस्तरी हुन्छ तर ओरालो छिटै  । ओरालोमा सम्हालिएर हिँडेन भने चिप्लिने मात्र हैन, पछारिन पनि सकिन्छ  । घर सम्हाल्न डाडुपन्युँ हुने घरमुलीको मुख्य दायित्व हुन्छ भने अरू तपसिलमा  । अदालतले पुनर्जीवन दिएको एमालेलार्ई पनि अध्यक्षले स्वीकार्न नसक्नु नयाँ कुरु क्षेत्र बन्यो  । रक्तहीन कोतपर्व सदन बन्यो  । के एमालेको ओरालो यात्रा अब सुरु भएकै हो ?    
    अहिले नेपाली राजनीतिमा दोस्रो वा तेस्रो तहको नेतृत्वमा नैतिक पुँजीको ह्राससँगै विश्वासको संकट अझ  झांगियो  । नेता र नेतृत्व त आन्दोलनमा जन्मने हो  । प्रश्न उठाउने र दबाब दिने सडक मौन छ  । राजनीतिमा अहिले आन्दोलन र आलोचनात्मक चेत नभई चाकडी प्रथा मौलाएको छ  । भक्तरामको बिगबिगी छ  । त्यसैले दोस्रो वा तेस्रो तहको नेतृत्वलार्ई गुट/उपगुट आवश्यक परेर जोखिम उठाउने हैसियत गुम्दै गएको हो  । गुटियारको आदेशमा ठप्पावाज बन्ने यो पुस्ता देश अस्तव्यस्त हुनुमा अझ दोषी छ  । उनीहरू राजनीतिक भविष्य धरापमा परेकाले चिन्तित त छन् तर मौलिक पहिचान बनाउन भने सक्या छैनन्  । यो पुस्ताका कमजोरीले नै अहंकार, अलोकतान्त्रिक घमण्डी र भ्रष्ट शासकहरू जन्मने र उनीहरूको महत्वाकांक्षा अझ बढाउने मौका पायोे  । आश गर्ने नयाँ पुस्ता पनि नदेखेर संसदीय राजनीतिप्रति नै अनास्था, विकर्षण र जनतामा निराशा फैलिएको हो  ।
सत्ता र संस्कृति  
    आत्ममुग्धता र आत्मकेन्द्रित नेतृत्वका कारण जब देश बन्धक बन्छ, महामारीसँगै मानवताविरुद्ध अपराध पनि भइरहेका हुन्छन्  । यस्तो बेला बोल्ने शक्ति आवश्यक हुन्छ  । प्रतिरोधी सोचले प्रतिरोधी शक्ति पैदा गर्छ  । त्यसले असन्तोष कुण्ठा मात्र नभै निकासको मार्गचित्र पनि दिनुपर्छ  ।  कसैले शक्ति वा राज्यलार्ई प्रश्न उठाउँदा मात्रै हामी गद्गद् हुन्छौँ  । निजी कमजोरी, लोभ, अपेक्षा र महत्वाकांक्षाका कारण मान्छेमा मौनता छाउँछ  । आफ्ना सोच अरूले उठाइदेओस् भन्ने ठूलो जमात सहिद अर्काको घरमा जन्मियोस् र क्रान्तिको उपलब्धिको पहिलो हकवाला हुन पाउँ भन्ने सोच्छन्  ।
    कतिपय बेला हृदयलार्ई मस्तिष्कले थाहा पाइसकेको कुरा पनि स्वीकार्न समय कुर्नैपर्छ  । दायित्व स्वीकार्ने, चुनौती सामनाका मार्गचित्र पेस गर्ने भन्दा कमजोरी र उदासीनतालार्ई राज्य अन्यन्त्र मोड्ने प्रयास गर्दैछ  । सहनशीलताको एउटा सीमा हुन्छ  । फ्रेडरिक डगलस भन्छन्- ‘तानाशाहहरूको सीमा ती मान्छेको सहनशीलताले निर्धारण गर्छ जसलार्ई ऊ अत्याचार गरिरहेको हुन्छ  ।’ अहिले युवाहरू राजनीतिदेखि टाढिँदैछन्  । पार्टीहरू कार्यकर्ता भन्दा अन्धभक्त उत्पादन गरिरहेका छन्  । अन्धभक्तको परिचय, सीमा र समस्या भनेको हरेक विकसित घटनाका कारण नखोतल्नु र कहिल्यै पनि किन र कसरी भयो भन्ने प्रश्न र जिज्ञासा मालिकसँग नराख्नु हो  ।  
    राजनीति फेरेर मात्र सत्ता, संस्कृति र समाज फेरिँदोरहेनछ  । सत्ताचिरत्रमा फेरबदल नआउन्जेल राजनीतिमा समस्या आइरहन्छन्  । चेत निर्माणका आधार धर्म, सामाजिक स्थिति, सम्पत्ति र सम्बन्ध हो  । शासकसँग युगले गर्ने प्रश्न भनेको पूर्वजबाट तिमीले के पायौ भन्दा पनि अर्को पुस्तालार्ई के छाडेर जाँदैछौ भन्ने हुन्छ  । संसदीय अभ्यास नियाल्दा तर्क शक्ति, नैतिक पुँजी सकिएपछि मतभेद मात्रै हैन, मनभेद पनि हुँदोरहेछ  । जब चुनावमार्फत नै धेरैजसो तानाशाह जन्मन्छन् तब संस्थाको अर्थ हुँदैन्  । जनमत अपहरण हुन्छ  । सूचनाका औजार कब्जा गरिन्छन् तब जनताका निणर्य गलत भएर चुनावमा आफ्नैविरुद्ध फैसला पनि दिन सक्छन्  ।
    सत्तामा सन्तुलन आवश्यक तत्व हो  । संसद्, अदालत, कर्मचारीतन्त्र, सुरक्षातन्त्र अनिर्वाचित सत्ता हुन्  । जब त्यो सरकारी छाया बन्न पुग्छ तब लोकतान्त्रिक पद्धति तानाशाहीमा फेरिन्छ  । तब ऊ मिडियाको हेडलाईन व्यवस्थापन गर्न थाल्छ  । आफैँलार्ई सर्वज्ञ सोचेर अरूलार्ई आफूमा विलिन गराउन वा मातहत राख्न मात्र चाहन्छ  । समस्याको समाधान प्राविधिक हल खोज्दै जनताको रिस कसरी व्यवस्थापन गर्ने वा अयन्त्र मोड्ने भन्नेमा लाग्छ  । हरेक शासकका राजनीतिक पुँजी र लोकप्रियता एउटा सीमामा पुगेर रोकिन्छन्  । शक्तिको अन्धताले कुनै पनि सरकारलार्ई स्वयं सर्वनाशकारी बनाउँछ  ।
एकैपटक आएको हैन यो अवस्था  
    यो नेपालको मात्रै हैन्, वैश्विक समस्या हो  । सन् २०२० देखि पुँजीको चरित्र फेरिनुसँगै निरंकुश र अधिनायकवादी प्रवृत्ति मात्रै हैन, फासीवादको पनि उदयकाल रह्यो  । यसको बाधक भनेकै लोकतान्त्रिक सोच र वैधानिक संस्था थिए  । प्रतिरोधी जनआन्दोलन र विद्रोह थिए  । वर्चश्वशाली समूहलार्ई ‘राष्ट्रवाद’, धार्मिक आवेग र अल्पमतप्रतिको घृणा आवश्यक पथ्र्यो  । भ्रमित यथार्थमा जिउन अभ्यस्त गराउन भयको निरन्तरता प्रचार गर्दै समर्थक भिड जुटाउनुपर्ने हुन्थ्यो  ।
    तब आवेग, घृणा र भयलार्ई भोटमा फेरेर सत्ता कब्जा गर्नु र सत्तामा पुग्नेबित्तिकै सोही भर्‍याङ ढाल्दिने चरित्र बन्छ  । टुप्पोमा एउटा सर्वज्ञ, महाशक्तिशाली व्यक्ति, अरू संस्था र व्यक्ति मातहत वा भक्तजन  ।
    तब आवेग, घृणा र भयलार्ई भोटमा फेरेर सत्ता कब्जा गर्नु र सत्तामा पुग्नेबित्तिकै  सोही भर्‍याङ ढाल्दिने चरित्र बन्छ  । टुप्पोमा एउटा सर्वज्ञ, महाशक्तिशाली व्यक्ति अरू संस्था र व्यक्ति मातहत वा भक्तजन  ।  संवैधानिक संस्थाको औकात गिराएर शासकप्रति वफादार बनाइन्छ  । विरोधी कुल्चन अदालत, अख्तियार, सम्पत्ति शुद्धीकरण आयोग, फर्जी मुद्दा र अध्यादेश बन्न थाल्छन्  । नयाँ मोडल पुराना मोडललार्ई खतरा बन्ने हुँदा सबैखाले आन्दोलनका उपलब्धि ध्वस्त गर्न इतिहासको व्यवस्थापन गरिन थालिन्छ  । वर्चश्वशाली वर्ग शासनका चालक फेरिदिए पनि सत्ताचरित्र रूपमा मात्रै फेर्दै हैसियतहीनलार्ई सत्तामा पुर्‍याएर पुरानै प्रभु वर्गले कज्याउने गर्छ  ।  
अन्तमा
    संकेत र सन्देशले परिणामको भविष्यवाणी गरिरहेका हुन्छन्  । कालान्तरमा मात्रै छर्लङ्ग हुन्छ  । नयाँ जानकारीसँगै सत्य र शक्ति फेरिँदै जान्छन्  । तब तथ्य, तर्क, मनोविज्ञानका आग्रहहीन विश्लेषण आवश्यक हुन्छ  । त्यसैले नयाँ भूमिकाको दिशा निक्र्यौल गर्दै तर्कशक्ति दिन्छ  । थाहा नपाउनु, नहुनु हैन्  । समयको नाडी छाम्न नसक्ने शक्ति अन्धो हुन्छ  ।  कान र आँखा सुत्दा पनि सधैँ खोली राख्नुपर्ने र अनावश्यक मुख नखोल्ने हेक्का राख्दैन  । मुर्ख शासक परिणामले मात्र चेत्छन्  । त्यसबेलासम्म पहल खुस्किसकेको हुन्छ  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्